
गढवा, २ फागुन । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. ७ स्थित ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र गढवामा ९० औँ महाशिवरात्रि पर्वको अवसरमा प्रवचन तथा शिव ध्वजारोहण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै राजयोगिनी गीता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राप्तीकी प्रमुख को अध्यक्षता तथा गढवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि आले मगरले भौतिक पूर्वाधार मात्र विकास नभई सभ्य समाज निर्माणका लागि आध्यात्मिक ज्ञान आवश्यक रहेको बताउँदै आत्मचिन्तन, परमात्मासँग सम्बन्ध र सकारात्मक जीवनशैलीले समाजलाई शान्तिमय बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँले ओम शान्ति परिसरमा प्रवेश गर्दा स्वर्गीय आनन्दको अनुभूति हुने वातावरण निर्माणमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा बोल्दै राजयोगिनी गीताले महाशिवरात्रि आत्मजागरणको पर्व भएको उल्लेख गर्दै भन्नुभयो, “शिवरात्रि केवल पूजा गर्ने दिन होइन, आत्मालाई शुद्ध बनाउने र परमात्मासँग सम्बन्ध जोड्ने अवसर हो। आजको अशान्त विश्वलाई शान्ति, प्रेम र सदाचारको आवश्यकता छ, जुन राजयोग ध्यानबाट सम्भव हुन्छ।”
उहाँले मानव जीवनलाई अर्थपूर्ण बनाउन आध्यात्मिक शिक्षा र सकारात्मक सोच अपरिहार्य रहेको बताउँदै सबैलाई नियमित ध्यान अभ्यास गर्न आग्रह गर्नुभयो।
केन्द्रले हरेक वर्ष शिवरात्रिको अवसरमा शान्ति, एकता र समृद्धिको सन्देशसहित प्रवचन तथा ध्वजारोहण कार्यक्रम गर्दै आएको जनाएको छ। यस वर्षको ध्वजारोहण प्रमुख अतिथि आले मगरले गर्नुभएको थियो।
कार्यक्रममा शिवरात्रि पर्वको महत्त्वबारे केन्द्रका सचिव तथा प्रशिक्षक शिवलाल महताराले विस्तृत जानकारी दिनुभएको थियो। साथै एक वर्षसम्म केन्द्रमा नियमित रूपमा सहभागी भई ज्ञान हासिल गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सबैभन्दा बढी ३१९ दिन सहभागी हुने रामकुमारी चौधरी प्रथम, जितराम चौधरी (३१५ दिन), हेमन्त रावत (३०४ दिन) र भोजराज भण्डारी (२९९ दिन) सम्मानित हुनुभयो।
कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, हार्ट फाउन्डेसन दाङका अध्यक्ष मोहनकुमार पाण्डे तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति उमाकान्त पन्तले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी यसोदा भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नवराज देवकोटाले गर्नुभएको थियो।





