
गढवा,२१ वैशाख ।सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित बसोबासीहरूको उचित व्यवस्थापनको माग गर्दै “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ।
अभियानका संयोजक चित्र बहादुर महतराको नेतृत्वमा गएको टोलीले सोमबार गढवा गाउँपालिका कार्यालय पुगेर गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल समक्ष ज्ञापनपत्र पेश गरेको हो। अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाउन महतराको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरिएको समेत जनाइएको छ।
समितिले सुकुम्बासी तथा भूमिहिन नागरिकहरूको समस्या समाधानका लागि तत्काल पहल गर्न स्थानीय सरकारसँग माग गरेको छ। अभियानका पदाधिकारीहरूले दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, भूमि व्यवस्थापन तथा सुरक्षित बसोबासको सुनिश्चितता आवश्यक रहेको बताएका छन्।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष पोख्रेलले उचित व्यवस्थापन नगरी डोजर चलाउन नदिने पालिकाको स्पष्ट नीति रहेको जानकारी दिनुभयो। उहाँले सरकारलाई आवश्यक पर्ने जमिन स्थानीय तहले खाली गराउने भए पनि त्यसअघि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो।
अध्यक्ष पोख्रेलले कुनै पनि नागरिकलाई उठिबास हुने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाउँदै गढवा गाउँपालिकाले भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण प्रक्रिया निरन्तर अगाडि बढाएको जानकारी दिनुभयो। हालसम्म ९ जनालाई लालपुर्जा वितरण गरिसकिएको उल्लेख गर्दै आगामी दिनमा थप भूमिहिनलाई लालपुर्जा वितरण कार्यलाई तीव्रता दिन संघ सरकारसँग अनुरोध गरिएको उहाँले बताउनुभयो।
ज्ञापनपत्र बुझाउदै अभियानका संयोजक महतराले केन्द्र सरकारले सुकुम्बासी बस्तीमा चलाएको डोजरले आफुहरु त्रसित भएको बताउनुभयो। विना व्यवस्थापन डोजर चलाउनु मानवीय कार्य नभएको बताउदै त्यसलाई रोक्न र गढवा गाउँपालिकामा त्यस्ता कार्य रोक्न गाउँपालिका लाई अनुरोध समेत गर्नु भयो।





