
गढवा, २७ जेठ। दलित समुदायको सीप तथा डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गुडविल इन्स्टिच्युट एण्ड कम्प्युटर जोन, गढवा–६ को आयोजनामा ९० घण्टे निःशुल्क बेसिक कम्प्युटर तालिम बुधबारदेखि सुरु भएको छ।
गुडविल इन्स्टिच्युट एण्ड कम्प्युटर जोनका अध्यक्ष विकास यादवको अध्यक्षता, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो। तालिममा दलित समुदायका ३० जना युवायुवतीहरूको सहभागिता रहेको छ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सूचना प्रविधिको युगमा कम्प्युटर ज्ञान अपरिहार्य भइसकेको बताउनुभयो। उहाँले दलित समुदायका युवाहरूलाई सीपयुक्त र आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै गाउँपालिकाले सीपमूलक तथा रोजगारीमूलक कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकताका साथ सञ्चालन गर्ने बताउनुभयो।
“कम्प्युटर शिक्षा आजको आवश्यकता हो। यस तालिमले सहभागीहरूलाई डिजिटल सीप प्रदान गर्नुका साथै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुर्याउने विश्वास लिएका छौं,” अध्यक्ष पोख्रेलले भन्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले समाजमा पछाडि पारिएका समुदायको क्षमता विकासका लागि यस्ता तालिम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले महिलासहित दलित समुदायका युवाहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी आफ्नो भविष्य निर्माणमा उपयोग गर्न आग्रह गर्नुभयो।
“सीप र शिक्षाले मात्र व्यक्तिको जीवनस्तर परिवर्तन गर्न सक्छ। तालिममा सिकेका ज्ञान र दक्षतालाई व्यवहारमा लागू गरेर आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्दछु,” उपाध्यक्ष चौधरीले बताउनुभयो।
उद्घाटन कार्यक्रममा गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द, वडा नं. ७ की दलित महिला सदस्य कमला नेपाली लगायतको सहभागिता रहेको थियो।
गुडविल इन्स्टिच्युट एण्ड कम्प्युटर जोनकी सहायक प्रशिक्षक पूजा यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सञ्चालक जगदीश यादवले गर्नुभएको थियो। तालिम ९० घण्टासम्म सञ्चालन हुने गढवा गाउँपालिकाले जनाएको छ।





