
हँसल मेहता वेबसिरिजका दुनियाँकाे एक सर्वाधिक चर्चित नाम हुन्। उनले निर्दैशन गरेकाे वेबसिरिज ‘स्क्याम १९९२ – द हर्षद मेहता स्टाेरी’ ले ओटिटी प्लेटफर्ममा देश-विदेशका दर्शकहरुमाझ व्यापक लाेकप्रियता हासिल गर्याे। ‘स्क्याम’ जस्ताे अत्यन्त लाेकप्रिय र यादगार सिरिज बनाएपश्चात् हँसल मेहता पुन: आफ्नाे दाेस्राे सिरिज ‘स्कूप’ लाई लिएर आएका छन्। ‘स्क्याम’ ले जहाँ स्टक मार्केटकाे कुरुप सत्यलाई देखाएकाे थियाे, त्यही ‘स्कूप’ ले पत्रकारिता जगतकाे कुरुप सत्यलाई देखाएकाे छ। ‘स्क्याम’ सुचिता दलाल र देबाशिष बसुकाे पुस्तक ‘The Scam:- Who Won, Who Lost, Who Got Away’ माथि आधारित थियाे भने ‘स्कूप’ पनि जिग्ना वाेराकाे पुस्तक ‘Behind Bars in Byculla: My Days in Prison’ माथि आधारित छ।
जिग्ना वाेरा आफ्नाे समयकाे एक एकदमै सफल महिला पत्रकार थिइन्। उनी प्रतिष्ठित पत्रिका ‘एशियन एज’ मा काम गर्थिन्। याे सिरिज उनकाे जीवनमा घटेकाे एक खास घटना वा उनकाे जीवनकाे खास अँशमाथि आधारित छ जसले उनकाे जीवनमा उथलपुथल ल्याइदिएकाे थियाे। उनकाे जीवनलाई दुखद् ढँगले सधैकाे लागि बदलिदिएकाे थियाे।

जिग्ना वाेराकाे भूमिका निर्वाह गर्दै करिश्मा तन्ना
११ जुन २०११ मा जाेतिर्मय डे नामक एकजना इंभेस्टिगेटिभ/क्राइम पत्रकारकाे अज्ञात व्यक्तिहरुद्वारा दिनदहाडै गाेली हानि हत्या गरियाे। पुलिसले अंडरवर्ल्ड डन छाेटा राजन ग्याङकाे सातजना ग्याङस्टारकाे समुहले डेकाे हत्या गरेकाे र जिग्ना वाेरा पनि उक्त हत्यामा सँलग्न रहेकाे बतायाे। उनी डे काे हत्याकाे दुई प्रमुख आराेपीमध्ये एक थिइन्। बताइरहनु नपर्ला, अर्काे आराेपी ग्याङस्टार छाेटा राजन थिए।
पत्रकार जाेतिर्मय डेकाे हत्यामा सँलग्न भएकाे आराेप लगाउँदै पुलिसले २५ नाेवेम्बर २०११ मा उनलाई गिरफ्तार गर्याे र हिरासतमा लियाे। उनी त्यसबेला ‘एशियन एज’ पत्रिकाकाे डेपुटी ब्युराे चिफ थिइन् र ३७ बर्षकी थिइन्। उनीमाथि छाेटा राजनलाई पत्रकार डेकाे बारेमा महत्त्वपूर्ण जानकारी उपलब्ध गराएकाे, उसकाे घर र बाइककाे नम्बरसमेत उपलब्ध गराएकाे आराेप लगाइएकाे थियाे।
पुलिसले अदालतमा उनका विरुद्ध परिस्थितिजन्य प्रमाणहरु रहेकाे र थप अनुसन्धानका लागि भन्दै उनलाई हिरासतमा राख्न अनुमति माग्याे। अदालतले पनि उनलाई हिरासतमा राख्ने अनुमति दियाे। अदालतकाे अनुमति पाएपछि पुलिसले उनलाई हिरासतमा लिएर साेधपुछ थाल्याे। सधैभरि एउटै कुरा साेधेर पुलिसले उनलाई मानसिक यातना दियाे। वास्तवमा पुलिस कसैगरि याे घटनामा उनकाे सँलग्नतालाई स्थापित गर्न चाहन्थ्याे। जबर्जस्ती उनलाई छाेटा राजनसँग ‘लिंक्ड’ गर्न चाहन्थ्याे।
तर पुलिसले उनीबाट केही पनि सूचना फेला पार्न सकेन जसले उनलाई दाेषी साबित गराेस् तर पनि पुलिसले उनकाे हिरासतकाे अवधिलाई लम्बाइ नै रह्याे। पुलिसकाे उही प्रश्नकाे जवाफ दिदाँ-दिदाँ उनी थाकिन् तर पुलिस उनलाई प्रश्न गरेर कहिल्यै थाकेन। अन्ततोगत्वा मुम्बई पुलिसले फेब्रुअरी २०१२ मा उनीविरुद्ध MCOCA (Maharashtra Control Of Organised Crime Act) काे कडा प्रावधान अन्तर्गत चार्जशिट (आराेपपत्र) फाइल गर्याे। त्यसपछि, उनलाई जेलचलान गरियाे।

जागृतिकाे भूमिकामा करिश्मा तन्ना
जेलमा उनले नरकीय जीवन बिताउनुपर्याे। त्यहाँभित्रका राउडीहरुले उनीमाथि बुल्लिङ गरे। उनलाई नुहाउन नदिएर, उनकाे साबुन गुहुमा फ्याँकिदिएर, उनका सामानहरु खाेसिदिएर, उनकाे खाना खाेसिदिएर यी राउडीहरुले उनकाे जीना हराम गरिदिए।
अर्कोतर्फ, उनकाे केस पनि लम्बिएकाे लम्बिएकै गर्याे। हरेकपटक उनकाे जमानतकाे याचिकालाई अस्वीकार गरियाे। उनीविरुद्ध ठाेस प्रमाण नभए पनि कहिले के त कहिले के बहानामा फैसलालाई टालियाे। फैसला त टाढाकाे कुरा, उनलाई जमानत समेत दिइएन। उनीमाथि नै आश्रित रहेकाे उनकाे मध्यमवर्गीय परिवारलाई उनकाे काेर्ट केसकाे खर्च धान्न हम्मे-हम्मे पर्याे। वकिललाई फिस दिनका लागि उनकाे मामाले आफ्नाे पसल नै बेच्नुपर्याे।
वकिलहरुकाे अनेक प्रयत्नपश्चात् आठ महिनाभन्दा बढी हिरासतमा राखेपछि अन्ततः २७ जुलाई २०१२ मा अदालतले उनलाई जमानत दियाे। तर पनि उनीविरुद्ध केस भने चलि नै रह्याे। पुलिसबाट पार नलागेपछि सन् २०१६ मा याे केस सिबिआइलाई ट्रान्सफर गरियाे। केस चलेकाे सात बर्षपछि उनलाई अदालतले निर्दाेष घाेषित गरि ससम्मान रिहा गर्याे।
‘Behind The Bars In Byculla: My Days in Prison’ त्यसबेला उनीमाथि बितेकाे, उनी पुलिसकाे हिरासतमा हुदाँ, जेलमा बस्दा र काेर्टकाे हेयरिङहरुमा उपस्थित हुदाँ उनले भाेग्नुपरेकाे यातनाहरुका उनकै शब्दहरुमा लिपिबद्ध गरिएकाे अभिलेख हाे, जुन पुस्तककाे रुपमा सन् २०१९ मा प्रकाशित भएकाे थियाे।
अब याे सिरिज ‘स्कूप’ काे कुरा गराैं। यसले यही सब कुरालाई, त्यसबेलाकाे जिग्ना वाेराकाे ‘आपबिती’ लाई उनकै ‘point of view’ बाट देखाउँछ। कथाकाे साराँश त माथि नै उल्लेख गरिसकियाे। अब यसकाे कथाभित्र अन्तर्निहित कुराहरुकाे बारेमा चर्चा गराैं।
‘स्कूप’ ले गरेकाे सबैभन्दा ठूलाे साहस भनेकाे यसले पुलिस डिपार्टमेन्टलाई ऐना देखाउँछ, पहिलो कुरा। यसले पुलिस डिपार्टमेन्टकाे कार्यशैली, यसकाे ताैरतरिकालाई देखाउँछ। पुलिसले कसरी नियतवश कुनै निर्दाेष व्यक्तिलाई फँसाउदाे रहेछ, याे सत्यलाई देखाउँछ।
‘स्कूप’ मा पुलिसहरुले जसरी जागृति पाठक (जिग्ना वाेरामाथि आधारित चरित्र) लाई जबर्जस्ती अंडरवर्ल्डसँग मिलेकाे र एक इमानदार पत्रकारकाे हत्या गरेकाे प्रमाणित गर्नकाे लागि न्वरानदेखिकाे बल लगाउँछ, झुटा प्रमाणहरु पेश गर्छ, उनकाे सामान्य कुराकानीहरुलाई पनि बटारेर अंडरवर्ल्डसँग जाेड्न खाेज्छ र MCOCA जस्ताे सँगठित अपराधका अपराधीहरुमाथि लगाइने अभियाेगहरु लगाएर जेलमा सडाउँछ, त्यसले स्पष्टसँग देखाउँछ कि यदि पुलिसले चाहने हाे भने आफ्नाे अख्तियार र कानुनकाे दुरुपयोग गरेर निर्दाेष व्यक्तिहरुलाई सजिलैसँग फँसाउन सक्दाे रहेछ अनि फँसाउदाे पनि रहेछ। अर्थात् चाहने हाे भने कसैलाई पनि कुनै पनि अभियाेगमा फँसाउनु पुलिसकाे लागि बायाँ हातकाे खेल रहेछ।
‘पुलिसले खेल्ने यस्ताे खेल (वा खेलवाड) आमजनता, कानुनव्यवस्था र न्यायकाे लागि कति खतरनाक हुन्छ, यसले कसरी व्यक्तिकाे सिङ्गाे जीवनलाई उजाड्न सक्छ, कसरी यसले व्यक्तिलाई मात्र हाेइन, उनकाे परिवारलाई समेत उजाड्न सक्छ र उनीहरुलाई यस्ताे चाेट दिन्छ, जुन चाेट बाँचुन्जेल कहिल्यै निकाे हुँदैन। जसकाे कुनै क्षतिपूर्ति हुँदैन, जुन क्षतिलाई कुनै पनि कुराले पुरताल गर्न सक्दैन’, याे सत्यलाई ‘स्कूप’ ले देखाउँछ र महसुस गराउँछ।
पुलिसले आफ्नाे स्वार्थपूर्तिकाे लागि के सम्म गर्दैन? पत्रकारहरुलाई spoonfeed गरेर आफ्नाे काम निकाल्नेदेखि लिएर पछाडिबाट उनीहरुकाे पिठ्युँमा छुरा धस्नेसम्मकाे काम गर्छ पुलिसले। पत्रकारहरुलाई आफ्नाे नजिक ल्याएर आफ्नाे स्वार्थअनुरुप उनीहरुलाई ‘युज’ गर्ने र उनीहरूकाे उपयाेगिता सकेपछि उनीहरुलाई चियामा परेकाे झीँगा सरह निकालेर फालिदिने गर्छ पुलिस जसरी यस सिरिजमा जेसिपी हर्षवर्धन श्राेफ पत्रकार जागृति पाठकलाई गर्छन्।
उनी जागृतिलाई आफ्नै क्याबिनमा बाेलाएर न्युजहरु दिने गर्छन्, उनकाे न्युजहरुमाथि कंफर्मेशन दिने गर्छन्। त्यतिमात्र हैन, उनलाई ‘सेक्सुअल फेबर’ का लागि इशारा पनि दिने गर्छन् (जसकाे जागृति प्रश्न/प्रतिवाद गर्छिन्)। जागृति पनि स्कूपकाे लागि उनको प्रभावमा यतिसाह्राे मग्न हुन्छिन् कि आफु उनकाे ‘माउथपिस’ बनिसकेकाे पत्तै पाउँदिनन्। जतिबेला उनकाे आँखा खुल्छ, त्यतिबेला अत्यन्त ढिलाे भइसकेकाे हुन्छ। जेसिपी श्राेफकाे नेृतत्वमा पुलिसले उनलाई गिरफ्तार गरि MACOCA अन्तर्गत हत्याकाे केस ठाेकेर जेलमा सडाइसकेकाे हुन्छ।
अथवा भनाैं, श्राेफकाे नेृतत्वमा पुलिसले उनलाई गिरफ्तार गरि कारवाही चलाएपछि मात्रै उनकाे आँखा खुल्छ। यसअघि विभिन्न तरिकाले जेसिपी श्राेफले जाेडिदिएकाे कन्ट्याक्ट् र उनकाे पावर इन्जाेय गरिरहेकी जागृति तब मात्र हाेशमा आउँछिन्, जब त्यही जेसिपी श्राेफले उनलाई पक्राऊ गरि जेल हाल्छ। जेसिपीकाे फेवर लिदाँकाे बदलामा उनले ठूलाे मूल्य चुकाउनुपर्छ।
जेसिपीसँगकाे निकटताकाे भयानक परिणाम भाेगेपछि जागृति जाग्छिन्, त्यसाे गरेकाेमा पश्चताप गर्छिन्। त्यसैले त जेलमा साध्वी माताले उनलाई आरामदायी ओच्छ्यानकाे व्यवस्था गरिदिदाँ उनी माताले दिएकी सुविधा लिन मान्दिनन् किनभने उनलाई माताले दिएकी त्याे सुविधाकाे पछाडि पनि उनकाे स्वार्थ हुन सक्छ जसकाे पछि गएर उनले यसरी नै ठूलाे मूल्य चुकाउनुपर्ने हुन सक्छ जसरी जेसिपी श्राेफकाे फेवरकाे मूल्य उनले अहिले जेलमा बसेर चुकाइरहेकी छिन् भन्ने लाग्छ। जेसिपी श्राेफले दिएकाे धाेकाले उनलाई यही शिक्षा दिन्छ। ‘अगुल्टोले हानेकाे कुकुर बिजुली चम्किन्दा तर्सिन्छ’ भनेझै जेसिपी श्राेफकाे फेवर लिएर पिठ्युँपछाडि उनकाे छुराकाे प्रहारलाई झेलेकी जागृति कतै साध्वी माताले पनि उनलाई फेवर गरेर त्यसरी नै पछाडिबाट छुरा प्रहार गर्ने पाे हुन् कि? भनेर सतर्क हुन्छिन्।
उषा माताले उनलाई ‘पागल नबन। तिमी साध्वी माताकाे छत्रछायाँमा छाैं। तिमीमाथि साध्वी माताकाे हात छ। साध्वी तिमीलाई प्राेटेक्ट गरिरहेकी छे’ भनेर भन्दा उनी स्पष्ट शब्दहरुमा भन्छिन्, ‘म पनि पहिले यस्तै नै साेच्थे। श्राेफ, देवरथ (पुलिस अफिसरहरु) काे ‘पावर डाइनामिक्स’ म जान्दछु। (उनीहरु पनि) ठ्याक्कै यस्तै थिए। यसरी नै मलाई फेवर गर्थे। मलाई लाग्थ्यो म दुवैकाे इगाेलाई भिडाएर आफ्नाे काम निकाल्न सक्छु। म श्राेफबाट एक्सक्लुसिभ स्टाेरीहरु निकाल्थे। म उसकाे कनेक्शनकाे प्रयाेग गरेर पावरफुल व्यक्तिहरुलाई भेट्न थाले र आफैलाई पनि पावरफुल ठान्न थाले।…जब तपाईंलाई लाग्छ, तपाईं जे पनि गर्न सक्नुहुन्छ, न्यारेटिभ तपाईंको हातमा छ, त्यही तपाईं गलत हुनुहुन्छ। वास्तविकता यसकाे ठीक उल्टाे हुन्छ।…तपाईंको हातमा केही हुँदैन।’
जागृति पाठकलाई जसरी पुलिस जागृतिकी जुनियर महिला पत्रकार दीपालाई पनि spoonfeed गरिरहेकाे हुन्छ।
यतिमात्र हैन, ‘स्कूप’ ले पुलिस र अंडरवर्ल्डका तारहरु कसरी आपसमा जाेडिएका छन्, यसकाे पनि खुलासा गर्छ। छाेटा राजन हरेकपटक पुलिसकाे इशारामा नाँचेकाे, मुम्बई पुलिसले दाउदलाई प्राेटेक्ट गरेकाे, यही कुराकाे खुलासा गर्न खाेज्दा पत्रकार जेडे मारिएकाे अनि जागृति (जिग्ना वाेरा) लाई ताराे बनाएर पुलिसले अंडरवर्ल्डका ग्याङस्टारहरुलाई बचाउन खाेजेकाे खुलासा ‘स्कूप’ ले गर्छ।
दाेस्राे कुरा, यसले अदालतलाई पनि ऐना देखाउँछ। अदालत अर्थात् न्यायपालिकालाई ऐना देखाउँछ। न्यायपालिकाभित्र कार्यरत वकिल र न्यायधीशहरुलाई ऐना देखाउँछ। जुन न्यायपालिका सबूत-प्रमाणकाे आधारमा चल्नुपर्ने हाे, त्यही न्यायपालिकाले कुनै ठाेस सबूत-प्रमाण नहुदाँ पनि जिग्ना वाेरालाई आठ महिनासम्म हिरासतमा राख्ने अनुमति दिन्छ। पुलिससँग केही प्रमाण हुँदैन, पुलिसले केही ‘लिड’ पनि भेट्दैन तर पनि पुलिस अदालतलाई ढाँटिरहन्छ, अदालतलाई गुमराहमा राखिरहन्छ र अनुसन्धानकाे अवधि बढाइरहन्छ। अदालत पनि पुलिसकाे झाँसामा आएर गुमराह भइरहन्छ। अदालत पुलिसकाे बद्नियत बुझ्न वा थाहा पाउनबाट चुक्छ। फलस्वरूप अदालतले समयमै जिग्ना वाेराकाे फैसला गरिदिदैन। अदालतले समयमै फैसला नदिनु अन्याय गर्नु बराबर हाे। अदालतले ढिलाे न्याय दिनु भनेकाे न्याय नदिनु बराबर हाे। यसप्रकार, निर्दाेष हुदाँहुँदै पनि जिग्ना वाेराले आठ महिना जेलभित्र सड्नुपर्छ। तमाम दुर्व्यवहार र मानसिक यातना झेल्नुपर्छ। उनकाे हालत नै नाजुक बन्न पुग्छ। एक निर्दाेषलाई अदालतकै साथ र सहयाेग लिएर सुनियाेजित ढँगले फँसाइ त्यत्राे ह्यारेसमेन्ट गरिन्छ। यसले न्यायपालिकाकाे अक्षमतालाई देखाउँछ।
न्यायपालिकाकाे अक्षमताकाे कारण जिग्ना वाेरा जस्ताे निर्दाेष व्यक्तिले त्यत्राे लामाे समय जेलभित्र सड्नुपर्याे। असँख्याैं दुर्व्यवहार र मानसिक यातना सहेर उनी नाजुक अवस्थामा पुगिन्। उनकाे जीवन, उनकाे करिअर, इज्जत-प्रतिष्ठा सब बर्बाद भयाे। उनी त एउटा उदाहरण मात्र हुन्। थाहा छैन उनीजस्ता कति निर्दाेष व्यक्तिहरु अदालतहरुकाे अक्षमताका कारण, अदालतहरुले न्यायसम्पादनमा ढिलासुस्ती गरिदिएका कारण निर्दाेष भएर पनि जेलहरुभित्र सडिरहेका छन् र तमाम यातना भाेगिरहेका छन्, जसले अहिलेसम्म न्याय पाएका छैनन्।
यस मामिलामा बरु जिग्ना वाेरालाई भाग्यमानी मान्नुपर्छ किनभने उनी मिडियाकाे ग्ल्यामर वर्ल्डबाट आएकी थिइन्। उनलाई कभरेज गर्न मिडियाकाे भीड उर्लिएकाे थियाे। देश-विदेशमा उनकाे केसकाे चर्चा थियाे। उनलाई साथ दिने मानिसहरु थुप्रै थिए। उनकाे पक्षमा उनका पत्रकार मित्रहरु, उनका परिवारका सदस्यहरु र वकिलहरु थिए। याे लडाइँमा उनी एक्ली थिइनन्। तर जाे सर्वसाधारण हुन्, जसकाे समाजमा/मिडियामा कुनै नाम र पहिचान छैन र जाे निर्दाेष हुनका बावजूद जेलभित्र सडिरहेका छन् र असँख्याैं दुर्व्यवहार र यातना सहिरहेका छन्, उनीहरुकाे चर्चा कतै पनि गरिन्दैन। कसैले पनि उनीहरुकाे चर्चा गर्दैन। उनीहरुकाे पक्षमा आवाज उठाउँदैन। उनीहरु छायाँमै परिरहन्छन्।
पुलिसले नियाेजित ढँगले निर्दाेष व्यक्तिलाई फँसाउने अनि अनुसन्धानकाे नाममा अदालतलाई झुल्याइरहने, अदालत पनि पुलिसकाे झाँसामा आएर झुलिरहने, आफ्नाे विवेककाे प्रयाेग गर्न नसक्ने, फलतः न्याय पनि झुलिरहने। जानेर-नजानेर याे एउटा चक्र न्यायप्रणालीमा स्थापित भएकाे छ र थाहा छैन कति समयदेखि अविरल रुपमा चलिरहेकाे छ। समयमै फैसला नगरिदिदाँ कति व्यक्तिहरुकाे जीवन र भविष्य पनि झुलिरहेकाे छ। पुलिस र अदालतकाे मिलाेमताेमा याे झुल्ने र झुलाउने खेल थाहा छैन कति समयदेखि चलिरहेकाे छ, यसले धेरै मानिसकाे जीवनलाई बर्बाद पारिदिएकाे छ। न्यायप्रणालीमा न्यायकाे नाममा चलिरहेकाे अन्यायकाे याे चक्र अब राेकिनुपर्छ। न्यायपालिकाकाे न्यायसम्पादनमा हुने याे ढिलासुस्तीलाई सरकार, न्यायपालिका लगायत सम्बन्धित सबै पक्षले सम्बाेधन गर्नु अत्यावश्यक छ। यसमा अब ढिलाई गर्नुहुँदैन।
तेस्राे कुरा, यसले मिडिया क्षेत्र वा पत्रकारितालाई पनि ऐना देखाउँछ। पत्रकारिता आफैमा समाज, राज्य र मानिसहरुलाई ऐना देखाउने पेशा हाे। उनीहरुलाई सही सुचना सम्प्रेषण गरेर, उनीहरुलाई सत्य-तथ्य देखाएर उनीहरुकाे आँखा खाेल्ने, उनीहरुलाई सचेत र जागरुक गराउने जिम्मेवारी बाेकेकाे क्षेत्र हाे। त्यसैले मिडिया/पत्रकारितालाई राज्यकाे चाैथाैं अँग भनिन्छ। अर्थात्, त्यत्राे महत्वपूर्ण र सम्मानजनक पेशा मानिन्छ मिडिया/पत्रकारितालाई। मिडिया/पत्रकारितालाई पेशामात्र हैन, सामाजिक जिम्मेवारी र उत्तरदायित्वकाे रुपमा परिभाषित गरिन्छ।
तर के हाम्रा मिडिया/पत्रकारहरुले याे गरिमालाई कायम राखेका छन् त? के हाम्रा मिडिया हाउसहरु मिडियाकाे मर्मअनुसार चलेका छन् त? के हाम्रा पत्रकारहरु पत्रकारिताकाे मर्मअनुसार चलेका छन् त? आज हामीकहाँ कति जना मिडियाहाउस र पत्रकारहरु छन् जाे मिडिया/पत्रकारिताकाे धर्म र मर्म अनुसार चलिरहेका छन्?
दिनरात ‘स्कूप’ काे पछाडि कुद्ने, स्कूप हात पार्न अनेक तिकडम गर्ने, सबभन्दा पहिले र सबभन्दा फास्ट न्युज ब्रेक गर्ने हाेडबाजीमा वास्तविक पत्रकारिताकाे मर्म त्यतै-कतै दफन भएकाे छ। बाहिर उभरेर आएकाे छ त केवल ‘स्कूप’ र ‘ब्रेकिङ न्युज’। स्कूप र ब्रेकिङ न्युजकाे चक्करमा एकदमै फास्ट कार्यसम्पादन/समाचार सम्प्रेषण गर्दा पत्रकारिताकाे मर्मले भने त्यही दम ताेडिरहेकाे छ। सत्य धेरै पछाडि छुटिरहेकाे छ।
‘स्कूप’ ले निष्ठाकाे पत्रकारिता गर्ने र व्यापारकाे पत्रकारिता गर्ने, यस क्षेत्रकाे दुई विपरीत खेमा बीचकाे रस्साकस्सीलाई देखाउँछ। इमरान सिद्दिक़ी जहाँ निष्ठाकाे पत्रकारिता गर्ने खेमाकाे प्रतिनिधित्व गर्छ भने दीपा, पुष्कर र यहाँसम्मकी स्वयं जागृति पाठक पनि केही हदसम्म व्यापारकाे पत्रकारिता गर्ने खेमाकाे प्रतिनिधित्व गर्छन्।
निष्ठा र इमानकाे पत्रकारिता गर्न खाेज्ने, पत्रकारिताकाे मर्म अनुसार चल्न खाेज्ने, सत्यलाई कुनै मिर्चमसाला नलगाइकन देखाउन खाेज्ने खेमा सानाे छ। इमरान सिद्दिक़ीलाई नै हेराैं न। उनकाे मिडिया हाउसमा निष्ठाकाे पत्रकारिता गर्न खाेज्ने केवल ऊ एकजना छ। एउटा सिङ्गाे मिडिया हाउसमा निष्ठाकाे पत्रकारिता गर्ने ऊ एक्लाे छ। बाँकी सबै पत्रकार र प्रकाशक (सँस्थाकाे मालिक) समेत पत्रकारिताकाे आडमा व्यापार गर्न चाहन्छन्।
उनीहरु सत्य (समाचार) लाई देखाउन कम रुचि लिन्छन्, सत्यलाई manipulate गरेर सनसनी उत्पन्न गर्न बढी रुचि लिन्छन्। उनीहरुकाे जाेड जनतालाई सुसूचित गर्ने तर्फ हैन, टिआरपी बढाउनेतर्फ हुन्छ। उनीहरु जनतासामु सत्यलाई जस्ताकाे तस्तै पस्किने राज्यकाे चाैथाे अँगकाे जिम्मेवारी निर्वाह गर्न चाहन्दैनन्। त्यसको साटाे व्यापार गर्न चाहन्छन्, समाचारकाे, सनसनीकाे, स्कूपकाे, ब्रेकिङ न्युजकाे व्यापार। मानिसहरुलाई मानव वा नागरिकसरह हाेइन, ग्राहक वा उपभोक्तासरह ट्रिट गर्न चाहन्छन्। यस खेमाका युवा पत्रकारहरु सत्य-तथ्य देखाएर जनताकाे आँखा खाेल्न र जनतालाई ऐना देखाउन, जनतालाई सुसूचित र जागृत गर्न हाेइन, स्कूप र ब्रेकिङ न्युज बेचेर आफ्नाे करिअर चम्काउन चाहन्छन्। अहिले मिडिया/पत्रकारिता क्षेत्रमा यही जमातकाे उपस्थिति र पकड बलियाे छ।
तर सँख्यामा थाेरै भए पनि सत्य, निष्ठा र इमानकाे पत्रकारिता गर्नेहरु पनि छँदैछन्। यही integrated पत्रकारहरुले राज्यसत्ताकाे अख्तियारप्राप्त सँस्था र प्राधिकारहरुकाे मनपरितन्त्रलाई चुनाैती दिइरहेका छन्। त्यसमाथि नियन्त्रण र सन्तुलन कायम गरिरहेका छन्। मिडिया/पत्रकारितालाई तल्लाे तहमा गिर्नबाट बचाइरहेका छन्। ‘स्कूप’ ले मिडिया/पत्रकारिता जगतकाे यही सत्यलाई देखाउँछ र याे दुई खेमा (इमानदार पत्रकारिता गर्न चाहने र सनसनीखेज पत्रकारिता गर्न चाहने) बीचकाे जबर्दस्त अन्तर्विराेध र द्वन्द्वलाई देखाउँछ। अर्काे शब्दमा, मिडियाभित्रकाे integrity र scoop बीचकाे अन्तर्विराेध र द्वन्द्वलाई देखाउँछ।
यसका अतिरिक्त मिडिया/पत्रकारहरुकाे कार्यशैली, उनीहरुकाे काम गर्ने [समाचार सँकलन र प्रशाेधन (verify) गर्ने] ताैरतरिका, ब्रेकिङ न्युज र स्कूप हात पार्नका लागि उनीहरुले गर्ने तिकडम, स्कूप बाजी मार्न उनीहरुबीच चल्ने हाेडबाजी, मिडिया क्षेत्रमा कार्यरत पत्रकारहरुबीच चल्ने rivalry, मिडिया हाउसकाे प्रकाशकले सम्पादकमाथि गर्ने हस्तक्षेप र नियन्त्रणकाे प्रयास, निष्ठाकाे पत्रकारिता गर्दा पत्रकार/सम्पादकले सामना गर्नुपर्ने कठिनाइहरु, क्राइम रिपोर्टिङका जाेखिमहरु, प्रहरी, ग्याङस्टार र पत्रकारकाे त्रिकाेणात्मक सम्बन्धकाे जञ्जाल इत्यादि त छँदैछ।
स्कूप’ ले के सन्देश प्रष्टसँग दिन्छ भने व्यापारकाे लागि, स्कूप र ब्रेकिङ न्युजकाे लागि गरिने पत्रकारिता अनुचित र गलत हाे। निष्ठा र इमानकाे पत्रकारिता, सत्य बाेल्ने, सत्य लेख्ने र सत्य सम्प्रेषण गर्ने पत्रकारिता नै समाजकाे आवश्यकता हाे। पत्रकारिता व्यापारकाे लागि गरिनुहुन्न, पत्रकारिता त सत्यलाई बताउन र सत्यलाई बचाउनकाे लागि गरिनुपर्छ। पत्रकारितामा integrity हुनुपर्छ। जब पत्रकारितामाथि व्यापारिक स्वार्थ हावी हुँदै जान्छ, तब त्यसले आफ्नाे स्वतन्त्र र निष्पक्ष चरित्र गुमाउँदै जान्छ। पत्रकारहरुले निष्ठाकाे लागि, पत्रकारिताका मूल्यहरुका लागि लड्नुपर्छ, त्यसमा चट्टानी अडान राख्नुपर्छ र पत्रकारितालाई हरहालमा बचाउनुपर्छ। ‘स्कूप’ काे एक ठाउँमा इमरान सिद्दिक़ी आफ्नाे तर्कलाई बल प्रदान गर्न प्रकाशकलाई जोनाथन फ्रेजरकाे एउटा गहकिलो quotation सुनाउँछन्,
‘यदि कसैले बाहिर पानी परिरहेको छ भन्छ र अर्काेले बाहिर घाम लागिरहेकाे छ भन्छ भने पत्रकारकाे काम दुवैकाे पक्ष बताउँदै बस्नु हाेइन। बरु आफैले उठेर झ्याल खाेलेर बाहिर हेर्नु र के सत्य रहेछ, त्याे बताउनु हाे।’
हाम्रा मिडिया हाउस र पत्रकारहरु पनि लामाे समयदेखि दुवै पक्षकाे भर्सनलाई राखेर समाचार सम्प्रेषण गर्दै आइरहेका छन्, तर आफै उठेर झ्याल खाेलेर बाहिर (सत्यलाई) हेर्ने लेठाे गरिरहेका छैनन्। ‘स्कूप’ ले हाम्राे मिडिया/पत्रकारिता क्षेत्रलाई पनि अब दुवै पक्षबीच याे फगत सन्तुलन कायम गर्ने कसरतलाई छाेडेर, आफै उठेर झ्याल खाेलेर हेर्ने सन्देश दिएकाे छ।
चाैथाे कुरा, मिडिया हाउसभित्रकाे rivalry लाई देखाउने क्रममा ‘स्कूप’ ले पुरुषहरुमा विधमान misogyny र male ego लाई पनि प्रष्टसँग अभिरेखन गरेकाे छ। पाँच बर्षमा सातवटा प्रमाेशन पाएर आफ्नाे पत्रिकाकाे डेपुटी ब्युराे चिफ बनेकी जागृति पाठककाे सफलतालाई उनकै अफिसकाे पुरुष सहकर्मीले पचाउन सकिरहेकाे हुँदैन। उसलाई लाग्छ कि जागृति आफ्नाे अदा र शरीर-याैवनकाे अनुचित प्रयाेग गरि आफ्नाे बाेसलाई खुशी पारेर याे सब तरक्की हासिल गरिरहेकाे छ। परिस्थितिलाई आफ्नाे फेवरमा पारिरहेको छ। ऊ आफ्नाे पत्रिकाकाे सम्पादक इमरान सिद्दिक़ीलाई जागृति पाठकसँग अन्तरङ सम्बन्ध राखेकाेे आराेप पनि लगाउँछ र षड्यन्त्रपूर्वक पुलिसद्वारा ‘फ्रेम’ गरिएकी जागृति पाठककाे पक्षमा इमरानले चालेका कदमहरुलाई समर्थन गर्दैन।
खासमा कुरा के हाे भने पितृसत्ताले ‘महिलाहरु पनि क्षमतावान् हुन्छन्, महिलाहरु पनि सक्षम हुन्छन्, उनीहरु पनि आफ्नै सामर्थ्यकाे बलबुतामा अघि बढ्न सक्छन्, सफलताकाे झण्डा गाड्न सक्छन्, उपलब्धिहरु हासिल गर्न सक्छन्’ भन्ने कुरा मान्दै मान्दैन। त्यसैले, महिलाहरु पुरुषहरुभन्दा अघि बढेकाे, पुरुषहरुभन्दा माथि पुगेकाे वा पुरुषहरुले भन्दा बढी प्रगति गरेकाे पितृसत्तालाई अस्वीकार्य हुन्छ। ‘पुरुषहरुभन्दा तल्लाे दर्जामा रहेका महिलाहरु कसरी पुरुषहरुकाे बराबरीमा उभिन सक्छन्?’ यही कुरा नै अस्वीकार्य हुन्छ पितृसत्तालाई। अझ पुरुषभन्दा अघि बढेकाे वा पुरुषभन्दा माथि पुगेकाे कुरा त झन् कसरी स्वीकार्य हाेला र?
यस्तोमा जब कुनै महिला पुरुषभन्दा माथि पुग्छिन्, तब पुरुषहरुकाे माथा ठन्किहाल्छ, उनीहरु भित्रकाे ‘मेल इगाे’ हर्ट भइहाल्छ। ‘म यत्राे मेहनत गर्दा पनि त्याे पाेष्टमा पुग्न सकिन। उनी भने त्यति सजिलै कसरी त्याे पाेष्टमा पुगिन्?’ भन्दै प्रश्न गर्न थालिहाल्छ। अनि, प्रत्युत्तरमा आफ्नाे मनमा उनीप्रति पूर्वाग्रह राख्न थालिहाल्छ। ‘आफ्नाे रुप, अदा र शरीर-याैवनकाे प्रयाेग/दुरुपयोग गरेर उनले प्रगति गरेकी हुन्’ भन्ने भाष्य अघि सारिहाल्छ। यही उनीप्रति (महिलाप्रति) इर्ष्यालु पुरुषहरुले राख्ने पूर्वाग्रह हाे। ‘महिलाहरु पुरुष जतिकाे क्षमतावान् र दक्ष हुँदै हुँदैनन्’ भन्ने रुढ स्त्रीद्धेषी मानसिकताका कारण कुनै महिलाले प्रगति गरे उनीहरु त्यसमा महिलाकाे मेहनत, प्रतिभा र क्षमता हाेइन, बरु ‘दाला में काला’ देख्न थाल्छन्। महिलाहरुकाे यस्ताे सफलतालाई प्राकृतिक नठानेर कृत्रिम ठान्ने, उनीहरुले प्रतिभा वा मेहनतकाे बलमा त्याे सफलतालाई हासिल गरेकाे नठानेर आफ्नाे बाेसलाई सेड्युस गरेर, बाेससँग ‘कम्प्राेमाइज’ गरेर हासिल गरेकाे ठान्ने पुरुष मानसिकता, पितृसत्ता/पुरुषहरुकाे याे कुरुप सत्यलाई ‘स्कूप’ ले मज्जाले दर्शाएकाे छ। दर्शकहरुलाई घतलाग्ने गरि याे कुरा महसुस गराएकाे छ। यसप्रकार, महिलाहरुकाे सफलतालाई मर्दवादी-पितृसत्तात्मक समाजमा सदैव संदिग्ध नजरले हेरिन्छ। याे मर्दवादी समाजकाे जुनसुकै क्षेत्रकाे सत्य हाे।
किनभने, जागृति पाठकजस्ता फास्ट-फरवर्ड, ट्यालेन्टेट, टाठा-बाठा, आधुनिक सोच राख्ने र सपना देख्ने शिक्षित-बुद्धिमान र क्षमतावान महिलाहरु पितृसत्ता र समाजलाई सदैव खटकिरहन्छन्। किन त? किनभने, यस्ता महिलाहरुले पितृसत्ताकाे सीमालाई ताेड्छन्, पितृसत्ताकाे मर्यादा र पदसाेपानलाई ताेड्छन् र पुरुषहरुकाे समानान्तर वा पुरुषहरुभन्दा पनि माथि आफ्नाे आसन जमाउन पुग्छन्। पुरुषहरुलाई पनि शासन गर्न थाल्छन्, आदेश दिन थाल्छन्। यस्ता महिलाहरुकाे सँख्या समाजमा बढेमा पितृसत्ताकाे सारा इकाेसिस्टम नै ध्वस्त हुने खतरा हुन्छ।
त्यसैले, पितृसत्ताले यस्ता महिलाहरुलाई निषेध गर्छ। काेही महिला यदि इंडेपेंडेन्ट हुँदै गए उनीमाथि लान्छना लगाउन र उनलाई निन्दित गर्न थाल्छ, उनकाे मनाेबललाई ताेडेर उनलाई थान्काे लगाउन खाेज्छ। पितृसत्ताले महिलाहरु महत्वाकांक्षी हुनुलाई अपराधसरह ठान्छ र साेही अनुसार व्यवहार गर्छ। अनि महिलामाथि जब आक्षेप वा आराेप लगाइन्छ, तब सबैभन्दा पहिले उनकाे चरित्रमाथि नै प्रहार गरिन्छ, उनकाे चरित्रमाथि नै लान्छना लगाइन्छ, उनकाे क्यारेक्टरमाथि नै सर्वप्रथम औंला उठाइन्छ। याे पितृसत्ताकाे चरित्र हाे। आदत हाे। ‘स्कूप’ मा यही पितृसत्ताकाे प्रतिनिधित्व गर्ने पात्र आफुले जागृतिप्रति मिसाेजिनी राख्दा-राख्दा कतिबेला त्याे मिसाेजिनी आफ्नाे पत्नीतर्फ साेझिन पुग्छ, उनलाई पत्तै हुँदैन। जागृतिले आफ्नाे याैवनकाे साैदा गरेर पाँच बर्षमा सातवटा प्रमाेशन उछिट्याएकाे धारणा लामाे समय मनभित्र बनाउँदा-बनाउँदा ऊ आफ्नी पत्नीले पनि त्यसैगरि प्रमाेशन हासिल गरेकी धारणा बनाउन पुग्छ। पत्नीलाई ‘तिमीले पनि आफ्नाे बाेससँग त्यस्ताे अनुचित कार्य त गरेकी छैनाैं नि? मलाई नढाँटी भन’ भन्दै केरकार गर्न पुग्छ। यतिबेला पुरुषभित्रकाे मिसाेजिनी पर्दामा छताछुल्ल पाेखिन्छ।
‘स्कूप’ सत्य घटनामाथि आधारित भएकाेले यसमा देखाइएका पात्रहरु पनि काल्पनिक नभएर वास्तविक हुन्। यसमा वास्तविक पात्रहरुकै चित्रण गरिएकाे छ तर केवल उनीहरुकाे नाम भने परिवर्तन गरिएकाे छ। यसअघि आफ्नाे सिरिज ‘स्क्याम १९९२:- दि हर्षद मेहता स्टाेरी’ मा सबै पात्रकाे वास्तविक नाम प्रयाेग गरेकाे हँसल मेहताले यसपटक भने ‘स्क्याम’ काे मुद्दा व्यक्तिगतभन्दा बढी व्यवस्थागत भएकाेले र यसकाे पात्र एउटा पात्र नभएर त्यसबेला वरिपरि रहेका थुप्रै पात्रकाे घालमेल भएकाेले, तिनीहरुले कुनै एक व्यक्तिकाे नभएर ‘पुलिस-अपराधी-पत्रकार-राजनीति’ काे अघाेषित गठबन्धनकाे चरित्रलाई उजागर गर्ने भएकाेले वास्तविक नाम प्रयाेग नगरेकाे माेटाे जवाफ दिएका छन्। तर डनकाे पात्रकाे चाँहि वास्तविक नाम राखेकाेमा उनले डनकाे पात्रले त्याे डिजर्ब गर्ने, उनकाे वास्तविक नाम जनतालाई बताउन जरुरी भएकाेले डनकाे वास्तविक नाम नै प्रयोग गरेकाे बताएका छन्।
अब म ‘स्कूप’ काे कुन-कुन चरित्र वास्तविक जीवनकाे कुन-कुन चरित्रहरुमाथि आधारित छ, त्याे बताउँदैछु।
जागृति पाठककाे चरित्र (करिश्मा तन्ना) जिग्ना वाेरामाथि आधारित छ। याे त बताइरहनु नपर्ला।
सिनियर जर्नलिस्ट जयदेब सेन (प्राेसेनजीत चटर्जी) जसकाे हत्याकाे अभियाेगमा जागृति पाठकलाई गिरफ्तार गरिन्छ र जेलभित्र काेचिन्छ, त्याे चरित्र वास्तविक जीवनकाे सिनियर क्राइम जर्नलिस्ट ज्योतिर्मय डे माथि आधारित छ जसलाई सबैजना ‘जे डे’ भन्थे र जसकाे सन् २०११ मा मुम्बईकाे पवईमा हीरानंदानी गार्डन्सकाे नजिकै हत्या गरिएको थियाे, जसकाे हत्याको जिम्मेवारी छोटा राजनले लिएका थिए।
जागृतिका बाेस इमरान सिद्धिक़ी (माेहम्मद ज़ीशान अय्युब), जागृति कार्यरत पत्रिकाकाे ‘रेजिडेन्ट एडिटर-इन-चिफ’ काे चरित्र हुसैन ज़ैदीमाथि आधारित छ जाे याे पूरै प्रकरणकाे बेलामा ‘द एशियन एज’ काे ‘रेजिडेन्ट एडिटर-इन-चिफ’ थिए। हुसैन ज़ैदी स्वयं एक इन्वेस्टिगेटिव जर्नलिस्ट रहिसकेका छन् र मुम्बई माफिया र अंडरवर्ल्डमाथि ‘डोंगरी टु दुबई’, ‘ब्ल्याक फ्राइडे’, ‘माई नेम इज अबु सलेम’, ‘मुंबई एवेन्जर्स’ जस्ता थुप्रै पुस्तक लेखिसकेका छन्। उनलाई मुम्बई माफिया वा अंडरवर्ल्डकाे विशेषज्ञ भने पनि हुन्छ।
JCP हर्षवर्धन श्राेफ (हर्मन बावेजा) काे चरित्र जाे सँग जागृति आफ्नाे खबर कन्फर्म गर्नका लागि अक्सर भेटिरहन्छन्, जसले प्रारम्भमा जागृतिप्रति ‘सफ्ट कर्नर’ राखे पनि पछि जागृतिलाई मर्डर केसमा फँसाउछन्, सिनियर आइपिएस हिमांशु राेयमाथि आधारित छ। जाे सन् २०११ मा जिग्ना वोरामाथि पत्रकार डेकाे हत्याकाे अनुसन्धान चलिरहेको बेला मुम्बई पुलिसकाे जाेइन्ट कमिश्नर थिए। इनकाउंटर स्पेशलिस्टकाे नामले प्रसिद्ध उनलाई क्यान्सर भएकाे थियाे जसकाे कारण उनी लामो समयदेखि डिप्रेशनमा थिए र एकदिन आफ्नाे राेजाईकाे खाना खाइ, काेठाभित्र पसी, सुसाइड नाेट लेखी आफैलाई गाेली ठाेकेर आत्महत्या गरेका थिए। तर उनकाे आत्महत्याको पाटाेलाई भने यसमा देखाइएकाे छैन।
लीना प्रधान (तनिष्ठा चटर्जी) काे चरित्र सिनियर जर्नलिस्ट मीनल बघेलमाथि आधारित छ। सन् २०११ मा जब जर्नलिस्ट ज्योतिर्मय डे काे हत्या भयाे, त्यसबेला उनी ‘मुम्बई मिरर’ पत्रिकाका सम्पादक थिइन्। अहिले उनी ‘हिन्दुस्तान टाइम्स’ मा एग्जिक्युटिभ एडिटर छिन्।
ADGP रमेश मलिक (दर्शन दावे) काे चरित्र पूर्व IPS अफिसर राकेश मारियामाथि आधारित छ। राकेश मारिया त्याे पुलिस अफसर हुन् जसले सन् १९९३ काे बम्बई बम ब्लाष्ट र सन् २००८ मा भएकाे मुम्बई हमलाकाे अनुसन्धान गरेका थिए।
‘स्कूप’ मा मिडिया हाउसहरुकाे पनि नाम बदलिइएको छ। जिग्ना वाेरा कार्यरत पत्रिका ‘द एशियन एज’ काे नाम बदलेर ‘ईस्टर्न एज’ राखिएको छ भने ‘मुम्बई मिरर’ काे नाम बदलेर ‘सिटी मिरर’ राखिएको छ। जिग्ना वाेरा पहिले ‘मुम्बई मिरर’ मा काम गर्थिन्। पछि त्यसलाई छाेडेर ‘द एशियन एज’ मा काम गर्न थालिन्। ‘स्कूप’ मा जागृति पनि पहिले ‘सिटी मिरर’ मा काम गर्ने गरेकाे अनि पछि त्यसलाई छाेडेर ‘ईस्टर्न एज’ मा काम गर्न थालेकाे बताइएको छ।
कुनै पनि पुस्तककाे कथालाई सिनेमा वा सिरिजकाे रुपमा उतार्नु मुश्किल काम हाे। त्यसमा लागि पुस्तककाे कथालाई हजाराैं दृष्यहरुमा टुक्राउनुपर्ने हुन्छ र ती दृष्यहरुकाे गठजाेडबाट पुस्तककाे कथालाई र त्यसकाे मूल मर्मलाई पनि समेट्दै ‘रिफर्म’ (पुन आकारित) गर्नुपर्ने हुन्छ। त्यसैले, पुस्तकलाई सिनेमामा ढाल्दा दृष्यहरुकाे रचना र सँयाेजन अत्यन्त महत्वपूर्ण हुन्छ।
कथालाई दृष्यहरुमा कसरी ढाल्ने, खास-खास प्रसङ्गलाई भिज्युलमा कसरी देखाउने, त्यसका लागि के कस्ता दृष्यहरुकाे रचना गर्ने, त्यसलाई कसरी कंपाेज गर्ने र कसरी तिनीहरुलाई जाेडेर कथालाई आकार दिने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यसले उच्चतम बुद्धिमता, तार्किकता र तीक्ष्णताकाे माँग गर्छ। यदि सही ढँगले सटिक दृष्यहरु कंपाेज गरेर कथालाई पुन आकारित गर्न सकिएन भने सिरिजले दर्शकहरुमाथि अपेक्षित प्रभाव नपार्न सक्छ। निर्दैशकले यहीँनेर आफ्नाे क्षमता देखाउनुपर्ने हुन्छ।
मलाई के लाग्छ भने ‘स्कूप’ मा यस मामिलामा पूर्वाधमा यसका निर्दैशक हँसल मेहता चुकेका छन्। ‘स्कूप’ काे सुरुकाे दुईवटा एपिसाेड एकदमै ‘puzzling’ लाग्छ। त्यहाँ ‘काे के गर्दैछ, काे कता जाँदैछ, कसले कसलाई किन भेट्दैछ’ आदि कुराहरु बुझ्नु नै गाह्राे पर्छ। त्पहाँ सबै दृष्यहरु असरल्ल भएकाे, सबै दष्यहरु छरिएकाे वा छरपष्ट भएकाे, सँगतिपूर्ण ढँगले दृष्यहरुलाई सँयाेजन गरेर एउटै तर्कपद्भतिमा घटनाहरुलाई देखाउन नसकेकाे जस्ताे लाग्छ। तसर्थ, सिरिजका पूर्वाधका प्रसङ्गहरुलाई तारतम्य मिलाएर बुझ्न कठीन पर्छ। मध्यान्तर अघिसम्म (जागृति पाठककाे गिरफ्तारीसम्म) त दृष्यहरु एकदमै बिश्रृङ्खलित (छरपष्ट, सँयाेजन ठीकसँग भएकाे) लाग्छ। जागृतिकाे गिरफ्तारीपछि भने कथाले एउटा निश्चित ट्रयाक समात्छ। त्यसपछि चाहिँ कथा एउटा निश्चित ट्रयाक (तर्कपद्वति) मा हिँड्छ। त्यसपछि भने यसले बाँधेर राख्छ। ‘पिक्चर’ पनि क्लियर हुँदै जान्छ। बिस्तारै सबै कुरा बुझिन्दै जान्छ।
राेचकता, मनाेरंजन, मास अपिल र दर्शकहरुलाई बाँधेर राख्ने कसीमा ‘स्कूप’ हंसल मेहताकाे अघिल्लो सिरिज ‘स्क्याम’ काे दाँजाेमा आधा पनि छैन। यस मामिलामा सायद याे ‘स्क्याम’ २०-२५% मात्र हाेला। सुरुदेखि नै दर्शकहरुमाथि यसकाे पकड खुकुलाे देखिन्छ। ‘स्क्याम’ हेर्दाखेरिकाे जस्तो मज्जा ‘स्कूप’ लाई हेर्दा आउदैन। किनभने यसकाे कथाले दर्शकहरुलाई पक्रेर राख्दैन, उल्टै दर्शकहरुले यसकाे कथालाई पक्रेर राख्नुपर्छ। अझ यसकाे प्रारम्भिक दुईवटा एपिसाेड मात्र हेरेर धेरै जनाले याे सिरिजलाई बीचमै छाडिदिने सम्भावना छ। त्यसैले, दर्शकहरुले यसकाे त्यसरी आनन्द उठाउन सक्दैनन् जसरी ‘स्क्याम’ काे उठाएका थिए। तसर्थ, याे सिरिज हेर्दा धेरै अपेक्षा नगर्नु नै उपयुक्त हुन्छ किनभने ‘स्क्याम’ मा जस्ताे राेचकता र मनाेरंजनकाे अपेक्षा गरेर याे सिरिज हेर्दा निराशा हात पर्न सक्छ। मेराे लागि ‘स्कूप’ एक औसत सिरिज हाे। एभरेज वा एबाेभ एभरेजभन्दा माथि यसलाई रेटिङ दिन सकिन्न।
यसकाे कलाकारहरुकाे पर्फमेन्स पनि ‘स्क्याम’ काे जस्ताे असरदार लाग्दैन। ‘स्क्याम’ मा हरेक सानाेभन्दा सानाे चरित्रले पनि छाप छाेडेकाे थियाे। हर्षद मेहताकाे चरित्रकाे त के कुरा गर्नु, प्रतीक गान्धीकाे पर्फमेन्स सिरिजप्रेमीहरु माझ आइकाेनिक बन्न पुगेकाे थियाे, जसलाई कहिल्यै बिर्सन सकिन्न।
‘स्कूप’ मा दुई तिहाई स्क्रीनस्पेश ओगटेर पनि करिश्मा तन्नाले त्यसप्रकारकाे ‘इम्प्याक्ट’ क्रिएट गर्न सकिनन् भन्नु धक मान्नु पर्दैन। माेडलिङ र टिभी सिरियलहरुबाट फिल्महरुमा सानाेतिनाे राेलहरु हुँदै वेब-सिरिजमा लिड राेल निभाउन आइपुगेकी करिश्मा तन्नाकाे एक्टिङमा ‘डेफ्थ’ छैन। त्यसप्रकारकाे धार छैन। त्यसैले, जति इम्प्रेसिभ लाग्नुपर्थ्याे उनकाे पर्फमेन्स, त्यति इा्प्रेसिभ लाग्दैन। बरु फ्लप एक्टर हर्मन बावेजा यसमा धेरै सहज र स्वभाविक लागेका छन्।
एक्टिङ डिपार्टमेन्टमा यदि कसैले आफ्नाे छाप छाेडेका छन् भने ती हुन्, माेहम्मद ज़ीशान अय्यूब जसले एक integrated, एक इमानदार र निष्ठाकाे पत्रकारिता गर्ने पत्रकार-सम्पादक इमरान सिद्दिक़ी (हुसैन ज़ैदीमाथि आधारित) काे भूमिकामा प्राण भरेका छन्। माेहम्मद ज़ीशान अय्यूब एक यस्ता अभिनेता हुन्, जसले अहिलेसम्म जे जस्ताे भूमिका निभाएका छन्, ती सबैमाथि न्याय प्रदान गरेका छन्। लिड राेलहरु पाउँदैनन् उनी, धेरै भूमिकामध्ये एउटा भूमिका पाउँछन् तर एकपटक अभिनयमा उत्रिएपछि उनी त्याे भूमिकामा आफ्नाे शतप्रतिशत दिन्छन्। माेहम्मद ज़ीशान अय्यूब हाम्राे समयकाे एक हेर्नैपर्ने अभिनेता हुन्।
‘स्कूप’ काे एंडिङ सुखद् छ। तर वास्तविक जीवनमा भने जिग्ना वाेराकाे लाइफमा सुखद् अन्त्य भएकाे थिएन। याे केसले उनकाे करिअरलाई बर्बाद गरिदिएकाे थियाे। काेर्टबाट रिहा भएपछि उनी फेरि पत्रकारितामा फर्किन सकिनन्। कसैले पनि उनलाई जब अफर गरेन। उनले अहिलेसम्म कमाएकी प्रतिष्ठा झणभरमै ध्वस्त भएकाे थियाे। पत्रकारिताकाे ढाेका उनकाे लागि सधैकाे लागि बन्द भएकाे थियाे। उनकाे पत्रकारिताकाे अन्त्य भएकाे थियाे।
