
स्वास्थ्य मानिसका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । स्वस्थ मानिसले मात्र शिक्षादेखि अतिरिक्त क्रियाक्लापमा राम्रोसँग ध्यान दिन सक्छ, आफ्नो दैनिक कार्य सुचारु गर्नका लागि पनि स्वस्थ हुनैपर्छ । स्वस्थ मानिस भविष्यमा सफल हुने प्रवल सम्भावना हुन्छ । विद्यार्थीहरूको उचित स्वास्थ्य सुनिश्चित गर्न विद्यालय तहबाटै आवश्यक पहल गर्नुपर्छ । यसै कारण सरकारले शिक्षा नियमावलीमै हरेक विद्यालयमा कम्तीमा एकजना स्वास्थ्यकर्मी अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरेको छ । तर, हालसम्म अधिकांश सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूले स्वास्थ्यकर्मी राख्न सकेका छैनन् । यसको मुख्य कारण बजेट अभाव, नीतिगत अस्पष्टता, र व्यवस्थापकीय कमजोरी रहेका छन् । विद्यालयमा स्वास्थ्यकर्मीको उपस्थितिले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा, प्रारम्भिक उपचार, स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्य, सरसफाइ सम्बन्धी ज्ञान आदिको प्रवर्धनमा ठुलो योगदान पु¥याउन सक्छ ।
विद्यालयमा स्वास्थ्यकर्मी किन आवश्यक ?
विद्यालयमा स्वास्थ्यकर्मी भएमा विभिन्न फाइदाहरू हुन सक्छन् ।
१. प्रारम्भिक उपचारको सुविधा ः
–विद्यालयमा अध्ययनरत विद्यार्थीहरू विभिन्न स्वास्थ्य समस्याहरूबाट प्रभावित हुन सक्छन् । कतिपय अवस्थामा खेलकुदको क्रममा चोट लाग्न सक्छ, अचानक बान्ता, टाउको दुख्ने, चक्कर लाग्ने वा अन्य स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन् । यस्तो अवस्थामा विद्यालयमा स्वास्थ्यकर्मी भएमा विद्यार्थीलाई तत्काल प्राथमिक उपचार प्रदान गर्न सकिन्छ । गम्भीर अवस्थामा विद्यार्थीलाई अस्पताल पु–याउने प्रबन्ध गर्न समेत स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
२. स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि ः
–विद्यालय स्वास्थ्यकर्मीले नियमित रूपमा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सक्छन् । खानपानको अस्वस्थ बानीहरू, शारीरिक व्यायामको महत्व, मानसिक स्वास्थ्य, लागूपदार्थको असर जस्ता विषयमा जानकारी दिनाले विद्यार्थीहरू स्वस्थ जीवनशैली अवलम्बन गर्न प्रेरित हुन्छन् ।
३. सरसफाइ सम्बन्धी ज्ञान र अभ्यास ः
स्वास्थ्यकर्मीले विद्यालयका विद्यार्थी र शिक्षकहरूलाई सरसफाइको महत्त्वबारे सचेत गराउन सक्छन् । विद्यालयमा खानेपानीको स्रोत सफा छ वा छैन, शौचालयहरू सरसफाइयुक्त छन् वा छैनन् भन्ने विषयमा निरन्तर निगरानी गर्न सक्छन् । यस्तै, व्यक्तिगत सरसफाइ, हात धुने प्रविधि, सरसफाइका लागि अपनाउनुपर्ने सावधानी आदि विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्नाले विद्यार्थीहरूमा सरसफाइको महत्वबारे जागरूकता बढ्छ ।
४. विद्यार्थीको स्वास्थ्य प्रोफाइल निर्माण ः
विद्यालयमा स्वास्थ्यकर्मी भएमा प्रत्येक विद्यार्थीको स्वास्थ्य प्रोफाइल तयार गर्न सकिन्छ । विद्यार्थीहरूको रक्त समूह, स्वास्थ्य अवस्थाको नियमित परीक्षण, कुन–कुन खोप लगाएका छन्, कुनै विद्यार्थीलाई कुनै विशेष रोग छ वा छैन भन्ने विषयहरू उल्लेख गरेर अभिलेख राख्न सकिन्छ । यसले विद्यार्थीको स्वास्थ्यको सम्पूर्ण जानकारी उपलब्ध गराएर आवश्यक परेमा थप उपचारको सिफारिस गर्न मद्दत गर्छ ।
५. पोषण र खानपान सम्बन्धी सुझाव ः
–विद्यालयका विद्यार्थीहरूले स्वस्थकर भोजन ग्रहण गरून् भन्ने उद्देश्यले स्वास्थ्यकर्मीले पोषणसम्बन्धी परामर्श दिन सक्छन् । कतिपय बालबालिकाले पोषण अभावका कारण कमजोरी, रक्तअल्पता वा अन्य स्वास्थ्य समस्याहरू झेलिरहेका हुन्छन् । विद्यालयमा स्वास्थ्यकर्मी भएमा उनीहरूले विद्यार्थीहरूको खानपान सुधार गर्न उचित सल्लाह दिन सक्छन् ।
विद्यालयमा स्वास्थ्यकर्मी नहुनुको प्रभाव
हाल अधिकांश विद्यालयहरूमा स्वास्थ्यकर्मीको व्यवस्था छैन । यसका कारण विद्यार्थीहरूको स्वास्थ्य जोखिममा पर्दै गएको देखिन्छ । स्वास्थ्य समस्या भए पनि समयमा उपचार नपाउँदा समस्या झनै जटिल बन्दै जान्छ । विद्यालयमा सरसफाइको राम्रो व्यवस्था नहुँदा विभिन्न संक्रामक रोगहरू फैलिने सम्भावना रहन्छ । कतिपय विद्यालयहरूमा मादक पदार्थ, धूम्रपान, जंक फूड आदिको दुव्र्यसनसमेत बढ्दै गएको पाइन्छ । यदि विद्यालयमा स्वास्थ्यकर्मी भएमा यी समस्याहरू न्यूनीकरण गर्न सकिन्छ ।
स्वास्थ्यकर्मी राख्न कस्ता कदम चाल्न सकिन्छ ?
विद्यालयमा स्वास्थ्यकर्मी राख्न विभिन्न उपायहरू अवलम्बन गर्न सकिन्छ ।
–नीतिगत प्रस्टताः
सरकारको शिक्षा नीति र विद्यालय सञ्चालन निर्देशिकामा स्वास्थ्यकर्मी राख्नुपर्ने विषयलाई स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ ।
–आर्थिक स्रोत परिचालनः स्वास्थ्यकर्मी नियुक्त गर्न विद्यालयको आन्तरिक बजेट व्यवस्थापन गर्न सकिन्छ वा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ ।
–सहकार्य र साझेदारीः
विभिन्न गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न सकिन्छ ।
–स्वास्थ्य तालिम कार्यक्रमः
विद्यालयका शिक्षकहरूलाई नै आधारभूत स्वास्थ्य तालिम दिएर प्राथमिक उपचारको ज्ञान प्रदान गर्न सकिन्छ ।
निष्कर्ष
विद्यालयमा स्वास्थ्यकर्मीको उपस्थिति विद्यार्थीहरूको भौतिक, मानसिक र शैक्षिक विकासका लागि अत्यन्तै आवश्यक छ । स्वास्थ्यकर्मी भएका विद्यालयहरूमा विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे सचेतना बढ्ने, प्राथमिक उपचार सहज हुने, सरसफाइका उपायहरू कार्यान्वयन हुने र संक्रामक रोगहरूको नियन्त्रण गर्न सकिने देखिन्छ । त्यसैले, सरकारले यो विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । विद्यालय व्यवस्थापन समितिहरूले पनि यस विषयमा आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।
विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गर्नु विद्यार्थीहरूको स्वास्थ्य अधिकारको संरक्षण गर्नु मात्र होइन, यो गुणस्तरीय शिक्षाको अनिवार्य पक्ष पनि हो । त्यसैले, विद्यालयहरूमा अनिवार्य रूपमा स्वास्थ्यकर्मी राख्नुपर्ने आवश्यकता छ । पछिल्लो समयमा दाङका विद्यालयहरुमा पनि विद्यालयमा स्वास्थ्यकर्मीहरु राख्नुपर्छ भन्ने सोँच विकसित हुँदै गएको छ । केही विद्यालयहरुमा पहिलेदेखि नै स्वास्थयकर्मीहरु छन
