चिट्ठीपत्र: एक नाेस्टाल्जिया

निबन्ध

प्रभाष

एक अरसा हुआ अलफ़ाज़ाे काे
स्याही मे भीगा देखे.

कम्बख़त माेबाइल ने चिट्ठियाे का
वज़ूद ही ख़त्म कर दिया !

एक जमाना थियाे, चिट्ठीहरुकाे। परदेश गएका छाेराहरु परदेशबाट बाबु-आमालाई चिट्ठीहरु लेख्थे। कुनै चिट्ठी आँशुहरुले लेखिएका हुन्थे, भने कुनै चिट्ठी मुटु निचाेरेर निकालिएका भावनाहरुले लेखिएका हुन्थे। ती चिट्ठीहरु पढेर बाबु-आमाकाे पनि मन निचाेरिन्थ्याे। लाेग्नेहरु स्वास्नीहरुलाई चिट्ठी लेख्थे। चिट्ठीमै घरव्यवहारदेखि लिएर मायापिरतीसम्मका कुराहरु लेखि भ्याउँथे। ती चिट्टीहरु पढेर स्वास्नीहरु रुन्थे। अनि यताबाट स्वास्नीहरु अरुलाई उस्तै चिट्ठी लेखाउँथे अनि आफ्ना लाेग्नेहरुलाई पठाउँथे। अनि उता परदेशकाे चर्काे घाममा पनि लाेग्नेहरुकाे आँखाबाट आँशुहरुकाे बर्षात् हुन्थ्याे।

बहुतै अजीब थियाे, त्याे समय पनि। परदेशिएका छाेराहरु बाबु-आमालाई चिट्ठी लेख्थे, लाेग्नेहरु स्वास्नीलाई चिट्ठी लेख्थे। अनि प्रेमीहरु प्रेमिकाहरुलाई चिट्ठी लेख्थे। चिटिक्ककाे, बान्की परेकाे अक्षरहरुमा मसीसँग उनीहरु माया पनि मिसाएर आफ्ना प्रेमिकाहरुलाई चिट्ठी लेख्थे, आफ्ना भावनाहरु प्रकट गर्थे र उनीहरुकाे मन जित्थे। चिट्ठीमार्फत् नै एक अर्कासँग प्रेम गर्थे अनि बिहे गर्थे। आजकाे जस्ताे माेबाइल फाेन, फेसबुक, म्यासेन्जर, स्काइप, वाट्सएप र इमाेकाे सुविधा कहाँ थियाे र? तर पनि चिट्ठीमा लेखिएका भावनाहरु बर्षाैबर्ष रहन्थे, पढिन्थे। आज त भावनाहरुकाे पनि मेशिनीकरण भएकाे छ। एउटा औलाले बटन दबाउँदा जीवनभरिका यादहरु, कुराकानीहरु सबै डिलिट हुन्छन्। माेबाइलका अक्षरहरुमा त्याे सुगन्ध कहाँ पाइन्छ र, जुन सुगन्ध हातले लेखेका चिट्ठीका अक्षरहरुमा हुने गर्थ्याे। फेसबुकमा लेखेका स्टाटसहरु त भाेलिपल्ट नै बासी हुन्छन्, माेबाइलमा सेन्ड गरेका म्यासेजहरु भाेलिपल्ट पुराना भइसक्छन्, तर चिट्ठीहरुकाे मजबून बर्षाैबर्षसम्मै रहिरहन्थ्याे, पढिरहिन्थ्याे। चिट्ठीजस्ताे बात माेबाइलमा कहाँ? माेबाइलकाे अक्षरमा चिट्ठीमा जस्ताे फिलिङ्स कहाँ छ? प्राण कहाँ छ माेबाइलमा टाइप गरेका अक्षरहरुमा ?

अ, म चिट्ठीहरुकाे कुरा गर्दै थिए। मान्छेहरु एक अर्कालाई चिट्ठीहरु लेखेर चिट्ठीहरुबाटै साथी बन्थे। पक्का साथी। फेसबुकमा जस्ताे आज फ्रेण्ड बनेर भाेलि ब्लक गर्ने साथी हैन। यही चिट्ठीहरुमार्फत् कति प्रेमीहरुले प्रेम गरे हाेलान्, कति जाेडीहरुले यही चिट्ठीहरुकाे बाटाे हुँदै बिहे गरे हाेलान्। कति प्रेमीहरु यही चिट्ठीमै आफ्नाे मायालुसँग मिलन नहुने खबर पढेर धुरुधुरु राेए हाेलान्। धागाेले बाँधेर आएकाे चिट्ठी देख्दा आमा मुर्छा परी हाेलान्, बाबु टाेलाए हाेलान्, स्वास्नी राेइन् हाेली। छाेराछाेरी हतास भए हाेलान्। पल्टनबाट बाेलाएकाे चिट्टी पढ्दा लाहुरेहरुकाे मन न्यास्राे भयाे हाेला। छाेरी-चेलीले आफु नयाँ संसार बसाउन घर छाेडेर गएकाे कुरा चिट्ठीमा लेखिछाेडेर भागेपछि साे चिट्ठी पढ्दा बाबु-माइतीहरुकाे मन एकतमासकाे भयाे हाेला। जे हाेस्, चिट्ठीकाे पनि आफ्नै दुनियाँ थियाे, आफ्नै सँसार थियाे। मानिसहरुकाे सुख-दु:ख, हाँसाे आँशु समेटिएकाे हुन्थ्यो एउटा चिट्ठीमा। मानिसकाे मनभित्रका समस्त भावनाहरु अटाउँथ्याे एउटा चिट्टीकाे पानाभित्र।

