विद्यालय क्षेत्रको सुरक्षाका लागि राजपुरमा जेब्रा क्रसिङ निर्माण

आलोक भावुक

गढवा, १८ फागुन । विद्यालय आसपासमा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले राजपुर गाउँपालिका–३ खरदरिया स्थित शंकर माध्यमिक विद्यालय अगाडि जेब्रा क्रसिङ निर्माण गरिएको छ। विद्यार्थीहरूको आवागमनलाई सुरक्षित बनाउन विद्यालय परिवारको पहलमा उक्त संरचना निर्माण गरिएको हो।

निर्वाचन सुरक्षाका लागि क्षेत्रमा खटिएको प्रहरी टोली, विद्यालय प्रशासन, शिक्षक–कर्मचारी तथा स्थानीय व्यक्तिहरूको सक्रिय सहभागितामा जेब्रा क्रसिङ तयार पारिएको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया स्थित शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक प्रसाद यादवले जानकारी दिनुभयो।

विद्यालय समयका बेला तीव्र गतिमा गुड्ने सवारी साधनका कारण विद्यार्थीहरू जोखिममा पर्ने गरेको अवस्थालाई मध्यनजर गर्दै यो कार्य गरिएको हो।

विद्यालयका प्रधानाध्यापक यादवले विद्यालय क्षेत्रलाई सुरक्षित बनाउने उद्देश्यले सामूहिक पहल गरिएको बताउनुभयो। उहाँका अनुसार सडक पार गर्दा विद्यार्थीहरू दुर्घटनाको जोखिममा पर्ने भएकाले जेब्रा क्रसिङ अत्यन्त आवश्यक थियो।“बालबालिकाको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। अब चालकहरूले विद्यालय क्षेत्र भएको संकेत पाउनेछन् र सवारीको गति नियन्त्रण हुने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो।

त्यसैगरी शिक्षक नुतन सिं ठकुरीले विद्यालय समुदाय र सुरक्षाकर्मीको सहकार्यले सकारात्मक सन्देश दिएको बताउनुभयो। उहाँका अनुसार सानो पहलले पनि ठूलो दुर्घटना रोक्न सक्ने भएकाले यस्तो कार्य अन्य विद्यालय क्षेत्रमा पनि विस्तार गर्नुपर्ने आवश्यकता छ। “विद्यालय नजिकको सडक सुरक्षित भए मात्र विद्यार्थी ढुक्क भएर पढ्न आउन सक्छन्। यो कार्यले बालबालिकाको सुरक्षाप्रति हाम्रो संवेदनशीलता झल्काएको छ,” उहाँले उल्लेख गर्नुभयो।

स्थानीयवासीले पनि यस कार्यको प्रशंसा गर्दै विद्यालय क्षेत्रलाई ‘स्कूल जोन’ घोषणा गरी थप ट्राफिक संकेत, गति नियन्त्रण व्यवस्था र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

यस पहलले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा सुरक्षा अनुभूति बढाएको छ भने सडक प्रयोगकर्ताहरूलाई पनि सावधानी अपनाउन प्रेरित गर्ने विश्वास गरिएको छ। विद्यालय क्षेत्र सुरक्षित बनाउन गरिएको यस्तो सहकार्य उदाहरणीय भएको स्थानीयले बताएका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID