भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका ३७ देशका सरकार प्रमुखहरु ‘प्रेस स्वतन्त्रताका शिकारी’ को सूचिमा परेका छन्। रिपोर्टस विथआउट बोडर्स (आरएसएफ) ले सार्वजनिक गरेको ‘प्रेडेटर्स अफ प्रेस फ्रिडम’ सूचिमा मोदीसहितका नेताहरु परेका हुन्।
ठूलो सञ्चार उद्यममा लगानी रहेका अर्बपतिहरुसँगको नजिकको सम्बन्ध मार्फत मोदीले स्वतन्त्र पत्रकारितामाथि ‘आक्रमण’ गरिरहेको आरएसएफले उल्लेख गरेको छ। मोदीसँग नजिकको सम्बन्ध कायम राखेका अर्बपतिहरुको स्वामित्वमा रहेका सञ्चारमाध्यमहरुले उनका अति विभाजनकारी तथा अपमानजक भाषणहरुलाई स्थान दिने गरेको उल्लेख गरिएको छ।
मोदीको ‘नेशनलिस्ट–पपुलिस्ट आइडिओलोजी’ को बिस्तार सञ्चारमाध्यमको प्रयोग भएको आरएसएफले जनाएको छ। प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्ने विश्वको ठूलो गैरसरकारी संस्था आरएसएफले सार्वजनिक गरेको सन् २०२१ को विश्व प्रेस स्वतन्त्रता सूचांकमा भारत १८० देश मध्ये १४२ औँ स्थानमा छ।
‘प्रेस स्वतन्त्रताका शिकारी’ को सूचिमा मोदीसहित पाकिस्तानका प्रधानमन्त्री इमरान खान, साउदी अरेबियाका युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान, म्यानमारका सैनिक प्रमुख मिन आङ लाइङ, उत्तर कोरिया किम जोङ–उन पनि परेका छन्। सेन्सरसिप, पत्रकारमाथि हिंसा तथा जेल सजाय र कतिपय अवस्थामा पत्रकारको हत्या नै हुने गरेको र त्यसका लागि कुनै न कुनै रुपमा सत्ताको साथ हरने गरेको आरएसएफको आरोप छ।
सन् २०१६ पछि पहिलोपटक आरएसएफले ‘प्रेस स्वतन्त्रताका शिकारी’ सूचि सार्वजनिक गरेको हो। ३७ मध्ये १७ जना पहिलोपटक सो सूचिमा परेका हुन्। सूचिमा पर्नेहरुमध्ये १३ जना एसिया–प्यासिफिक क्षेत्रका छन्।
सन् २००१ मा पहिलोपटक सार्वजनिक गरिएदेखि अहिलेसम्म सिरियाका राष्ट्रपति बशर अल–असद, इरानका आयातुल्लाह अली खामेनी, रुसका भ्लादिमिर पुटिन, बेलारुसका एलेक्सान्डर लुकाशेन्कोसहित सात देशका नेताहरु लगातार सूचिमा पर्दै आएका छन्। सूचिमा पर्ने दुई महिला नेतामा बंगलादेशकी शेख हसिना र हङकङकी कारी लाम हुन्।