
गढवा, २५ बैशाख । गढवा गाउँपालिका वडा नम्बर – ३ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ।
“पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर ३ लाई शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो।
वडा खोप समन्वय समितिले गढवा ३ गोबरडिहाको वडा कार्यालयमा आज शुक्रबार आयोजना गरेको कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीराम अधिकारीले पालिकाको वडा नम्बर ३ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष अधिकारीले गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। डाक्टर, स्वास्थ्य कर्मी,महिला स्वास्थ्य स्वयंसेविकाहरुको ठुलो मिहिनेतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्न सफल भएको बताउदै सबैलाई धन्यवाद दिनु भयो। वडा नम्बर ३ बाट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा सुरु गरेका छौ अब बिस्तारै सबै वडालाई घोषणा गर्दै जाने छ, वडाध्यक्ष अधिकारीले बताउनुभयो।
जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले गढवा गाउँपालिका वडा नम्बर ३ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।





