
गढवा, २६ माघ । गढवा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले अपाङ्गता समन्वय समितिको परामर्श कार्यशाला सम्पन्न भएको छ। गढवा गाउँपालिका अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका अध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा बसेको बैठक तथा कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्था, समस्या, चुनौती र अवसरका विषयमा बृहत् छलफल गरिएको हो।
कार्यशालामा समन्वय समितिमार्फत वार्षिक कार्ययोजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल गर्दै आवश्यक निर्णयसमेत गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अधिकारको दृष्टिकोणबाट हेर्नु आवश्यक छ। उनीहरूको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सीप विकास र रोजगारीसँग जोडिने कार्यक्रमहरूलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाउनेछ।”
त्यस्तै, अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले योजना निर्माणमा सरोकारवालाको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
“अपाङ्गता भएका व्यक्तिहरूका वास्तविक समस्या बुझेर आवश्यकतामा आधारित योजना बनाउन आजको परामर्श कार्यशाला उपयोगी भएको छ। समितिले तयार गर्ने वार्षिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैको सहकार्य अपरिहार्य छ।”
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष लेखबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, वरिष्ठ लेखा अधिकृत खिमलाल वली, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख डबल बहादुर बम, महिला तथा बालबालिका शाखाकी प्रमुख प्रेरणा चन्द, शिक्षा शाखा प्रमुख श्याम विश्वकर्मा, स्वास्थ्य शाखाकी जनस्वास्थ्य अधिकृत मनिषा गैरे, सामर्थ्य परियोजनाका प्रतिनिधि मञ्जु थापा तुलाधर, केशवराज भट्ट, योगेन्द्र चापागाईं, बिदुर कुमार थापा लगायत समितिका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको ।




