बितेकाे वर्ष २०२२ लाई भारतीय फिल्मकाे परिप्रेक्ष्यमा दक्षिण भारतीय सिनेमाकाे वर्चस्वकाे बर्ष भन्नू ठीक हुनेछ। याे बर्ष तेलुगु, कन्नड़ा, तमिल र मलयालम फिल्महरु अलग-अलग कथानकहरुका साथ नयाँ-नयाँ रूपहरुमा दर्शकहरुका सामुन्ने आए। जहाँ एकतर्फ ‘केजीएफ: च्याप्टर २’, ‘आर आर आर’ जस्ता फिल्महरु थिए, त्यही अर्काेतर्फ ‘दृष्यम-२’ र ‘दि ग्रेट इंडियन किचेन’ जस्ता फिल्महरु थिए तर सेप्टेम्बर २०२२ मा आएकाे कन्नड़ा फिल्म ‘कन्तारा’ ले भारतीय सामाजिक वैचारिकीकाे हिसाबले एक अलगै विमर्श लिएर आयाे। ऋषभ शेट्टीकाे याे फिल्म भलै अब दर्शकहरुका लागि उति नयाँ रहेन, तर ओस्कार सम्मान हेतु नामांकित भएको कारण एकपटक फेरि चर्चामा आएकाे छ। ‘कन्तारा’ मा दुइवटा कथा एकसाथ चल्छ। एकातर्फ याे फिल्म अतीतकाे माध्यमबाट वर्तमानलाई व्याख्यायित गर्छ भने अर्काेतर्फ वर्तमानमा चलिरहेकाे द्वन्द्वलाई पनि उभार्छ। ‘सोनी म्याक्स’ टिभी च्यानलमा यस फिल्मकाे प्रचारमा एउटा ‘स्लाेगन’ भनिएकाे छ, ‘जहां आस्था है, वहीं रास्ता है’। याे च्यानल यस फिल्मलाई आस्थामाथि आधारित फिल्म मान्छ। खैर, याे उसकाे व्याख्या हाे। यस फिल्ममा ‘भूत कोला’ काे नृत्यका दौरान याे स्थापित हुन्छ कि स्थानीय देव जो कि ‘भूत कोला’ गरिरहेकाे छ, त्याे भगवान विष्णुकाे अवतार हाे। याे आदिवासी समाजका देवी-देउताहरुलाई, उनीहरुका दैत्यहरुलाई समेत एक प्रकारले हिन्दु देवीदेउताहरुमा मिसाउनु हाे। याे आदिवासीहरुकाे देवी-देउताहरुकाे हिन्दुकरण गर्नु हाे।
फिल्मकाे कथाकाे प्रारम्भमा सूत्रधार बताउँछ कि एउटा राजा छ जो बहुतै सम्पन्न छ, तर उसलाई पटक्कै मानसिक शान्ति छैन। ऊ कैयौं उपाय गर्छ तर केही सीप लाग्दैन। त्यही शान्तिकाे खाेजीमा ऊ एउटा जँगलमा भाैतारिन्दै पुग्छ, त्यहाँ उसले एउटा खास स्थानमा एउटा काठ (पंजुरूली दैव) भेट्टाउँछ, जहाँ उसलाई असीम शान्तिकाे अनुभूति हुन्छ। ऊ त्यस दैवलाई आफ्नाे राज्यमा लैजान चाहन्छ। तब त्यहाँ सारा आदिवासी भेला हुन्छन्। उनीहरु कुनै पनि हालतमा आफ्नाे देउतालाई लैजान दिन चाहन्दैनन्। यस्ताेमा, उनीहरुमध्ये एकजनामाथि देउता आएर निर्देश दिन्छ, ‘म तिमीलाई लिएर जान दिन्छु, तर तिमी बदलामा हाम्रो समाजलाई के दिन्छौ?’ फेरि ऊ भन्छ कि जति टाढासम्म उसकाे आवाज पुग्नेछ, त्याे पूरै क्षेत्र-जंगल आदिवासी समाजकाे हुनेछ। यसाे भनेर ऊ एक तीब्र हुंकार भर्छ।
फिल्ममा याे घटनालाई उन्नाइसौं शताब्दीको बताइएकाे छ र याे पनि बताइएको छ कि त्यसबेलादेखि एक अनुष्ठानकाे रुपमा हरेक बर्ष कर्नाटककाे त्यस आदिवासी इलाकामा यसलाई मनाइन्छ। समस्त आदिवासी समाजका लागि याे उनीहरुकाे पहिचान, उनीहरुकाे देउता (दैत्य) काे शक्तिकाे प्रतीक हाे। उनीहरु यसलाइ धुमधामका साथ मनाउँछन् अनि हरेकपटक राजपरिवारसँग सम्बधित व्यक्ति आएर त्यही कथा प्रतीककाे रुपमा दाेहाेर्याउँछ। समयक्रमसँगै राजाका परिवारका सदस्यहरु स्थानीय राजनीतिकाे हिस्सा बन्छन् र जंगललाई कारपोरेटकाे हातमा बेच्न चाहन्छन्। यस्ताे हाेइन कि उनीहरुले जंगलबाट अहिलेसम्म फाइदा लिइरहेका थिएनन्, तर उनीहरुकाे पछिकाे पुस्तालाई अझ मुनाफा कमाउनु छ। उनी जंगलमा ‘भूत कोला’ काे अनुष्ठानका समयमा भन्छन् कि उनलाई आफ्नो जंगल फिर्ता चाहियाे तर ‘भूतकोला’ काे नृत्य गरिरहेकाे व्यक्ति जसमाथि देउता आएकाे छ, स्पष्ट शब्दहरुमा भन्छ कि ऊ राजाकाे परिवारबाट शान्ति खाेस्नेछ। याे चेतावनी दिँदै ऊ जंगलतिर भाग्छ।
परिस्थितिवश जमिनदारकाे परिवारकाे उक्त व्यक्तिकाे मृत्यु हुन्छ र तत्कालका लागि याे कुरा टर्छ। ‘भूत कोला’ काे अनुष्ठान गर्ने व्यक्तिले सात्विक जीवन जिउनुपर्ने हुन्छ, तर उसकाे छाेरा शिव त्यसाे गर्न अस्वीकार गर्छ। यसप्रकार वार्षिक अनुष्ठानकाे समयमा शिवकाे काकाकाे छाेरा देउताकाे अभिनय गर्छ। तर एकदिन गाउँकाे जमिनदार उसकाे हत्या गर्छ। शिवकाे पूरै चरित्र दक्षिण भारतीय विशेष गरेर कन्नड़ा, तेलुगु पपुलर फिल्महरुका अनुरुप ढालिएकाे छ। अति मर्दानगी, खूब रक्सी पिउनु र नायिकालाई आफ्नो मर्दाना तरिकाले लाेभ्याउनु उसकाे विशेषता हाे। यहाँ फिल्म बिलकुलै पारम्परिक पितृसत्तावादी ढर्रामा चल्छ। शिव पूरै समय दारूबाजी र जंगली सुँगुर (बँदेल) काे सिकार गर्नमा लागिरहन्छ। ऊ जमिनदारका लागि महिलाहरु उपलब्ध गराइदिने गर्छ। शिव र उसका साथीहरुमा कतै पनि जँगलप्रति प्रेम देखिन्दैन।
आदिवासी समाजलाई रहस्यात्मक अनुष्ठानहरुसम्म सीमित गरेर बुझ्नु वा तिनकाे अति महिमामण्डन गर्नु कुनै नयाँ कुरा हाेइन। उनीहरुकाे वास्तविक मुद्दाहरुमाथि अति नै कम फिल्महरु बनेका छन्। ऋषभ शेट्टीकाे ‘कन्तारा’ ले पनि सिङ्गाे आदिवासी समाजकाे समस्या र त्यसकाे निराकरणलाई रहस्यात्मक धार्मिक अनुष्ठानसम्म सीमित गरिदिन्छ।
फिल्ममा नयाँ फरेस्ट अफिसर आउनु, उसले स्थानीय बासिन्दाहरुका मान्यताहरुलाई नबुझ्नु र जंगलमा बस्ने मान्छेहरुले जंगलकाे कानूनकाे उल्लंघन गरिरहेको ठान्नु, याे जंगल एवं आदिवासीहरुका सम्बन्धमा सरकारी बुझाइकाे द्योतक हाे। जबकि जंगलकाे वास्तविक दुश्मन कारपोरेट र स्थानीय जमिनदार हाे, याे कुरा धेरै ढिलाेगरि स्थापित हुन्छ र यस्ताेमा शिव आफ्नाे पारम्परिक रूपलाई अपनाउँछ। ऊ स्वयं ‘भूत कोला’ काे रूपलाई अपनाउँछ र फेरि एक तीब्र आवाजले हुंकार भरेर जंगलमाथि आफ्नाे अधिकारकाे घोषणा गर्छ।
फिल्मकाे प्रारम्भ पनि ‘भूत कोला’ नृत्यद्वारा हुन्छ र समापन पनि। यसकाे माध्यमबाट याे देखाइन्छ कि कसरी कुनै साधारण आदिवासी एक असाधारण देव वा दैत्यमा परिवर्तित हुन्छ। त्याे पंजुरली दैवकाे आदेशमा गुलिगा दैव उसकाे शरीरमा आउँछ। त्यहाँ काेही पनि सामान्य मनुष्य रहन्दैन। उसकाे पूरै शरीरकाे कम्पन, उसकाे मुख-मुद्रा, भंगिमा, उसकाे आवाज सामान्य देवी देउताहरुभन्दा बिलकुल इतर हुन्छ। उसलाई लाग्छ कि याे जंगलकाे आत्मा हाे जो स्वतन्त्र छ र उसकाे आवाजमा उसकाे आफ्नाे स्वतन्त्र अस्मिताकाे आवाज सामेल छ।
फिल्ममेकर ऋषभ शेट्टी यधपि त्यसलाई विष्णु अवतारकाे ‘वराह रूप’ मा देखाउँछन्। यसलाई आदिवासीहरुलाई हिन्दु बताउने प्रवृत्तिबाट अलग गर्न सकिन्दैन। याे आदिवासीहरु र उनीहरुका सँस्कृतिलाई हिन्दु देखाउने प्रवृत्ति-परम्पराकै अर्काे कडी हाे। फिल्मकाे अन्त्यमा ‘भूत कोला’ काे अनुष्ठान गरिरहेकाे शिव फर्केर जंगलकाे त्याे आवाजसम्म कुद्दै जान्छ, जुन आवाजसँग ऊ सधै डराउँथ्याे।
यसकाे दुइटा पर्याय छ। पहिलाे, जसलाई गैर-आदिवासी दैत्य भनिन्छ, उसलाई फिल्ममा पनि स्थानीय बासिन्दाहरु ‘हाम्राे दैत्य’ भन्छन्, उसलाई नै विष्णुवतारका रूपमा देखाइएकाे छ। दाेस्राे, आदिवासी जीवन र जंगलमाथि उनीहरुकाे मालिकत्वकाे हकलाई उनीहरुकाे अनुष्ठानबाट अलग गर्न सकिन्दैन। यी दुई कुरालाई जंगलमाथि आदिवासीहरुका हककाे कुरा र ‘कन्तारा’ काे ‘भूत कोला’ काे माध्यमबाट देखाइएकाे छ।
यधपि, आदिवासी समाजलाई रहस्यात्मक अनुष्ठानहरुसम्म सीमित गरेर बुझ्नु वा तिनकाे अति महिमामण्डन गर्नु कुनै नयाँ कुरा हाेइन। उनीहरुकाे वास्तविक मुद्दाहरुमाथि अति नै कम फिल्महरु बनेका छन्। ऋषभ शेट्टीकाे ‘कन्तारा’ ले पनि सिङ्गाे आदिवासी समाजकाे समस्या र त्यसकाे निराकरणलाई रहस्यात्मक धार्मिक अनुष्ठानसम्म सीमित गरिदिन्छ।
यहाँ फिल्मदेखि इतर नाइजेरियाका लेखक वोल सोयन्काकाे नाटककाे चर्चा गर्नु जरूरी छ। ‘अ डान्स इन द फरेस्ट’ मा सोयन्का यस्तै प्रकारकाे अनुष्ठानकाे चर्चा गर्छन्। यसमा योरूबा आदिवासी समाजका मानिसहरु हरेक बर्ष एउटा अनुष्ठान गर्छन्, जसअनुसार उनीहरुका पुर्खाहरुका आत्माहरु भेला हुन्छन्। यी आत्माहरु न्याय-अन्यायका मुद्दाहरुलाई निपटाउँछन्। उनीहरुकाे सहाराले आज पनि मानिसहरु आधुनिक चुनौतीहरुबाट बच्ने बाटाे खाेज्छन्, तर सोयन्का जंगलमा भइरहेका पुर्खाहरुका त्याे नृत्यसँग दूरी नबनाइकन, अत्यन्त आफ्नाेपनका साथ स्थापित गर्छन् कि ‘आस्थामा रास्ता छैन’। आधुनिक चुनौती कारपोरेट मुनाफाकेन्द्रित व्यवस्थाकाे सामना अनुष्ठानकाे माध्यमबाट गर्न सकिन्दैन।
अनुवाद:- प्रभाष राज