
गढवा, २८ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकामा वार्षिक खरिद योजना, खरिद गुरुयोजना, मध्यकालीन खर्च संरचना (MTEF), बजेट कोडिङ तथा बेरुजु सम्बन्धी क्षमता विकास तालिम बुधबारदेखि सुरु भएको छ।
गाउँपालिकाको सभाहलमा सुरु भएको तालिमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। उहाँले स्थानीय तहको कार्यसम्पादन सुधार, एलजीपास (LGPASS) मा प्राप्त हुने अंक वृद्धि तथा बेरुजु न्यूनीकरणका लागि यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। साथै, बेरुजु बढ्नुका कारण र त्यसलाई नियन्त्रण गर्न अपनाउनुपर्ने उपायबारे समेत जानकारी दिनुभएको थियो।
कार्यक्रममा वरिष्ठ लेखा अधिकृत खिमलाल वलीले प्रशिक्षकको रूपमा बेरुजुको परिभाषा, प्रकार तथा फर्छ्यौट प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिनुभयो। उहाँले सैद्धान्तिक बेरुजु, पेश्की बेरुजु, असुल गर्नुपर्ने बेरुजु, नियमित गर्नुपर्ने बेरुजु, प्रमाण पेश गर्नुपर्ने बेरुजु तथा सोधभर्ना/समायोजन बेरुजुका विषयमा जानकारी गराउँदै योजना बिना खर्च गर्ने, खरिद प्रक्रिया पालना नगर्ने, बिल–भौचर अपूर्ण हुने, नियमको ज्ञानको कमी तथा निर्णय प्रक्रियामा ढिलाइ हुने जस्ता कारणले बेरुजु उत्पन्न हुने बताउनुभयो। साथै, बेरुजु न्यूनीकरणका व्यावहारिक उपायबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो।
त्यसैगरी प्रशिक्षक विश्वमणि खनालले वार्षिक खरिद योजना, बहुवर्षीय खरिद गुरुयोजना, मध्यकालीन खर्च संरचना (MTEF), स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPASS), बजेट कोडिङ तथा बेरुजु व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण दिनुभयो।
तालिममा प्रशिक्षक बासुदेव अधिकारीले बहुवर्षीय खरिद गुरुयोजनाका विषयमा, विश्वमणि खनालले स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPASS), बालमैत्री तथा युवामैत्री स्थानीय शासनका विषयमा तथा गिर्भान केसीले सम्बन्धित विषयगत प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत खिमलाल वलीले गर्नुभएको थियो। तालिममा गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको छ।





