सामुदायिक वनको डढेलो जोगाउन गढवामा स्थानीयको सक्रियता

आलोक भावुक

गढवा,३० चैत्र। गढवा गाउँपालिका वडा नम्बर ३ स्थित दुर्गा सामुदायिक वन उपभोक्ता समूह, धैरेनीका स्थानीय उपभोक्ताहरूले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न उल्लेखनीय सक्रियता देखाएका छन्। आगलागी फैलिन नदिन उनीहरू दिनरात खटिँदै आगो निभाउने कार्यमा जुटेका हुन्।

स्थानीयका अनुसार वनमा आगलागी भएको थाहा पाएलगत्तै गाउँलेहरू आफैं उपकरण जुटाएर घटनास्थलमा पुग्ने गरेका छन्। सामुदायिक वनलाई आफ्नो जीवन र भविष्यसँग जोडिएको सम्पत्ति ठान्दै उनीहरूले जिम्मेवारीपूर्वक संरक्षणमा लागेका छन्।

उपभोक्ता जितेन्द्र केसीले भन्नुभयो, “यो हाम्रो वन हो, हाम्रो जीवनसँग जोडिएको छ। त्यसैले यसलाई जोगाउनु हाम्रो कर्तव्य हो।” उहाँका अनुसार सामुदायिक सचेतना र एकताले नै डढेलो नियन्त्रणमा ठूलो भूमिका खेलेको छ।

यद्यपि, स्थानीय उपभोक्ताहरूले आवश्यक उपकरणको अभाव रहेको गुनासो गरेका छन्। उनीहरूका अनुसार सरकारले डढेलो नियन्त्रणका नाममा विभिन्न कार्यक्रम सञ्चालन गरी लाखौं रुपैयाँ खर्च गर्ने गरे पनि प्रत्यक्ष रूपमा आगो निभाउन आवश्यक सामग्री उपलब्ध गराउन सकेको छैन। “यदि त्यो रकमबाट आगो निभाउने उपकरण उपलब्ध गराइयो भने अझ प्रभावकारी रूपमा काम गर्न सकिन्छ,” एक उपभोक्ताले बताए।

डढेलोका घटनाहरू बढ्दै जाँदा स्थानीय तह, सरोकारवाला निकाय र सरकारबीच समन्वय गरी दीर्घकालीन समाधान खोज्नु आवश्यक देखिन्छ। स्थानीयको सक्रियता र जिम्मेवारीबोधले वन संरक्षणमा सकारात्मक सन्देश दिएको छ भने आवश्यक स्रोत–साधनको व्यवस्था भएमा यस्ता प्रयास अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID