
देउखुरी, चैत ३० । लमही नगरपालिका कृषि शाखाले माटो तथा मल व्यवस्थापन सम्बन्धी महत्वपूर्ण तालिम कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका किसानलाई लक्षित गर्दै आयोजना गरिएको उक्त तालिममा प्रत्येक वडाबाट ४ जनाका दरले जम्मा ३६ जना किसान सहभागी भएका थिए ।
कृषि शाखाका प्रमुख कमलराज विसीका अनुसार तालिमको मुख्य उद्देश्य किसानलाई आधुनिक तथा वैज्ञानिक कृषि प्रणालीतर्फ उत्प्रेरित गर्नु हो । “यो तालिमले किसानलाई कृषि क्षेत्रमा थप सक्रिय र आत्मनिर्भर बन्न प्रेरणा दिनेछ,” उहाँले भन्नु भयो । तालिममा बाली उत्पादनका लागि आवश्यक सूक्ष्म खाद्य तत्व (माइक्रोन्युट्रिएन्ट) तथा झोल मलको प्रयोगबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । यसले उत्पादन वृद्धि गर्नुका साथै माटोको उर्वराशक्ति कायम राख्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
तालिम कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले रासायनिक मलको अत्यधिक प्रयोगका कारण धेरै किसानको खेतबारीको गुणस्तर खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले माटोको दीर्घकालीन स्वास्थ्यका लागि जैविक तथा सन्तुलित मल प्रयोग आवश्यक रहेको उल्लेख गर्दै सबै किसानका खेतमा सिंचाइ सुविधा पु¥याउन नसकिएको स्वीकार गर्दै आगामी बजेटमा यस समस्यालाई प्राथमिकताका साथ सम्बोधन गरिने बताउनु भयो ।
यस्तै नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले माटोको गुणस्तर अनुकूल नहुँदा किसानले भोग्नु परेको समस्यातर्फ राज्य गम्भीर हुनु पर्ने बताउनु भयो । उहाँले रासायनिक मलको अत्यधिक प्रयोग र सिंचाइको कमीका कारण कृषि उत्पादनमा नकारात्मक असर परेको बताउँदै यस विषयमा राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।
तालिमले किसानलाई माटो परीक्षण, सन्तुलित मल प्रयोग तथा दिगो कृषि अभ्यासबारे व्यवहारिक ज्ञान प्रदान गरेको सहभागी किसानहरूले बताएका छन् । यस्ता कार्यक्रमले कृषि उत्पादनमा वृद्धि गर्नुका साथै किसानको जीवनस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । तालिमको प्रशिक्षकमा लमही नगरपालिकाका कृषि शाखा प्रमुख कमलराज विसी, नायव प्राविधिक सहायक गंगा चौधरी र रुमा थापा रहनु भएको थियो ।
लमही नगरपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा ज्ञानमूलक तालिम कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ, जसले स्थानीय कृषकलाई आत्मनिर्भर बनाउँदै समग्र कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।