तर अब त चिट्ठीहरुकाे युग समाप्त भएकाे छ। माेबाइल, फेसबुक, म्यासेन्जर, स्काइप, वाट्सएप, इमाेहरुले चिट्ठीहरुकाे अस्तित्व नै समाप्त पारिदिएका छन्। हिजाे मानिसहरु हुलाकीहरुकाे बाटाे हेरिराख्थे भने, आज हुलाकीहरु बेराेजगार भएका छन्। हुलाक कार्यालयहरु बन्द भएका छन् साथै बन्द भएका छन्, मानिसका मनका द्वारहरु (ढाेकाहरु)। माेबाइलमा घण्टाैं बाेले पनि एक मनले अर्काे मनलाई छुने मानिसका आवाजहरु बन्द भएका छन्। मनदेखि मनसम्म पुग्ने बाटाहरु बन्द भएकाे छ र माेबाइल, फेसबुक, म्यासेनजर, स्काइप, वाट्सऐप, इमाे जस्ता टाइमपास गर्ने माध्यमहरुकाे बाढी आएकाे छ। हार्दिकता कम, हिसाब बढी हुने गरेका छन् आजकल। प्रेम गर्नुभन्दा अघि क्यालकुलेशन गर्न थालिएका छन्। हुन त युरियाकाे याे अत्याधुनिक जमानामा अर्ग्यानिक खाेजेर हुँदैन। युरिया मलले हुर्केका पुस्ताहरुकाे जमाना हाे याे। जन्मिदै ट्याप समाएर जन्मेका र ट्याप खेलेर हुर्केका पुस्ताहरुले चिट्ठीपत्रहरुकाे ‘नाेस्टालजिया’ लाई महसुस गर्न नसक्नु स्वभाविकै हाे।

अब वो दिल ही नहीं रहा,
जाे जज़्बात काे समझ सके
अब तो चिठ्ठियां भी बेरंग हो गई है,
बेरंग ज़िंदगी की तरह !

मेराे जीवनमा पनि चिट्ठीहरुका राेचक किस्साहरु छन्। १० कक्षामा पढ्दा कक्षाका एकजना केटीलाई चिट्ठी लेखेर उसकाे साथीकाे हातबाट दिन खाेज्दा उनले नमानेकी किस्सा। त्यसपछि कक्षामा मलाई उनकाे अघि देखा पर्नु पनि कस्ताे लाज मर्नु भएकाे थियाे। उनी मेरै पछाडिकाे बेन्चमा बस्थी। फेरि अर्काेपटककाे काेशिश पनि असफल भएपछि मैले उनलाई इरिटेट गर्न छाेडिदिएकाे थिए।

अर्काे किस्सा त्यस्तै राेचक छ, मलाई कहिल्यै नदेखेकी केटीलाई मैले दुईपेज लामाे प्रेमपत्र लेखेर उनकाे घरकाे ठेगानामा प्रेषित गरेकाे थिए। अचानक बेनामे पत्र पाउँदा र त्यसकाे प्रेमपूर्ण मजबून पढ्दा उनलाई कस्ताे अनाैठाे अनुभूति भयाे हाेला, म अनुमान मात्र गर्न सक्छु। त्यसपछि हामी लामाे समय फाेनमा बाेल्याैं। याे त्यसबेलाकाे कुरा हाे जतिबेला भर्खर माेबाइल फाेन आएकाे थियाे। म त्यसबेला सस्ताे नाेकिया फाेन प्रयाेग गर्थे। जहाँ केवल फाेन आउने-जाने र म्यासेज गर्ने सुविधा थियाे। उनले एकदिन मसँग भेट्ने प्रस्ताव गरिन्। मैले कति बहाना बनाएर टार्न खाेजे, तर सकिन। अनि एकदिन उनलाई भेट्न बाध्य भए। हामी उनकाे बहिनीसँग विजयपुर, बुढासुब्बा मन्दिर गएका थियाैं। त्यसपछि पनि हाम्राे बाेलचाल भइरहयाे। पछि उसकाे बिहे भयाे, बच्चा पनि भयाे। (छाेरा भयाे जस्ताे लाग्छ)। त्याे कुरा सम्झन्दा आज पनि मलाई अचम्म लाग्छ। थाहा छैन मैले किन त्यसाे गरेकाे हाेला, किन एउटा चिन्नु न जान्नुकाे अपरिचित केटीलाई चिट्ठी लेखेर पठाएकाे हाेला। आज सम्झन्दा अनाैठाे लाग्छ सँगसँगै रमाइलाे पनि लाग्छ। अरु पनि प्रसङ्ग छन् चिट्ठीका, मेराे जीवनमा। त्यसबारे पछि सविस्तार लेखुला।

गनथन लामाे भएछ। म खासमा चिट्ठीहरुसंग जाेडिएका यादहरुकाे कुरा गर्दै थिए। आज मैले किन चिट्ठीहरुकाे कुरा गरेकाे हुँ भने आज विश्व हुलाक दिवस हाे। विश्व हुलाक दिवसकाे दिनमा मेरा अनुभूतिहरु तपाईंहरुसँग बाँडेकाे हुँ।

सबैलाई विश्व हुलाक दिवसकाे शुभकामना।

पूरानो लेख पुर्नप्रकाशन गरिएको हाे: सम्पादक

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID