
गढवा,२७ चैत्र। देउखुरीको गढवास्थित भ्याली पब्लिक इङ्लिस स्कुल गढवाको पुर्व प्राथमिकता तह उतिर्ण हुनु भएको विद्यार्थीहरुको दिक्षान्त समारोह लमहीस्थित होटेल ग्रिन लुम्बिनी लमहि मा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल प्रतिमा के.के.को सभापतित्वमा तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक गोविन्द ओली विशिष्ट अतिथि रहनु भएको थियो भने विद्यालय व्यवस्थापन समिति सदस्य खिम बुढा, गोविन्द के सि लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी व्यानर वाचन गरेर गर्नुभएको थियो। सो अवसरमा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास लिइएको छ ।
समारोहमा अभिभावक रिना गुप्ता चौधरीले मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक अवस्था सन्तोषजनक रहेको बताउनुभयो। उहाँले शिक्षक–शिक्षिकाको अध्यापन शैली अत्यन्त प्रभावकारी रहेको र आफ्नो बच्चालाई यस विद्यालयमा अध्ययन गराउन पाउँदा खुशी लागेको धारणा राख्नुभयो।
त्यसैगरी, विद्यालय सञ्चालक समिति सदस्यहरूले पनि मन्तव्य राख्दै विद्यालयको प्रगति र उपलब्धिहरूबारे चर्चा गर्नुभएको थियो। विद्यालयका प्रबन्ध निर्देशक गोविन्द ओलीले आफ्नो मन्तव्यमा विद्यालय गढवा गाउँपालिका स्तरीय कक्षा ५ को परीक्षामा प्रथम हुन सफल भएको जानकारी गराउँदै सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा अभिभावक शिला शर्मा ले मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर र वातावरणप्रति खुसी व्यक्त गर्नुभएको थियो। उहाँले विद्यार्थीको उज्ज्वल भविष्यका लागि विद्यालय, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि कृष्ण घिमिरेले विद्यालयको शैक्षिक गुणस्तर अझ सुदृढ बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका सभापति तथा प्रिन्सिपल प्रतिमा के.के.ले मन्तव्य व्यक्त गर्दै जस्तोसुकै परिस्थितिमा साथ र सहयोग गर्ने अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। साथै उहाँले विद्यालयको भावी योजना पनि प्रस्तुत गर्नुभएको थियो।
विद्यालयका शिक्षक निराजन यादवको स्वागत मन्तव्यबाट सुरु भएको उक्त दिक्षान्त समारोहको सञ्चालन विद्यालयका शिक्षक गौरब नरसिंह यादवले गर्नुभएको थियो।
कार्यक्रमले विद्यार्थी, अभिभावक तथा शिक्षकबीच उत्साह र प्रेरणा थपेको विद्यालयले जनाएको छ।




