
गढवा,८ जेठ । गढवा गाउँपालिका–६ स्थित मनिकापुर बगाले बिसौना सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा बहुउपयोगी पोखरी निर्माण कार्य सुरु गरिएको छ।
वन तथा वातावरण संरक्षण समन्वय समिति गढवा–६ गढवाको पहलमा जंगली जनावरलाई खानेपानीको सहजता तथा स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले पोखरी निर्माण थालिएको हो।
वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाकी अध्यक्ष पुष्पा यादवले साझेदारी अवधारणाअनुसार पोखरी निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार कुल लागतको ८० प्रतिशत रकम वन तथा वातावरण संरक्षण समन्वय समितिले तथा २० प्रतिशत रकम सामुदायिक वन उपभोक्ता समूहले व्यहोर्ने गरी संयुक्त साझेदारीमा निर्माण कार्य सुरु गरिएको हो।
पोखरीको सिलान्यास गर्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले बहुउद्देश्यीय पोखरी निर्माणले वन संरक्षण, वन्यजन्तु संरक्षण तथा स्थानीय किसानको सिँचाइ व्यवस्थामा दीर्घकालीन योगदान पुग्ने बताउनुभयो। उहाँले सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको पोखरी वातावरण संरक्षणसँगै जैविक विविधता जोगाउने प्रभावकारी माध्यम बन्ने उल्लेख गर्दै यस्ता योजनाले स्थानीय स्तरमा हरियाली प्रवर्द्धन, भू–जल संरक्षण र कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। साथै उहाँले वन संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
सामुदायिक वन क्षेत्रमा निर्माण हुन लागेको उक्त पोखरीले वन संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पोखरी निर्माणपछि वन्यजन्तु तथा चराचुरुङ्गीलाई वर्षभरि पानीको सुविधा उपलब्ध हुने, भू–क्षय तथा माटो कटान नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ। साथै भू–जल पुनर्भरण भई कुवा, इनार तथा धारामा पानीको मात्रा कायम राख्न समेत मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष पुष्पा यादवले बताउनुभयो।
वन क्षेत्रमा हुने डढेलो नियन्त्रणमा समेत पोखरी उपयोगी बन्ने अपेक्षा गरिएको छ। पोखरी आसपास हरियाली वृद्धि, जैविक विविधता संरक्षण तथा स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने भएकाले कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने जनाइएको छ। यससँगै माछापालन तथा पर्यापर्यटनमार्फत आयआर्जनका सम्भावना समेत बढ्ने भएकाले पोखरी निर्माणलाई वातावरणीय र आर्थिक दृष्टिले लाभदायक योजनाका रूपमा हेरिएको छ।





