गढवामा स्थानीय विपद् व्यवस्थापन विषयक परामर्श कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा ,२९ माग । गढवा गाउँपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति तथा सरोकारवालाहरूबीच विषयगत क्षेत्र अवधारणासम्बन्धी छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले विषयगत क्षेत्र अवधारणा, सूचक तथा आधारहरूका बारेमा बृहत् छलफल गरिएको थियो।

अध्यक्षता गर्दै उपाध्यक्ष चौधरीले विपद् व्यवस्थापनलाई योजनाबद्ध र पूर्वतयारीसहित अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। “विपद् आउनुअघि नै जोखिमको पहिचान, पूर्वतयारी र समन्वय सुदृढ गर्न सके जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ,” उहाँले भन्नुभयो। स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्य र सूचना आदानप्रदानलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका–६ का वडाध्यक्ष वीरबहादुर आले मगरले वडा तहबाटै विपद् जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नुभयो। “वडास्तरमा जोखिम क्षेत्रहरूको पहिचान, तथ्यांक संकलन र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो। स्थानीय समुदायको सक्रिय सहभागिताविना विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत विजय सिंह ठकुरीले सहजीकरण गर्नुभएको थियो। उहाँले स्लाइड प्रस्तुतीकरणमार्फत स्थानीय विपद् व्यवस्थापनका सूचक, आधार, विपद्जन्य घटनाको समीक्षा, जोखिम पहिचान तथा समाधानका उपायहरूबारे विस्तृत जानकारी दिनुभयो। छलफलका आधारमा भावी कार्ययोजना तय गर्न आवश्यक निष्कर्षहरू निकालिएको उहाँले बताउनुभयो।

यसैगरी, सिडिएसका सहजकर्ता गोविन्द सुनारले विषयगत प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रम गढवा गाउँपालिकाको आयोजना तथा समन्वय तथा सुपर परियोजना, युनिसेफ नेपाल र सिडिएमएको सहकार्यमा सम्पन्न भएको जनाइएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID