निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

आलोक भावुक

गढवा, १ फागुन। निर्वाचन आयोग नेपाल र नेपाल कानून समाजद्वारा आयोजित “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका” विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भालुबाङमा सम्पन्न भएको छ।

निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री ढकालले आगामी निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण प्रक्रिया भएकाले सबै पक्षले आचारसंहिता पालना गर्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभयो। निर्वाचन सम्बन्धी भ्रम र आशंका फैलाउन नहुने उल्लेख गर्दै उहाँले फागुन २१ मा हुने निर्वाचनका लागि प्रदेश सरकार आवश्यक समन्वय र सहयोगमा तयार रहेको बताउनुभयो।

विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश सरकारका मुख्य सचिव कृष्णप्रसाद काप्रीले प्रदेश सरकार निर्वाचन सञ्चालनका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।

निर्वाचन आयोगका सहसचिव ज्ञानहरी घिमिरेले निर्वाचन आचारसंहिता २०८२ सम्बन्धी प्रस्तुति दिँदै आचारसंहिता किन आवश्यक छ, कसलाई लागू हुन्छ, विभिन्न पदाधिकारी, सरकारी निकाय, सुरक्षाकर्मी, शिक्षक, गैरसरकारी संस्था, राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने आचरण, उल्लंघन भएमा उजुरी प्रक्रिया र कारबाहीका व्यवस्था लगायतका विषयमा विस्तृत जानकारी गराउनुभयो। उहाँले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनका लागि सबै पक्षको जिम्मेवार भूमिका अपरिहार्य रहेको बताउनुभयो।

त्यसैगरी निर्वाचन आयोगका पूर्व अर्थ सचिव शिशिर कुमार ढुंगानाले राजनीतिक वित्त, निर्वाचन खर्चको सीमा, स्रोत परिचालन, प्रचारप्रसारमा अपनाउनुपर्ने आचरण तथा अन्तर्राष्ट्रिय अभ्यासबारे चर्चा गर्दै निर्वाचन खर्चको पारदर्शिता लोकतन्त्र सुदृढीकरणका लागि महत्वपूर्ण रहेको बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूमा सहसचिव घिमिरे र पूर्व सचिव ढुंगानाले जवाफ दिँदै निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा दाङ र प्युठानका निर्वाचन कार्यालयका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, पत्रकार, नागरिक समाज तथा सरोकारवाला निकायको उल्लेख्य सहभागिता रहेको थियो।

नागरिक संवाद केन्द्र लुम्बिनी प्रदेशकी प्रमुख हेमा न्योपानेले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने सञ्चालन गणेश आचार्यले गर्नुभएको थियो।

कार्यक्रमले फागुन २१ मा हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन आचारसंहिता कडाइका साथ पालना गर्दै कुनै भ्रममा नपरी सक्रिय रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन सबै पक्षलाई सन्देश दिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID