
गढवा, २९ माघ । दाङ देउखुरीको गढवा गाउँपालिका–६ स्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कूलको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बिहीबार सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कौशलको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपक कुमार यादवले वार्षिक शैक्षिक, भौतिक प्रगति तथा भावी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अतिथि चौधरीले अभिभावकहरूलाई आफ्ना सन्तानलाई सम्पत्तिभन्दा शिक्षा दिन आग्रह गर्नुभयो। किसानले उत्पादन बढाउन खेतबारीमा गोडमेल गरेझैँ बालबालिकालाई असल बनाउन नियमित हेरचाह र उचित संगतमा ध्यान दिनुपर्ने बताउनुभयो। शिक्षा र स्वास्थ्यजस्तै शिक्षक र विद्यार्थीबीच पनि समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा निजी विद्यालयहरू अग्रणी रहेको उल्लेख गर्दै शिक्षक, अभिभावक र विद्यार्थीबीच त्रिकोणात्मक सम्बन्ध सुदृढ भए सरकारी विद्यालयले पनि उत्कृष्ट नतिजा हासिल गर्न सक्ने धारणा राख्नुभयो। बढ्दो वैदेशिक पलायनप्रति चिन्ता व्यक्त गर्दै शिक्षा गुणस्तरीय र व्यवहारिक भए विदेशमा रोजगारी खोज्न जानुपर्ने अवस्था नआउने बताउनुभयो। देशमै बसेर केही गर्न सकिन्छ भन्ने सोचको विकास आवश्यक रहेको उहाँले जोड दिनुभयो।
कार्यक्रममा नेपाल अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद गैरे, नेशनल प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्की, उपाध्यक्ष ठाकुर डाँगी, गढवा खानेपानी महासंघका अध्यक्ष कृष्णराज पाण्डेय, शिक्षाप्रेमी नवराज देवकोटा, तेजप्रसाद न्यौपाने, सिपी नेपालका हेमराज शर्मा, बुद्धज्योति माविका प्रिन्सिपल थानेश्वर न्यौपाने, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाका प्रमुख यशोधा भट्टराई, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, पत्रकार दुखहरण यादव तथा विद्यार्थी प्रतिनिधि योगिता पुन र सन्ध्या थारुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा वर्ष उत्कृष्ट अभिभावकका रूपमा दीपा राना र रामप्रसाद चौधरी तथा उत्कृष्ट शिक्षकका रूपमा वीरबहादुर चौधरीलाई सम्मान गरिएको थियो। वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित गढवा गाउँपालिका स्तरीय अन्तरविद्यालय भलिबल प्रतियोगितामा प्रथम हुने मुनामिलन अङ्ग्रेजी बोर्डिङ स्कूल र द्वितीय हुने सरस्वती मावि गोवरडिहालाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।
यसैगरी, २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू विपिन यादव, टोपाराम बुढाथोकी, युवराज गुप्ता र निशिता चौधरीलाई सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न भेषभूषा झल्किने झाँकी, नृत्य, मार्सल आर्ट तथा तेक्वान्दो प्रदर्शन प्रस्तुत गरिएको थियो। वर्षभरि पठनपाठन तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरू तथा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो।
२०६० सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ८६० विद्यार्थी अध्ययनरत छन् भने ३४ शिक्षकसहित ४८ कर्मचारी कार्यरत छन्। विद्यालयसँग चारवटा बस, वातावरणमैत्री भवन तथा खेलमैदानसमेत रहेको प्रिन्सिपल यादवले जानकारी दिनुभयो। कार्यक्रमको सहजीकरण शिक्षिकाद्वय यति देवी चौधरी र तिला खनालले गर्नुभएको थियो।





