
गढवा,१४ फागुन । दक्षिण देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ स्थित बाल संसार एकेडेमीको सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध शैक्षिक, सम्मान तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर चौधरीको सभापतित्वमा तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले व्यावहारिक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताउनुभयो। शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई सक्षम, अनुशासित र जिम्मेवार नागरिक निर्माण गर्ने आधार भएको बताउनुभयो। “गुणस्तरीय शिक्षा बिना समृद्ध समाजको परिकल्पना सम्भव हुँदैन,” उहाँले भन्नुभयो, “विद्यालयले विद्यार्थीलाई ज्ञानसँगै संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्व पनि सिकाउनुपर्छ।” उहाँले स्थानीय तहले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सामुदायिक तथा संस्थागत विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको धारणा राख्नुभयो।
विद्यालयका प्रिन्सिपल माधव शर्मा पण्डितले सात वर्षको अवधिमा हासिल शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा भौतिक पूर्वाधार विकासबारे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा प्रविधिमैत्री शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाइने योजना सहितको वार्षिक शैक्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्य योजना वारे बिस्तृत प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा वर्षको उत्कृष्ट अभिभावकका रूपमा मनोज चौधरी र मधा न्यौपानेलाई सम्मान गरिएको थियो भने उत्कृष्ट योगदान पुर्याउने शिक्षक सन्तोष चौधरी र मनिशा उपाध्यायलाई सम्मानपत्र प्रदान गरिएको थियो।
विद्यालय प्रथम हुन सफल विद्यार्थी शुसन्त यादवलाई विशेष सम्मान गरिएको थियो। साथै कक्षागत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
विद्यार्थीहरूले विज्ञान तथा कला प्रदर्शनीमार्फत आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए भने अभिभावक तथा शिक्षकबीच वक्तृत्व प्रतियोगिता सञ्चालन गरिएको थियो। सांस्कृतिक कार्यक्रममा प्रस्तुत नृत्य, गीत तथा विविध सांस्कृतिक झाँकीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
समापन मन्तव्य व्यक्त गर्दै सभापति जय बहादुर चौधरीले विद्यालयको विकासमा सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विकास रजौरे तथा नेपाल रेडक्रस उपशाखा गढवाका सभापति उमाकान्त पन्त विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउनुका साथै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने प्रभावकारी मञ्चका रूपमा आफूलाई स्थापित गरेको सहभागीहरूले बताएका छन्।
विद्यालयका भ्वाइस प्रिन्सिपल मिन प्रकाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विश्वजित यादवले गर्नु भएको थियो।





