फागुन २१ मतदानको दिन पनि गढवाका तीनवटै दूध सङ्कलन केन्द्र सञ्चालनमा रहने

आलोक भावुक

गढवा, २० फागुन । प्रतिनिधि सभा निर्वाचनका कारण देशभर मतदानको तयारी तीव्र भइरहेका बेला गढवा गाउँपालिकामा भने किसानको उत्पादनलाई प्राथमिकतामा राख्दै दूध सङ्कलन कार्य नियमित रूपमा सञ्चालन हुने भएको छ। फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भइरहँदा पनि गाउँपालिकाभित्र रहेका तीनवटै दूध सङ्कलन तथा बिक्री केन्द्र खुला रहने जनाइएको छ।

गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत स्थापना भई गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड मार्फत सञ्चालनमा रहेको गढवा दुग्ध सङ्कलन तथा बिक्री केन्द्रहरू नियमित रूपमा खुला रहने सहकारी संस्थाकी अध्यक्ष शोभा राउत क्षेत्रीले जानकारी दिनुभयो।

किसानहरूले दैनिक उत्पादन गर्ने दूध बजारीकरणमा कुनै समस्या नआओस् भन्ने उद्देश्यले निर्वाचनकै दिन पनि सङ्कलन तथा बिक्री कार्य निरन्तर राखिएको भिटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्माले बताउनुभयो। उहाँका अनुसार निर्वाचनका कारण दूध सप्लाई रोकिँदा किसानलाई प्रत्यक्ष आर्थिक घाटा पुग्ने भएकाले सेवा बन्द नगरिने निर्णय गरिएको हो।

हाल गढवा दूध सङ्कलन तथा बिक्री केन्द्रबाट दैनिक करिब १ हजार ३ सय लिटर दूध सङ्कलन हुँदै आएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ गढवा बजारस्थित मुख्य केन्द्र, वडा नम्बर ४ अजगढवास्थित उपकेन्द्र तथा वडा नम्बर २ पचैहियास्थित उपकेन्द्रबाट संयुक्त रूपमा दैनिक उक्त परिमाणमा दूध सङ्कलन भइरहेको संयोजक शर्माले जानकारी दिनुभयो।

निर्वाचन जस्तो महत्वपूर्ण लोकतान्त्रिक प्रक्रियासँगै किसानको आयआर्जनलाई समेत सन्तुलनमा राख्दै सेवा निरन्तरता दिने निर्णयलाई स्थानीय कृषकहरूले सकारात्मक रूपमा लिएका छन्। गाउँपालिकाले किसानमैत्री नीति अवलम्बन गर्दै उत्पादन र बजारीकरणलाई प्राथमिकता दिएको बताइएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID