
गढवा,१३ फागुन। दाङको गढवामा आयाम बहुउद्देश्यीय सहकारी संस्था दाङको ११औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको सहकारी र पत्रकारबीचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता बुधबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
खेलकुदमार्फत सहकार्य, आपसी सम्बन्ध सुदृढीकरण र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा आयोजक सहकारी टोलीले कडा प्रतिस्पर्धापछि ३ विकेटले जित हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पत्रकार टोलीले सुरुआती ओभरहरूमा संयमित खेल प्रदर्शन गर्दै निर्धारित १० ओभरमा १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पत्रकार टोलीका कप्तान दुखहरण यादवले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ३४ रन बनाएका थिए भने हेमराज शर्माले आक्रामक शैलीमा ३६ रन जोड्दै टोलीको स्कोर उकास्न महत्वपूर्ण भूमिका खेले । प्रियास्मृति गजमेरले १३ रन र दशरथ घिमिरेले १२ रन बनाउँदै मध्यमक्रममा योगदान दिएका थिए । अन्य ब्याट्सम्यानले ठूलो साझेदारी बनाउन नसक्दा टोली मध्यम योगफलमै सीमित हुन पुगेको थियो ।
१०३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको आयोजक सहकारी टोलीले सुरुवातमै केही विकेट गुमाएर दबाब खेप्नुपरेको थियो । तर टोलीका अध्यक्ष ओमप्रकाश बसेलले जिम्मेवारीपूर्ण तथा आक्रामक ब्याटिङ गर्दै खेललाई आफ्नो पक्षमा मोडे । उनले मात्र २२ बलमा ४२ रनको उत्कृष्ट इनिङ खेल्दै जितको आधार तयार गरे । उनलाई पंकज चौधरीले १७ रन, समीर खानले १६ रन तथा श्याम शर्माले ६ रन जोड्दै साथ दिएका थिए । लगातार विकेट पतनका बाबजुद संयमित खेल प्रदर्शन गर्दै आयोजक टोलीले १३औँ ओभरमै लक्ष्य पूरा गर्न सफल भयो ।
बलिङतर्फ पत्रकार टोलीका प्रियास्मृति गजमेर र हेमराज शर्माले प्रभावशाली प्रदर्शन गर्दै समान २–२ विकेट लिए । दशरथ घिमिरे र दुखहरण यादवले पनि १–१ विकेट हात पार्दै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए । खेलभर अलराउण्ड प्रदर्शन गरेका ओमप्रकाश बसेलले १ ओभर मेडन राख्नुका साथै निर्णायक ४२ रन बनाएका कारण ‘म्यान अफ द म्याच’ घोषित भए ।
खेल अवधिभर विशाल दुधराज र बिनोद खत्रीले निष्पक्ष रूपमा एम्पायरको भूमिका निर्वाह गरेका थिए । उनीहरूको संयमित निर्णयले खेललाई व्यवस्थित र अनुशासित बनाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन् ।
प्रतियोगिता केवल खेलमा सीमित नभई सहकारी संस्था र सञ्चारकर्मीबीच आपसी सम्बन्ध मजबुत बनाउने माध्यमका रूपमा समेत स्थापित भएको सहभागीहरूले बताएका छन् । संस्थाले स्थापना दिवसको अवसरमा हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम, विपन्न तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति वितरण, जनचेतनामूलक अभियान तथा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । यस वर्ष आयोजना गरिएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताले खेलकुदमार्फत सामाजिक एकता, सहकार्य र सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको आयोजकले जनाएको छ ।
रोमाञ्चक बनेको खेल अन्तिम चरणसम्म अनिश्चित रहँदा दर्शकहरूमा उत्साह थपिएको थियो । अन्तत संयम, अनुभव र निर्णायक क्षणको सदुपयोग गर्दै सहकारी टोलीले जित निकाल्दै वार्षिकोत्सवलाई थप स्मरणीय बनाएको थियो ।




