व्यवसायीकरण र यान्त्रिकरण बाट कृषिमा परिवर्तनः मुख्यमन्त्री आचार्य

गणतन्त्र नेपाल समाचारदाता

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासको लागि व्यवसायीकरण र यान्त्रिकरण जरुरी रहेको बताउनु भएको छ ।

बिपि चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमही स्थित पृथु टेक्निकल कलेजमा शुक्रवार आयोजना गरेको नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती बिषय बिचार गोष्टीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यवसायीक कृषिका लागि कार्यक्रमहरु अघि बढाएपनि युवा पुस्ता आकर्षित हुन नसक्नु समस्याको रुपमा रहेको चित्रण गर्नु भयो । यसका लागी राजनीतिक दलहरुले अब स्वदेशमा नै अवसरहरुको सृजना गर्नेगरी नितिगत भूमिका बढाउनुपर्ने धारणा राख्नु भयो ।‘यहाँ उठेका बिषयहरुमा प्रदेश सरकारले काम गरेको छ ।

तर, युवाहरुले चासो नदिदा प्रभावकारी हुन सकेन’उहाँले भन्नुभयो–‘मुलुकको विकासको लागि दुई ठूला राजनीतिक दलहरु विचको सहकार्यले राजनितीक स्थायित्व दिन्छ । यसबाट युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ ।’ प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न नव प्रवर्तनका योजनाहरु अघि बढाएको जानकारी दिनुभयो । कृषिलाई उद्यम र उद्योगको रुपमा विकास गर्न नव प्रवर्तन कार्यक्रमहरु अघि बढाएको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश कृषि उत्पादनको दृष्टिकोणले प्रचुर सम्भावना रहेको बताउदै उहाँले तीन वटा भूगोललाई जोडेर अघि बढ्ने योजना सुनाउनु भयो । बिचार गोष्टिमा कृषिमा औद्योगीकरण, व्यवसायीकरण र युवाहरुको संलग्नता बढाएर उत्पादन र उत्पादकत्व बढाउन सकिनेमा जोड दिएका छन ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अब राजनीतिक दलहरुले युवालाई स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुपर्ने र सोही अनुसार कार्यक्रम निर्माण गर्ने बताउनु भयो । मुक्तिनाथ कृषि कम्पनी लि लुम्बिनी प्रदेशका प्रमुख निर्मल भुसालले कृषिलाई बैज्ञानिक र सांस्कृतिक रुपमा बुझ्नुपर्ने बताउनु भयो । सरकारले नीति नियम बनाएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सहकारीले बचत तथा ऋण परिचालनमा मात्रै ध्यान दिदा कृषि क्षेत्र फस्टाउन नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

‘कृषिमा उत्पादन शैली परिवर्तन गर्न नसक्दा बजारमा माग एकथरी छ, उत्पादन अर्काे थरि भएको छ’उहाँले भन्नुभयो–‘बजार अनुसार उत्पादन बढाउन जरुरी छ ।’ कृषि क्षेत्रमा लगानी अनुसार पूर्वाधार विकासमा ध्यान दिनुपर्ने, तीन तहका सरकारले कृषिलाई प्राथमिकता दिनुपर्नेर भूउपयोग नीति निर्माण गरेर जग्गाको चक्लाबन्दि, कृषि पर्यटनको सम्भावनाको विकास गर्न अग्रसर हुनुपर्ने बताउनु भयो ।बजार र माग विचको असन्तुलन हटाउ सरकारले योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।‘स्थानीय सम्भावना प्रचुर छ । कृषिमा युवा आकर्षण बढाउन जरुरी छ’उहाँले भन्नुभयो–‘कृषिमा संस्थागत मूल्य श्रृङखला बढाउनुपर्छ । एकीकृत नीतिको अभाव छ ।

यसको परिपुर्ति गर्न जरुरी छ ।’ कृषिको उत्पादन देखि बजारीकरण सम्म संस्थागत संरचनाको विकास गर्न सकिने, जसका लागि संघ सरकारले नीति नियम बनाउने, प्रदेश सरकारले उद्योग स्थापना गर्ने, स्थानीय सरकारले उत्पादन र बजारीकरणमा सहयोग पु¥याउनेगरि कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभयो । कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि व्यवसाय परामर्श केन्द्र, कृषि बजार केन्द्र स्थापना गरेर कृषिमा आमूल परिवर्तन गर्न सकिनेमा जोड छ ।

युवा उद्यमशिलाताको विकास गरेर दिगो कृषि चक्रको लागि खाद्य साक्षरता अभियान चलाउनुपर्नेमा ध्यान दिन आग्रह गरिएको छ । महेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अगुवा किसान लगायत बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विपि चिन्तन प्रतिष्ठानका सहअध्यक्ष पुष्पराज पराजुली, नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रीता केसी, गोरखा सिड कम्पनीका विउ उत्पादन अधिकृत सागर खनाल, नेपाली कांग्रेसका प्रतिनिधि लिलाराम खनाल लगायतले छलफलमा भाग लिनु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID