
गढवा, २५ माघ । गढवा–कोइलाबास सडकखण्ड अन्तर्गत ठुरीचौर नजिक आइतबार साँझ करिब ८:३० बजे अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
भारतबाट नेपाल फर्किँदै गरेका गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुट्टी निवासी करिब ४५ वर्षीय रामबहादुर यादव, उनकी श्रीमती ३८ वर्षीया रमावती यादव तथा अटो चालक गढवा गाउँपालिका वडा नम्बर ७ मकनहवा निवासी करिब ५२ वर्षीय रविलाल चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
दुर्घटनामा अटोमा सवार गढवा गाउँपालिका वडा नम्बर ७ मकनहवा निवासी १४ वर्षीय सन्जित चौधरी र १३ वर्षीय आर्जन चौधरी भने सकुशल रहेका छन्।
घाइतेहरूमध्ये रमावती यादव र अटो चालक रविलाल चौधरीको टाउकोमा चोट लागेको छ भने रामबहादुर यादवको मुख र छातीमा चोट लागेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभयो।
जानकारी पाउनासाथ प्रहरी निरीक्षक डबल बहादुर बमले नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी घटनावारे जानकारी लिएको छ।
घाइतेहरूको गढवा स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङमा रिफर गरिएको छ।




