
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सम्पूर्ण नेता–कार्यकर्ता र सदस्यहरूलाई लक्षित गर्दै ४० बुँदे विस्तृत निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको तर्फबाट जारी ‘निर्वाचन विशेष निर्देशन–२’ मा निर्वाचन सम्पन्न नभएसम्म पार्टी पंक्तिलाई पूर्ण रूपमा सक्रिय र अनुशासित ढङ्गले परिचालित हुन आह्वान गरिएको छ।
निर्देशनमा निर्वाचनलाई मुलुकको संक्रमणकालीन राजनीतिक अवस्थाबाट निकास दिने ऐतिहासिक अवसरका रूपमा चित्रण गरिएको छ। लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्दै स्वच्छ, निस्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन पार्टीले सुरुबाटै प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरिएको छ। पार्टीका अनुसार, निर्वाचनको मिति घोषणा भएलगत्तै सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरिएको थियो र अहिले अन्तिम चरणमा बाँकी कामलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्न विशेष निर्देशन जारी गरिएको हो।
सबै नेता–कार्यकर्ता निर्वाचन क्षेत्रमा अनिवार्य
निर्देशनको पहिलो बुँदामै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूलाई निर्वाचन सम्पन्न नभएसम्म अनिवार्य रूपमा आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिन आदेश दिइएको छ। साथै, पार्टी, जनवर्गीय संगठन र मोर्चाका सदस्यहरूलाई मतदानमा अनिवार्य उपस्थित गराउने व्यवस्था गर्न भनिएको छ। मतदान क्षेत्रमा टाढा रहेका समर्थक तथा शुभेच्छुकहरूलाई समेत मतदानमा सरिक गराई पार्टीको चुनाव चिन्ह ‘तारा’ मा मत हाल्न सक्रिय पहल गर्न निर्देशन दिइएको छ।
निर्वाचन आयोगले तोकेको मौन अवधि लागू नभएसम्म घरदैलो तथा प्रचार–प्रसार अभियानलाई तीव्रता दिन, प्रतिष्ठित व्यक्तिहरूलाई उम्मेदवारको पक्षमा खुला समर्थन गर्न आग्रह गर्न तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन जोड दिइएको छ। विशेषगरी मतदाता चुनाव चिन्हमा झुक्किने वा छाप लगाउने क्रममा त्रुटि हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनिएको छ।
कानुनी प्रक्रिया र प्राविधिक तयारीमा जोड
निर्देशनमा निर्वाचनको दिन आवश्यक पर्ने परिचयपत्र, सवारी पास, मतदान केन्द्रको वस्तुस्थिति, मतपत्र र मतपेटिकाको ढाँचा तथा संरचना जाँचजाँचको विषयमा स्पष्ट मार्गदर्शन दिइएको छ। प्रत्यक्ष र समानुपातिकतर्फका छुट्टाछुट्टै मतपत्रबारे मतदातालाई पूर्वजानकारी गराउने, मतदाता सूचीसहित स्टल राख्ने तथा नाम ढाँटी मतदान गर्न खोज्ने घटनाप्रति सतर्क रहन आग्रह गरिएको छ।
मतदान केन्द्रमा प्रतिनिधि खटाउने, असक्त मतदाताका लागि सहयोगीको व्यवस्था मिलाउने तथा अप्रत्याशित घटना घटेमा तुरुन्तै माथिल्लो तहमा खबर गर्ने व्यवस्था पनि निर्देशनमा समेटिएको छ। समानुपातिकतर्फको मतलाई विशेष महत्वका साथ प्रचार–प्रसार गर्न र भ्रम फैलाउने प्रयासविरुद्ध सजग रहन पार्टीले आह्वान गरेको छ।
बुथ व्यवस्थापनदेखि मतगणनासम्म स्पष्ट ‘चेन अफ कमाण्ड’
निर्देशनले मतदान केन्द्रको सुरक्षा अवस्था, स्वयंसेवक समूह गठन, प्रतिनिधिको नामावली तयारी, तालिम र अभिमुखीकरण, संयोजक तथा सह–संयोजकको स्पष्ट कमाण्ड संरचना निर्माण गर्न जोड दिएको छ। अनुभवी व्यक्तिलाई प्रतिनिधि र स्वयंसेवकका रूपमा खटाउन तथा मतपेटिका निरीक्षण, स्थानान्तरण र मतगणनामा स्पष्ट जिम्मेवारी तोक्न भनिएको छ।
एउटै व्यक्तिले लामो समय कार्य गर्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै जिम्मेवारी हस्तान्तरणको स्पष्ट व्यवस्था गर्न, ‘चेन अफ कमाण्ड’ कायम राख्न र नियमित अपडेट लिने प्रणाली लागू गर्न निर्देशन दिइएको छ। मतदान सम्पन्न भएपछि मतदाताको सङ्ख्या र खसेको मत सङ्ख्या रुजु गर्ने, मुचुल्का तयार गर्ने, सिलबन्दी गर्ने र मतपेटिका ढुवानी गर्दा प्रतिनिधि अनिवार्य रूपमा साथ रहने व्यवस्था गर्न भनिएको छ।
मतगणनाको क्रममा मुचुल्का, शीलछाप र बाकसको अवस्था जाँच्ने, प्रक्रिया भरि चनाखो रहने र समानुपातिक मतको गणनामा पनि उत्तिकै सक्रिय रहने निर्देशनमा उल्लेख छ। साथै, सबै गतिविधिबारे केन्द्रीय निर्वाचन परिचालन समितिमा नियमित जानकारी पठाउन भनिएको छ।
तालमेलबारे ‘भ्रम’ चिर्न आग्रह
निर्देशनको अन्त्यतिर पार्टीले अन्य दलसँग तालमेल गर्न लागेको भन्ने हल्लालाई भ्रामक भन्दै खण्डन गरेको छ। पार्टीले १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको र बागलुङ क्षेत्र नम्बर १ को एउटा क्षेत्रमा मात्र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन जनाएको स्पष्ट पारेको छ। अन्य कुनै दल वा उम्मेदवारसँग तालमेल वा समझदारी नगरेको र गर्ने सम्भावना पनि नरहेको दाबी गरिएको छ।
निर्वाचनविरुद्ध भ्रम फैलाउने प्रयासलाई चिर्न आवश्यक रहेको उल्लेख गर्दै पार्टीले स्वच्छ र शान्तिपूर्ण निर्वाचनमार्फत राष्ट्रको राजनीतिक अन्यौल अन्त्य गर्न सकिने धारणा दोहोर्याएको छ। सम्पूर्ण शक्ति लगाएर सहभागी भई प्रत्यक्षतर्फ अधिकतम सिट जित्ने र समानुपातिकतर्फ सर्वाधिक मत ल्याउने लक्ष्य पार्टीले अघि सारेको छ।
शीर्ष नेतृत्वको हस्ताक्षरसहित
निर्देशन २०८२ फागुन १४ गते जारी गरिएको हो। सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरसहित सार्वजनिक उक्त निर्देशनले निर्वाचनको अन्तिम चरणमा पार्टी संरचनालाई उच्च सतर्कता, अनुशासन र सक्रियताका साथ परिचालित गर्न स्पष्ट सन्देश दिएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपाले विजयप्रति विश्वास व्यक्त गर्दै सम्पूर्ण कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा खटिन आह्वान गरेको छ। पार्टीको दाबी अनुसार प्रतिस्पर्धी शक्तिहरू उसको प्रभाव र विस्तारबाट विचलित भएको दाबीसमेत गरिएको छ। अबको केही दिनलाई निर्णायक समयका रूपमा व्याख्या गर्दै निर्देशनले पार्टी पंक्तिलाई पूर्ण एकता, संयम र संगठनात्मक अनुशासनका साथ चुनावी अभियान सम्पन्न गर्न आग्रह गरेको छ।
फागुन २१ को निर्वाचनलाई नेकपाले राजनीतिक मोडबिन्दुका रूपमा व्याख्या गरेको छ। निर्देशन–२ ले पार्टीको चुनावी तयारीलाई औपचारिक रूपले अन्तिम चरणमा प्रवेश गराएको सन्देश दिएको विश्लेषण गरिएको छ।




