बालमैत्री वडा घोषणा तयारी तीव्र: गढवा–३ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, १४ वैशाख । गढवा गाउँपालिका वडा नम्बर ३, गोबरडिहामा बालमैत्री वडा घोषणा प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिकाले बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न चरणहरू पार गर्दै वडा नम्बर ३ लाई बालमैत्री वडा घोषणा गर्ने तयारीलाई तीव्र बनाएको छ।

वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तुलसीराम अधिकारी, वडा सदस्य प्रमिला नेपाली, सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबरडिहाका प्रधानाध्यापक सुर्य प्रकाश बर्मा, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका योगमाया अधिकारी लगायतको सहभागिता रहेको थियो। साथै जनप्रतिनिधि, प्रहरी, युवा क्लब, उद्यमी महिला समूह तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बालमैत्री विज्ञ विकिरण गौतमले सहजीकरण तथा प्रशिक्षण प्रदान गर्दै बालअधिकार, बालमैत्री सूचकहरू, स्थानीय तहको भूमिका तथा घोषणा प्रक्रियाका चरणहरूबारे जानकारी दिनुभएको थियो।

गाउँपालिकाले बालबालिकाको अधिकार सुनिश्चित गर्दै सुरक्षित, समावेशी र सहयोगी वातावरण निर्माण गर्ने लक्ष्यसहित बालमैत्री वडा घोषणा प्रक्रिया अघि बढाएको जनाएको छ। यसका लागि आवश्यक सूचकहरू पूरा गर्दै वडा नम्बर ३ लाई छिट्टै बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID