
गढवा, ५ चैत्र ।गढवा गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशन अन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत तथा सदस्य सचिव कृष्णप्रसाद पौड्याल, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
बैठकमा गाउँपालिकाका विभिन्न महत्त्वपूर्ण पाँच विधेयकहरू प्रस्तुत भई बहुमतले पारित भएका छन्। पारित हुने विधेयकहरूमा भूमि विधेयक–२०८२, तीनपाङ्ग्रे सवारी साधन व्यवस्थापन विधेयक–२०८२, खानेपानी तथा सरसफाइ व्यवस्थापन विधेयक–२०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२ तथा विज्ञापन (व्यवस्थापन तथा नियमन) विधेयक–२०८२ रहेका छन्।
गाउँसभा सञ्चालन कार्यविधि २०७४ को दफा ३८ बमोजिम प्रारम्भमा ती विधेयकहरू दफाबार छलफलका लागि विधेयक समितिमा पठाइएको थियो। समितिका संयोजक टोकमान कवरले संशोधन प्रस्तावसहित प्रतिवेदन प्रस्तुत गरेपछि सभाले ती विधेयकहरू पारित गरेको हो।
यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा आवश्यक रकमान्तरण तथा संशोधनसम्बन्धी प्रस्ताव पनि बहुमतले स्वीकृत गरिएको छ। उक्त प्रस्ताव गाउँपालिका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक शारदा कुमारी चौधरीले पेश गर्नुभएको थियो।
बैठकले कार्यपालिकाबाट हालसम्म भएका निर्णयहरूको समर्थन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। त्यस्तै, सेवा करारमा कार्यरत कर्मचारीहरूको म्याद थप गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
यसैबीच, आर्थिक वर्ष २०८१/८२ को मलेपाको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन लेखा समितिका संयोजक आशाराम चौधरीले प्रस्तुत गर्नुभएको थियो। साथै, योजना तथा सुशासन समितिको तर्फबाट संयोजक अतिउल्ला मनिहारको अनुमतिमा राधेश्याम थारु कुमाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
गाउँसभाको उक्त बैठकले विभिन्न नीति, योजना तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णयहरू गर्दै अधिवेशनलाई सम्पन्न गरेको जनाएको छ।





