मगर संस्कृति संरक्षणलाई प्राथमिकता दिने आचार्यको प्रतिबद्धता

सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि विकासलाई उच्च प्राथमिकतामा राख्दै समग्र क्षेत्रको विकासलाई अघि बढाइने

गणतन्त्र नेपाल समाचारदाता

घोराही, ६ फागुन। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार निर्मल आचार्यले मगर समुदायको कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

तकसेरा समाज सेवा समिति दाङद्वारा आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै आचार्यले मगर समुदायको मौलिक संस्कार, भाषा, भेषभूषा र सांस्कृतिक धरोहरको जगेर्नाका लागि राज्यस्तरबाट नीतिगत पहल आवश्यक रहेको बताउनुभयो। उहाँले सांस्कृतिक संरक्षणसँगै सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि विकासलाई उच्च प्राथमिकतामा राख्दै समग्र क्षेत्रको विकासलाई तीव्र गतिमा अघि बढाइने स्पष्ट गर्नुभयो।

उहाँले पूर्वी रुकुममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवारका रूपमा रहेको उल्लेख गर्दै उहाँसँगको सहकार्यमा क्षेत्रको योजनाबद्ध विकास अघि बढाइने धारणा राख्नुभयो।

कार्यक्रममा नेकपाका समानुपातिक उम्मेदवार भिम कुमारी बुढा मगर र सस्मती चौधरीलाई स्वागत गर्दै जितको शुभकामना व्यक्त गरिएको थियो। समाजका अध्यक्ष मित्रलाल बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि भिम कुमारी बुढा मगरले मगर समुदायको कला, भाषा र संस्कृतिको संरक्षणसँगै महिलाको सशक्तीकरणलाई प्राथमिकतामा राखेर विकास अभियान अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार दुर्गा बहादुर बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समाजका महासचिव नरेन्द्र बुढामगरले गर्नुभएको थियो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID