गढवा गाउँपालिकाका चार उम्मेदवार चुनावी मैदानमा

आलोक भावुक

गढवा,६ फागुन । दाङ क्षेत्र नं. १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी सरगर्मी तीव्र बनेको छ। राजनीतिक रूपमा उर्वरभूमि मानिने देउखुरी क्षेत्रअन्तर्गत पर्ने गढवा गाउँपालिकाका चार प्रमुख उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा थप रोचक बनेको हो।

नेपाली कांग्रेसका योगेन्द्र चौधरी, नेपाल कम्यूनिष्ट पार्टीका मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय बिसी चारै जना गढवा गाउँपालिकाका स्थायी बासिन्दा हुन्।

स्थानीय स्तरमा सबैको प्रभाव रहेको मानिए पनि कसैका लागि पनि जित सहज नरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

यस क्षेत्रमा नेकपा एमालेबाट ६८ वर्षीय रेवतीरमण शर्मा घिमिरे पनि प्रमुख प्रतिस्पर्धीका रूपमा छन्। त्यसैगरी राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्य र नेकपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीसहित कुल १४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

अनुभवी उम्मेदवार मेटमणि चौधरी

नेपाल कम्यूनिष्ट पार्टी का उम्मेदवार मेटमणि चौधरी यसअघि निर्वाचित सांसद हुन्। २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका उनले २६ हजार ५ सय ७६ मत प्राप्त गर्दै एमाले नेतृ शान्ता चौधरीलाई पराजित गरेका थिए। यसअघि पनि दुई पटक निर्वाचन जितिसकेका उनी अनुभवी उम्मेदवारका रूपमा चिनिन्छन्।

यसपटक भने वामपन्थी मत विभाजन हुने सम्भावना देखिएको छ। विप्लव नेतृत्वको समूहका उम्मेदवार तथा कुलप्रसाद केसीको स्वतन्त्र उम्मेदवारीका कारण उनको मत प्रभावित हुन सक्ने आकलन गरिएको छ।

कांग्रेसबाट योगेन्द्र चौधरी पहिलो पटक

नेपाली कांग्रेसले सह–महामन्त्री योगेन्द्र चौधरीलाई पहिलो पटक उम्मेदवार बनाएको छ। थरुहट आन्दोलनदेखि सक्रिय रहेका चौधरी क्षेत्रीय रूपमा प्रभावशाली नेता मानिन्छन्। सरकारी सेवा त्यागेर राजनीतिमा आएका उनले थारु तथा मधेसी समुदायमा राम्रो पकड बनाएको कांग्रेसको दाबी छ।

यसअघि उनले अन्य दलबाट निर्वाचन लडे पनि सफलता हात पार्न सकेका थिएनन्। कांग्रेसले यसपटक उनलाई जिताउन विशेष रणनीति अपनाएको बताइएको छ।

दोस्रो प्रयासमा देवराज पाठक

राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक दोस्रो पटक चुनावी मैदानमा छन्। २०७९ सालको निर्वाचनमा उनले १३ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए। समानुपातिकतर्फ पार्टीले ११ हजारभन्दा बढी मत ल्याएको थियो।

जेन–जी आन्दोलनपछि नयाँ राजनीतिक शक्तिप्रति जनताको आकर्षण बढेको भन्दै पाठक यसपटक जित्ने दाबी गर्छन्। तर पुराना दलहरूका अनुसार मत परिवर्तन ठूलो हुने सम्भावना कम रहेको छ।

युवा उम्मेदवार विनय बिसी

राष्ट्रिय प्रजातन्त्र पार्टीका ३२ वर्षीय विनय बिसी युवा उम्मेदवारका रूपमा मैदानमा छन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय उनी दुई कार्यकाल क्षेत्रीय अध्यक्ष रहिसकेका छन्। गढवामा सामाजिक क्षेत्रमा सक्रिय रहेका बिसी पहिलो पटक प्रतिनिधिसभा चुनाव लड्दै छन्।

राप्रपाका एजेन्डा हिन्दु राष्ट्र पुनर्स्थापना, संवैधानिक राजसंस्था, राष्ट्रियता तथा धर्म संस्कृति संरक्षण लाई आधार बनाएर उनी प्रचारमा जुटेका छन्। जित कठिन देखिए पनि मत प्रतिशत बढ्ने अपेक्षा गरिएको छ।

मतदाता अवस्था

२०७९ सालमा दाङ क्षेत्र नं. १ मा कुल १ लाख ३३ हजार ७३४ मतदाता रहेका थिए, जसमध्ये ७३ हजार १४७ मत सदर भएको थियो। हाल थप ५ हजार २६८ मतदाता वृद्धि भएको निर्वाचन कार्यालयले जनाएको छ।

अघिल्लो निर्वाचनको समानुपातिक मत परिणाम अनुसार एमाले १७ हजार ९६९, कांग्रेस १५ हजार ६७, माओवादी केन्द्र ११ हजार ४५२ र राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार ७९८ मतसहित रहेका थिए।

प्रतिस्पर्धा अनिश्चित

बहुपक्षीय प्रतिस्पर्धा, मत विभाजनको सम्भावना तथा नयाँ राजनीतिक शक्तिको प्रभावका कारण दाङ–१ को चुनावी परिणाम अनिश्चित बनेको विश्लेषण गरिएको छ। स्थानीयस्तरमा प्रभावशाली उम्मेदवारहरूको उपस्थितिले यस क्षेत्रको निर्वाचन निकै रोचक हुने देखिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID