
गढवा,२० जेठ। गढवा गाउँपालिका वडा नं. १ स्थित जेठानगाउँ स्वास्थ्य चौकीमा “एक स्वास्थ्य” सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्रको सहजिकरणमा गढवा गाउँपालिकामा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना (VITA Project) अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो।
समुदाय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गढवा गाउँपालिका वडा नं. १, २ र ३ मा कार्यरत ३० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मानव स्वास्थ्य, पशु स्वास्थ्य तथा वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमका मुख्य प्रशिक्षक हेफर इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत तथा पशु स्वास्थ्य विज्ञ डा. गान्धीराज उपाध्यायले “एक स्वास्थ्य” अवधारणाको महत्वबारे प्रशिक्षण दिनुभएको थियो ।
उहाँले मानव, पशु तथा वातावरणीय स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै कुनै एक क्षेत्रमा देखिएको समस्या अन्य क्षेत्रमा समेत असर गर्ने बताउनुभयो । पछिल्लो समय बढ्दै गएको जुनोटिक रोगका कारण मानव स्वास्थ्यमा गम्भीर चुनौती थपिएको उल्लेख गर्दै उहाँले समुदाय स्तरमै सचेतना विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
डा. उपाध्यायले पशुबाट मानिसमा तथा मानिसबाट पशुमा सर्ने विभिन्न जुनोटिक रोगहरूबारे जानकारी गराउँदै रेबिज, बर्ड फ्लु, स्वाइन फ्लु, ब्रुसेलोसिस, एन्थ्राक्स, लेप्टोस्पाइरोसिस, क्षयरोग, साल्मोनेला संक्रमण, जापानिज इन्सेफलाइटिस तथा कोरोना भाइरसजस्ता रोगहरूको रोकथामका उपायबारे सहभागीहरूलाई सचेत गराउनुभयो । उहाँले पशुपालन गर्दा अपनाउनुपर्ने सरसफाइ, नियमित खोप व्यवस्थापन, सुरक्षित खानपान, मासु तथा दुग्धजन्य पदार्थको सुरक्षित प्रयोग र वातावरणीय सरसफाइका विषयमा विशेष जोड दिनुभयो ।
कार्यक्रमका क्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले जुनोटिक रोगको संक्रमण कसरी फैलिन्छ, पशुमा देखिने प्रारम्भिक लक्षणहरू के–के हुन्, संक्रमित पशुसँग कसरी सुरक्षित रहने, घरपालुवा पशु तथा पन्छीको नियमित खोप किन आवश्यक छ, तथा रोगबाट बच्न समुदाय स्तरमा अपनाउनुपर्ने सावधानीका विषयमा विभिन्न प्रश्नहरू राखेका थिए ।
सहभागीहरूले विशेषगरी रेबिज, बर्ड फ्लु, स्वाइन फ्लु तथा ब्रुसेलोसिसजस्ता रोगको संक्रमण र रोकथामबारे जिज्ञासा राखेका थिए ।
सहभागीहरूले राखेका प्रश्नहरूको मुख्य प्रशिक्षक डा. गान्धीराज उपाध्यायले व्यवहारिक र वैज्ञानिक ढंगले जवाफ दिनुभएको थियो । उहाँले पशु तथा मानिसको स्वास्थ्यलाई सुरक्षित राख्न समयमै रोग पहिचान, नियमित खोप, सरसफाइ तथा सुरक्षित व्यवहार अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले कुनै पनि रोगको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्था वा पशु सेवा प्राविधिकसँग सम्पर्क गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी, गोबडिहा स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक निम बहादुर रावतले समुदाय स्वास्थ्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गाउँस्तरमा स्वास्थ्य सचेतना फैलाउने, रोग पहिचान तथा रोकथामका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरू अग्रपंक्तिमा रहेर काम गरिरहेको उल्लेख गर्नुभयो ।
हेफर इन्टरनेसनल नेपालका कृषि विज्ञ विक्रम भट्टले जलवायु परिवर्तनका कारण मानव तथा पशु स्वास्थ्यमा परेको असरबारे सहजीकरण गर्नुभएको थियो । उहाँले बदलिँदो मौसम, अत्यधिक गर्मी, अनियमित वर्षा तथा प्राकृतिक विपद्का कारण विभिन्न रोगहरूको जोखिम बढिरहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनले कृषि उत्पादन, पशुपालन तथा खाद्य सुरक्षामा समेत नकारात्मक प्रभाव पारेको उहाँको भनाइ थियो ।
कार्यक्रमको सहजीकरण भिटा परियोजना गढवाका संयोजक बसन्त कुमार शर्माले गर्नुभएको थियो । उहाँले कार्यक्रममा भिटा परियोजनाको उद्देश्य, सञ्चालन भइरहेका गतिविधिहरू तथा समुदायमा परियोजनाले पुर्याइरहेको योगदानबारे जानकारी गराउनुभएको थियो । साथै, “एक स्वास्थ्य” सम्बन्धी कार्यक्रम विशेषगरी महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग किन आवश्यक छ भन्ने विषयमा समेत स्पष्ट पार्नुभएको थियो ।
उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको घर–घरमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने प्रमुख माध्यम भएकाले “एक स्वास्थ्य” सम्बन्धी ज्ञान उनीहरूबाट समुदायसम्म सहज रूपमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पशुपालन, सरसफाइ, पोषण, खानेपानी तथा वातावरणीय स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएका व्यवहार परिवर्तनमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका प्रभावकारी हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका फोकल पर्सन भीमकान्त चौधरी, पशुपन्छी तथा मत्स्य विकास शाखा गढवाका प्राविधिक दिपक रोकाया तथा भिटा परियोजना गढवाका सामुदायिक सहजकर्ताहरू कैलाश चौधरी, यमुना सुवेदी, अभिषेक गिरी र माया चौधरीको समेत उपस्थिति रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले कार्यक्रमबाट प्राप्त ज्ञानलाई समुदाय स्तरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले विशेषगरी जुनोटिक रोग, पशु स्वास्थ्य, वातावरणीय सरसफाइ तथा जलवायु परिवर्तनबाट स्वास्थ्यमा पर्ने असरका विषयमा समुदायमा जनचेतना फैलाउन सक्रिय भूमिका खेल्ने बताएका छन् ।
कार्यक्रमले “एक स्वास्थ्य” अवधारणालाई स्थानीय स्तरमा व्यवहारिक रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । मानव, पशु तथा वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा हेर्ने अवधारणाले भविष्यमा स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण, सुरक्षित समुदाय निर्माण तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





