
गढवा,१० जेठ। गढवा गाउँपालिका वडा नम्बर ७ झारभैरामा भिटा परियोजना अन्तर्गत गठन भएको चम्बोलाताल उद्यमी महिला समूहको ३ दिने आधारशिला तालिम सम्पन्न भएपछि गाउँघरमा टोल सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।
चम्बोलाताल उद्यमी महिला समूहकी अध्यक्ष सरिता चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समूहका सदस्यहरू, स्थानीय महिला तथा समुदायका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। समूहमा २५ जना सदस्य आबद्ध रहेका छन् भने सरसफाई कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको बताइएको छ।
कार्यक्रममा सहभागीहरूले टोल तथा सार्वजनिक स्थानको सरसफाई गर्दै वातावरण स्वच्छ राख्ने सन्देश दिएका छन् । आधारशिला तालिमपछि महिलाहरूमा सामूहिक कामप्रति उत्साह बढेको र सामाजिक उत्तरदायित्वबोध समेत विकास भएको बताएका छन्।
सरसफाई कार्यक्रममा बोल्दै समूहकी अध्यक्ष सरिता चौधरीले तालिमले महिलाहरूलाई आत्मविश्वासी र संगठित बनाएको बताउनुभयो। “हामी महिलाहरू अब केवल घरभित्र सीमित छैनौं, गाउँ समाजको विकास र सरसफाई अभियानमा पनि सक्रिय रूपमा लागेका छौं। आगामी दिनमा यस्ता सामाजिक तथा उद्यमशीलतामूलक कार्यक्रमलाई निरन्तरता दिनेछौं।” अध्यक्ष चौधरीले भन्नु भयो।
भिटा परियोजनामार्फत महिलाहरूलाई उद्यमशीलता, नेतृत्व विकास तथा सामाजिक गतिविधिमा सक्रिय बनाउन सहयोग पुगिरहेको ७ नम्बर वडा कि सामुदायिक सहजकर्ता जया विश्वकर्माले बताउनुभयो।





