
गढवा, २८ जेठ। गढवा गाउँपालिकाको एक टोलीले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील सामाजिक संस्था शान्ति पुनर्स्थापना गृह, कोइलाबासको स्थलगत अनुगमन तथा अध्ययन अवलोकन गरेको छ।
अनुगमनका क्रममा शान्ति पुनर्स्थापना गृह कोइलाबासले आर्थिक वर्ष २०८३/०८४ का लागि गढवा गाउँपालिकासँग आवश्यक बजेट तथा कार्यक्रमगत सहयोगको माग गरेको छ। संस्थाले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका महिला, किशोरी, बालबालिकाको उद्धार, पुनर्स्थापना, परामर्श तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएको थियो।
सन् १९९४ (वि.सं. २०५० माघ ४ गते) मा स्थापना भई ललितपुरमा दर्ता भएको शान्ति पुनर्स्थापना गृहको केन्द्रीय कार्यालय गोदावरी नगरपालिका–ठेचोमा रहेको छ। समाजकल्याण परिषद्मा आबद्ध उक्त गैरसरकारी संस्थाले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभियान सञ्चालन गर्दै महिला तथा बालबालिकाको संरक्षण, उद्धार तथा पुनर्स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
संस्थाका प्रतिनिधिहरूले कोइलाबास नाकामा मानव बेचबिखन नियन्त्रणका क्रममा देखिएका चुनौतीबारे जानकारी गराउँदै सीमापार गराउन अभिभावककै संलग्नता देखिनु, बुर्का लगाएर सीमा पार गर्ने प्रवृत्ति, समुदायमा विद्यमान पितृसत्तात्मक सोच तथा झुटा नाता देखाई भारत जान खोज्ने जस्ता गतिविधि नियन्त्रणमा चुनौतीपूर्ण रहेको बताएका थिए।
शान्ति पुनर्स्थापना गृह कोइलाबासले प्रत्येक आर्थिक वर्षमा दर्जनौं बालबालिका, किशोरी तथा महिलाको उद्धार गर्नुका साथै सयौं व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सूचना, परामर्श र सचेतना सेवा प्रदान गर्दै आएको जनाएको छ।
स्थलगत अध्ययन तथा अवलोकनमा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वरिष्ठ लेखा अधिकृत खिमलाल वली, प्रशासन शाखा प्रमुख भरत केसी, आलेप कृष्णप्रसाद पौडेल, योजना शाखा प्रमुख रेशमलाल शर्मा, सूचना प्रविधि शाखा प्रमुख सञ्जित पौडेल सहभागी हुनुहुन्थ्यो। त्यसैगरी शान्ति पुनर्स्थापना गृहका तर्फबाट सहजकर्ता सीता बुढाथोकी, सीमा जिसी, निर्मला भण्डारी लगायतको सहभागिता रहेको थियो।
भेटघाट तथा अनुगमनका क्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जोखिममा परेका व्यक्तिहरूको संरक्षण तथा स्थानीय तह र सामाजिक संस्थाबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।





