
गढवा, १ फागुन ।“समयमै नसर्ने रोगको जाँच गरौं, स्वस्थ र दीर्घ जीवन बाँचौं” भन्ने मूल नारासहित गढवा गाउँपालिकाका पाँच वडामा समुदायस्तरमा नसर्ने रोग (NCD) सम्बन्धी स्क्रिनिङ कार्यक्रम सञ्चालन भैरहेको छ।
३० वर्षभन्दा माथिका सबै व्यक्तिहरूलाई लक्षित गरी प्रमुख नसर्ने रोगहरूको रोकथाम र प्रारम्भिक पहिचान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो। कार्यक्रम गढवा गाउँपालिकाको वडा नं. १, ३, ५, ६ र ८ का विभिन्न स्वास्थ्य चौकीहरूमा सञ्चालन गरिने भएको छ।
स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीका अनुसार वडा नं. १ स्थित गोबरडिया स्वास्थ्य चौकीमा २ हजार ९ सय ७८ जना, वडा नं. ३ को गोबरडिया आधारभूत स्वास्थ्य केन्द्रमा ४ हजार ६ सय ९३ जना, वडा नं. ५ को गंगाप्रस्पुर स्वास्थ्य चौकीमा ५ हजार ७ सय २७ जनाको स्क्रिनिङ कार्य सम्पन्न भैसकेको छ भने वडा नं. ६ को गढवा स्वास्थ्य चौकीमा ५ हजार ९ सय ९६ जना तथा वडा नं. ८ को कोइलाबास स्वास्थ्य चौकीमा ३ सय ५८ जनालाई स्क्रिनिङ गरिने स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो।
समुदायमा नसर्ने रोगको खोजपड्ताल कार्यक्रम अन्तर्गत ३० वर्षमाथिका लक्षित जनसंख्या १९ हजार ७ सय ५२ जना रहेका छन्। तीमध्ये पहिलो चरणमा पाँच वडाबाट करिब ९ हजार जनाको स्क्रिनिङ गरिने गढवा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।
स्क्रिनिङ कार्यक्रमको कार्यतालिका अनुसार फागुन २८ गते गोबरडिया स्वास्थ्य चौकी (जेठान गाउँ), माघ २९ गते गोबरडिया आधारभूत स्वास्थ्य केन्द्र (वडा नं. ३), फागुन १ गते गंगाप्रस्पुर स्वास्थ्य चौकीमा सम्पन्न भैसकेको छ भने फागुन ४ गते गढवा स्वास्थ्य चौकी र फागुन ५ गते कोइलाबास स्वास्थ्य चौकीमा कार्यक्रम सञ्चालन गरिने गढवा गाउँपालिकाकी जनस्वास्थ्य अधिकृत मनिशा गैरेले जानकारी दिनुभयो।
गोबरडिहा स्वास्थ्य चौकीमा ३ सय ५१ जना, गोबरडिहा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ३ सय ८३ र गंगाप्रस्पुर स्वास्थ्य चौकीम ५ सय ६० जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
समुदायमै पुगेर प्रारम्भिक जाँचमार्फत नसर्ने रोगको समयमै पहिचान र नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




