
दाङ,८ फागुन ।यतिबेला भटाभट अमेरिकासँग जोडिएका विभिन्न कार्यक्रमहरु नेपालमा क्यान्सिल गरिएका छन् । अमेरिकामा राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि उनले विभिन्न नाममा नेपाल जस्ता धेरै मुलुकमा दिँदै आएको सहयोग रकम र कार्यक्रम स्थगित गरेका छन् । अमेरिकाले कार्यक्रम स्थगित गरेपछि केही केहीको टाउको दुःखेको छ । अर्थात सिंगो मुलुकको अर्थतन्त्र नै अमेरिकी सहयोगमा सञ्चालन भएजस्तो गरेर सामाजिक सञ्जालमा मुलुकको अर्थतन्त्र अब डामाडोल बन्छ भनेर रोइलो गरिरहेको अवस्था छ । यस अर्थमा भन्नु पर्दा यस्ता भनाइहरु मुलुक अनि स्वयं आफु परनिर्भरताको चक्रव्यूबाट मुक्त हुन नचाहने सोँच हो । तसर्थ यतिबेला डोनरले पैसा दिएन भनेर रोइलो गर्नु भन्दा मुलुकलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ, कसैले पनि सहयोग नगरेपनि मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिन्छ भन्ने बहस अबको आवश्यकता हो । डोनरले पैसा दिएन भनेर गुनासो गर्नुको सट्टा आफ्नै स्रोत र श्रमलाई परिचालन गरेर उत्पादनमा लाग्नु आवश्यक छ । दातृ सहायता वा वैदेशिक अनुदानमा मात्र भर पर्नु दिगो समाधान होइन ।
नेपाल जस्तो कृषि प्रधान देशमा पर्याप्त स्रोत–साधन हुँदा हुँदै पनि आर्थिक रूपले
परनिर्भर हुनु विडम्बना हो । आत्मनिर्भर बन्ने भनेको केवल आर्थिक सहायता खोज्नु होइन, बरु श्रम, प्रविधि र स्रोतको अधिकतम उपयोग गर्नु हो । उत्पादन वृद्धि गरेर मात्रै देश समृद्ध बन्छ । परम्परागत कृषिबाट प्रविधिमैत्री व्यावसायिक कृषितर्फ लाग्नुपर्छ । आधुनिक प्रविधि, मल तथा सिंचाइ सुविधा बढाएर उत्पादन वृद्धि गर्न सकिन्छ । युवाहरूलाई स्वरोजगारमुखी कार्यक्रममार्फत उत्पादन र व्यवसायमा
जोड्नुपर्छ । कृषि, हस्तकला, सूचना प्रविधि र पर्यटनजस्ता क्षेत्रमा लगानी गरी आर्थिक वृद्धिलाई गति दिन सकिन्छ ।
नेपालले दैनिक रूपमा प्रयोग हुने धेरै वस्तुहरू विदेशबाट आयात गर्छ । यस्ता सामग्री स्वदेशमै उत्पादन गर्न सकेमा व्यापार घाटा कम गर्न सकिन्छ । नेपाल जलविद्युतको प्रचुर सम्भावना भएको देश हो । ऊर्जा उत्पादन बढाएर उद्योगधन्दालाई प्रवद्र्धन गर्न सकिन्छ । लाखौं युवा विदेशमा रोजगारीका लागि जान बाध्य छन् । उनीहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति अवलम्बन गर्नुपर्छ । नेपालजस्तो सम्भावनायुक्त देशले डोनर सहयोगमा निर्भर भएर होइन, आफ्नै बलबुतामा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ । उत्पादनशील क्षेत्रमा लगानी मार्फत मात्र समृद्ध नेपाल सम्भव छ । अब गुनासो होइन, काम गर्ने समय आएको छ । त्यसैले अब जो सुकै देशले सहयोग रोकेपनि मुलुकलाई कुनै असर नपर्ने आर्थिक अवस्थामा मुलुकको अर्थतन्त्रलाई पु¥याऔं । आउँदो आर्थिक वर्षको नयाँ बजेटलाई उत्पादनसँग जोड्ने किसिमले निर्माण गरौं । यस्तो भएमा मुलुक आर्थिकरुपमा छिटै बलियो बन्नेछ ।
