
गढवा, २४ माघ । गढवा गाउँपालिका वडा नम्बर २ स्थित पचहियामा दूध सङ्कलन तथा बिक्री उपकेन्द्रको उद्घाटन गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उपकेन्द्रको उद्घाटन गर्नुभएको हो।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष शोभा राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो भने वडा नम्बर २ का अध्यक्ष भक्तु चौधरीको विशिष्ट अतिथिमा उपकेन्द्रको उद्घाटन भएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भैंसी पालक किसानले उत्पादन गरेको दूधको सहज बजारीकरणको लागि गढवा बजारमा मुख्य दूध संकलन तथा बिक्री केन्द्र स्थापना गरी थप दुई ठाउँमा उपकेन्द्रको स्थापना गरी किसानलाई सहज बनाएको बताउनु भयो। दूध उत्पादनमा आधारित किसानको आम्दानी वृद्धि गर्न गाउँपालिका निरन्तर लागिपरेको बताउनुभयो। किसानले दूधको उचित मूल्य नपाउँदा सम्म व्यवसायिक रुपमा भैंसी पालक गर्न उत्प्रेरित नहुने उहाँको भनाइ थियो। “किसानले उत्पादन गरेको दूध सहज रूपमा बिक्री गर्न पाउने वातावरण सिर्जना गर्नु नै पालिकाको लक्ष्य हो। उपकेन्द्र सञ्चालनसँगै किसानले उचित मूल्य पाउनेछन् भने व्यवसायीक रुपमा कृषि तथा पशु पालनमा लग्ने छन् जसबाट स्थानीय अर्थतन्त्र थप सबल बन्छ।”
गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाद्वारा प्रवर्धित श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत सरकारी दररेटमा दूध खरिद कार्यको शुभारम्भ गरिएको हो। हाल गढवा बजारमा रहेको मुख्य केन्द्रमा दैनिक करिब १ हजार लिटर दूध सङ्कलन हुँदै आएको छ। वडा नम्बर ४ र ५ लाई केन्द्रबिन्दु मानेर अजगढवामा उपकेन्द्र स्थापना गरिएको हो भने वडा नम्बर १, २ र ३ लाई समेट्ने गरी गढवा -२ पचहियामा अर्को उपकेन्द्र स्थापना गरिएको छ।
भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले सहकारीमार्फत दूध सङ्कलन र बजार व्यवस्थापनलाई व्यवस्थित बनाइँदै लगिएको बताउनुभयो। उहाँले भन्नुभयो, “दूध उपकेन्द्र विस्तारले किसानको पहुँच नजिकै सेवा पुर्याउनेछ। यसले उत्पादन बढाउने मात्र नभई महिलाको आर्थिक सशक्तीकरणमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ।”
कार्यक्रममा गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाका सञ्चालका व्यवस्थापक रम्भुनाथ चौधरी, भिटा परियोजनाका सामुदायिक सहजकर्ता माया चौधरी, स्थानीय किसान तथा सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण भिटा परियोजना कार्यक्रमका सामुदायिक सहजकर्ता कैलाश चौधरीले गर्नुभएको थियो।





