गढवामा किशोरीहरूको प्रविधि सीप विकासका लागि ‘टेक एज गर्ल्स’ तालिम सुरु

आलोक भावुक

गढवा, २४ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकामा किशोरीहरूको प्रविधिमैत्री क्षमता विकास तथा नेतृत्व अभिवृद्धि गर्ने उद्देश्यले ‘टेक एज गर्ल्स’ तालिम सुरु गरिएको छ। देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको आयोजना, रिड नेपालको आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको प्राविधिक सहयोगमा सञ्चालन भएको १५ महिने उक्त परियोजनाअन्तर्गत गढवाका पाँच सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विभिन्न चरणमा छनोट गरी तालिम प्रदान गर्न थालिएको हो। प्रारम्भिक चरणमा ३५ जना किशोरीहरूलाई सहभागी गराएर कार्यक्रमको शुभारम्भ गरिएको छ।

“निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने मूल नारासहित सञ्चालन गरिएको परियोजनाले किशोरीहरूलाई आधुनिक प्रविधिसँग जोड्दै उनीहरूको नेतृत्व क्षमता, आत्मविश्वास तथा सामाजिक चेतना विकास गर्ने लक्ष्य लिएको देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष दुखहरण यादवले जानकारी दिनुभयो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले वर्तमान समय सूचना र प्रविधिको युग भएकाले किशोरीहरूलाई समयानुकूल ज्ञान र सीप प्रदान गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले महिला सशक्तीकरणको आधार शिक्षा, प्रविधि र नेतृत्व विकास भएकाले यस्ता कार्यक्रमले किशोरीहरूलाई सक्षम, आत्मनिर्भर र आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले किशोरीहरूलाई विद्यालयको पाठ्यक्रममा मात्र सीमित नराखी व्यवहारिक ज्ञान र प्रविधिमूलक सीपसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले आजका किशोरीहरू भोलिका सक्षम नेतृत्वकर्ता र समाज परिवर्तनका संवाहक भएकाले उनीहरूलाई सूचना प्रविधि, नेतृत्व विकास तथा निर्णय क्षमता अभिवृद्धि गर्ने अवसरहरू उपलब्ध गराउनुपर्ने बताउनुभयो।

स्थानीय तहले पनि युवामैत्री तथा किशोरीमैत्री कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

त्यसैगरी गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलले प्रविधि र नेतृत्व विकाससम्बन्धी यस्ता तालिमले भविष्यका लागि दक्ष जनशक्ति तयार गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले अहिलेको प्रतिस्पर्धात्मक युगमा शैक्षिक योग्यतासँगै प्रविधि प्रयोग गर्ने क्षमता, नेतृत्व गर्ने सीप र आत्मविश्वासको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै किशोरीहरूलाई यस्ता अवसर प्रदान गर्न सकियो भने उनीहरू भविष्यमा उद्यमशीलता, रोजगारी र सामाजिक नेतृत्वका क्षेत्रमा समेत सफल बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। स्थानीय स्तरमै यस्ता कार्यक्रम सञ्चालन हुनु सकारात्मक पक्ष भएको बताउँदै उहाँले निजी क्षेत्रले पनि यस्ता अभियानमा आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।

सीपी नेपालका प्रतिनिधि हेमराज शर्माले किशोरीहरूको क्षमता विकाससँगै उनीहरूका अधिकार, सुरक्षा र आत्मसम्मानका विषयमा सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले किशोरीहरूलाई प्रविधि सम्बन्धी ज्ञानका साथै बालविवाह, लैङ्गिक हिंसा, सुरक्षित व्यवहार, मानव अधिकार तथा आत्मरक्षासम्बन्धी विषयमा समेत जानकारी दिन आवश्यक रहेको उल्लेख गर्नुभयो। ज्ञान, सीप र आत्मविश्वासले सशक्त बनेका किशोरीहरूले आफ्ना अधिकारका लागि आवाज उठाउन सक्ने र समाजमा रहेका विभेद तथा कुरीतिविरुद्ध सचेत भूमिका निर्वाह गर्न सक्ने भएकाले यस्ता कार्यक्रमले समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

रिड नेपालका साजन थापाका अनुसार नेपालका नौ वटा सामुदायिक पुस्तकालयमार्फत सञ्चालन भइरहेको ‘टेक एज गर्ल्स/युथ’ परियोजनाअन्तर्गत किशोरीहरूलाई कम्प्युटर शिक्षा, कृत्रिम बौद्धिकता (एआई), डिजिटल साक्षरता, नेतृत्व विकास, गुड टच–ब्याड टच, बालविवाह नियन्त्रण तथा जीवनोपयोगी सीपसम्बन्धी विविध तालिम प्रदान गरिनेछ। रिड नेपालका चिनकाजी श्रेष्ठले तीन प्रदेशका छ जिल्लामा परियोजना सञ्चालन भइरहेको जानकारी दिनुभयो भने कार्यक्रम संयोजक सूचना रेग्मीले विभिन्न चरणको छनोट प्रक्रियापछि ३५ जना किशोरीहरूलाई १५ महिने तालिमका लागि छनोट गरिएको बताउनुभयो।

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष दुखहरण यादवको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाकी अध्यक्ष पुष्पा यादव, सीपी नेपालका हेमराज शर्मा, गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव खुमानन्द पोख्रेल, पत्रकार शिवराज पन्थी, निराजन यादव, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका सचिव पटवारी यादवले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID