संवाद-१.
‘कागज, कागज, कागज। म यहाँ बसेकाे छु, हाडमासुले बनेकाे मानिस। तर याे कागजले भन्छ कि म त्याे मानिस हाेइन जाे म हुँ। म त्याे कागज कहाँदेखि ल्याऊँ जसबाट याे साबित हाेस् कि म नै माेहनदास हुँ। म नै म हुँ।’
संवाद-२.
‘…सिङ्गाे सिस्टम ढलिसकेकाे छ। ठग, लुटेरा, अपराधी… यी सब हाम्राे डेमोक्रेटिक संस्थाहरुभित्र पसिसकेका छन्। याे डेमोक्रेसी हाेईन, प्लुटाेक्रेसी हाे, धनतन्त्र हाे जहाँ जसकाे साथमा धनबल छ, उसैकाे शासन हुन्छ, उसैकाे सरकार हुन्छ। ठूला ठूला सिद्धान्त, आईडियाेलाेजी, फिलाेसफी…यी सबका सब एकदिन खाेक्राे लफ्फाजीमा बदलिन्छन् र याे पटकपटक हुन्छ। सारा ईतिहास साक्षी छ।’
हाम्राे विधमान सिस्टम कसरी चलिरहेकाे छ? याे सिस्टममा कस्ता मान्छेहरुकाे बाेलबाला छ? याे सिस्टमभित्र गरिब, सीमान्तीकृतहरुमाथि कस्ताे व्यवहार हुने गरेकाे छ? याे सिस्टममा जाे हकदार हाे उसले किन आफ्नाे हक पाउँदैन?
‘माेहनदास’ ले यी प्रश्नहरुमाथि साेच्न बाध्य पार्छ।
‘माेहनदास’ एक गम्भीर सिनेमा हाे। के तपाईले उदय प्रकाशकाे कृति ‘माेहनदास’ पढ्नुभएकाे छ? याे फिल्म उदय प्रकाशकाे त्यही कृति ‘माेहनदास’ माथि आधारित छ जसले विधमान सिस्टमले साेझासिधा मानिसकाे जीवनमा पैदा गरेकाे त्रासदीकाे मूर्त चित्रण गरेकाे छ।
‘माेहनदास’ ले विधमान सिस्टमकाे कठाेर सत्यसँग साक्षात्कार गराउँछ। याे व्यवस्थामा पैसा, पावर र सत्तामा पहुँच हुनेहरु कसरी साेझासिधा, इमानदार, याेग्य तर निमुखा मानिसहरुकाे हक खाेसिरहेका छन्, विधमान न्यायप्रणालीले पनि किन ती निमुखाहरुकाे हककाे रक्षा गर्न सकिरहेकाे छैन, किन उनीहरुलाई न्याय दिन सकिरहेको छैन, याे सिस्टम कसरी यथार्थलाई नहेर्ने, कागजलाई मात्र हेर्ने, जिउँदाे मान्छेलाई जिउँदाे प्रमाणित गर्न समेत कागज खाेज्ने हदसम्म यान्त्रिक र आत्मविहिन भइसकेकाे छ, याे सत्यलाई उजागर गर्छ।
आफ्नाे मातहतकाे अधिकृतलाई राति आफ्नाे काेठामा वेश्या पठाइमाग्ने मन्त्रीदेखि लिएर जाली कागजपत्रमा सरकारी छाप लगाई नक्कली व्यक्तिलाई सक्कली प्रमाणित गर्ने पटवारीसम्म, माथिदेखि लिएर तलसम्म भ्रष्ट भएकाे याे सिस्टमले कसरी ‘विश्वनाथ पाण्डे’ जस्ताे बदमास र बेइमानहरुलाई सँरक्षण दिएर ‘माेहनदास’ जस्ताहरुकाे नाम, काम, अधिकार, पहिचान, आत्मसम्मान र उज्ज्वल भविष्यलाई खाेसेर उनीहरुलाई विलुप्त हुन बाध्य पारिरहेकाे छ, याे यथार्थलाई देखाउँछ। याे सिनेमाले देखाउँछ कि कसरी याे सिस्टममा वास्तविक हकदारहरु आफ्नाे हकदेखि बन्चित भएर उत्पीडनमा मात्र परेका छैनन्, अपितु उनीहरुकाे पहिचान समेत खाेसिएकाे छ।
सत्ताधारीहरुसँग दह्राे साँठगाँठ गरेर विश्वनाथले नक्कली माेहनदास बनेर सक्कली माेहनदासकाे जागिर खाइदिनु एउटा सानाे व्यक्तिगत घटना मात्र हाेइन बरु विधमान भ्रष्ट व्यवस्थाकाे कुरुप बिम्ब हाे। माेहनदास व्यवस्थाकाे क्रुरताकाे शिकार भएका ती सबै निमुखाहरुकाे बिम्ब हाे। अनि, माेहनदासले भाेगेकाे भयावह यन्त्रणा यस भ्रष्ट, क्रुर तथा अमानवीय व्यवस्थाकाे शिकार भएका सबै निमुखाकाे समान नियतिकाे साझा अभिलेख हाे। याे विधमान व्यवस्थामा माेहनदासहरुकाे जीवन साँच्चिकै संकटपूर्ण र भयावह भएकाे सत्यकाे प्रमाण पनि हाे। अनि, माेहनदासले अन्ततोगत्वा आफ्नाे पहिचान नकार्न बाध्य हुनु यसकाे चरमाेत्कर्ष हाे।
‘माेहनदास’ काे निर्दैशन मजहर कामरनले गरेका हुन्। यसमा नकुल वैधले माेहनदास र सुशान्त सिहँले विश्वनाथकाे भूमिका निर्वाह गरेका छन्। यस अतिरिक्त फिल्ममा साेनाली कुलकर्णी, शरबनी मुखर्जी, आदित्य श्रीवास्तव, गाेविन्द नामदेव, अखिलेन्द्र मिश्र आदि कलाकारहरुले अन्य महत्त्वपूर्ण भूमिकाहरु निर्वाह गरेका छन्।
‘माेहनदास’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरुमा प्रदर्शित र पुरस्कृत भइसकेकाे सिनेमा हाे। ‘माेहनदास’ एक अलग प्रकारकाे (यथार्थपरक) सिनेमा हाे। याे सिनेमा कमर्शियल फर्मुलाहरुदेखि टाढा छ। ‘माेहनदास’ खासमा, सिनेमा हेर्न हाेइन, पढ्न र मनमा गढ्न चाहने दर्शकहरुकाे लागि हाे।
यदि तपाई रियलिस्टिक अप्राेच सहितकाे सिस्टममाथि बनाइएकाे कुनै सिनेमा हेर्ने साेचमा हुनुहुन्छ भने याे सिनेमा हेर्नुहाेस्।