
गढवा, ७ जेठ । दाङको गढवा गाउँपालिका ५ स्थित गंगाप्रस्पुर स्वास्थ्य चौकी, चैनपुरमा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ।
गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ४ र ५ का महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा आफ्ना अनुभव, धारणा तथा समुदायमा देखिएका समस्याहरू साझा गरेका थिए।
कार्यक्रममा तनाव, चिन्ता, निराशा तथा आत्महत्यासम्बन्धी जोखिम संकेतहरू पहिचान गर्ने, तिनका कारणहरू बुझ्ने र रोकथामका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। साथै समुदायस्तरमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै समयमै परामर्श, सल्लाह र आवश्यक सहयोग उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको थियो।
सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले यस्ता कार्यक्रम गाउँ–समाजमा अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै मानसिक स्वास्थ्यसम्बन्धी समस्या जुनसुकै घर–परिवारमा देखिन सक्ने भएकाले समयमै सचेतना फैलाउनु महत्वपूर्ण रहेको बताए।
त्यस्तै, कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ ज्ञान प्राप्त भएको तथा आफ्नो सोचाइमा सकारात्मक परिवर्तन आएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रमलाई सहभागीहरूले अत्यन्त उपयोगी, ज्ञानवर्धक र व्यवहारिक भएको भन्दै सकारात्मक रूपमा मूल्यांकन गरेका थिए।





