
गढवा, १२ माघ । दक्षिण देउखुरीको गढवा गाउँपालिकामा मेरिना नेचुरल एण्ड फिजियोथेरापी भवनको सोमबार शिलान्यास गरिएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले भवनको शिलान्यास गर्नु भएको हो।
थारु गायिका बसन्ती चौधरी तथा सहयोगी दाताहरूको समन्वय र सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ७ मा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास कार्यक्रम मेरिना नेचुरल एण्ड फिजियोथेरापी सेन्टरकी सञ्चालिका एवं गायिका बसन्ती चौधरीको अध्यक्षता तथा उपाध्यक्ष चौधरीको प्रमुख आतिथ्यता तथा भारतको बिहार राज्यबाट आउनुभएका विजय कुमार र अनिता कुमारी विशिष्ट आथित्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष अतिथि शारदा चौधरीले मेरिना नेचुरल एण्ड फिजियोथेरापी सेन्टरबाट सेवा लिएपछि आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको अनुभव सुनाउँदै नेचुरल तथा फिजियोथेरापी सेवाप्रति नागरिकहरू सचेत भई आकर्षित हुनुपर्ने बताउनु भयो। अंग्रेजी औषधि भन्दा प्राकृतिक उपचार पद्धति प्रभावकारी रहेको भन्दै सेवाको गुणस्तरबारे सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न आग्रह समेत गर्नु भयो।
शुभकामना मन्तव्य व्यक्त गर्दै समाजसेवी तथा शिक्षा प्रेमी नवराज देवकोटाले विगत तीन वर्षदेखि गढवा बजारमा सेवा दिँदै आएको उक्त सेन्टरमा दाङ, बुटवल तथा भारतसम्मका सेवाग्राही उपचारका लागि आउने गरेको र उपचारपछि आफैं हिँडेर घर फर्किएका उदाहरण आफूले प्रत्यक्ष देखेको उल्लेख गर्नु भयो। आगामी दिनमा यसलाई गढवा मात्र नभई दाङ र नेपालकै उत्कृष्ट फिजियोथेरापी सेन्टरका रूपमा विकास गर्न शुभकामना व्यक्त गर्नु भयो।
हालसम्म सेन्टरमार्फत १ हजार भन्दा बढी बिरामीहरू सफल उपचार गरिसकिएको जसमध्ये छिमेकी भारत राष्ट्रबाट मात्रै १ सय भन्दा बढी सेवाग्राही उपचारका लागि गढवा पुगेको सञ्चालिका बसन्ती चौधरीले जानकारी दिनुभयो। हाल मेरिना नेचुरल एण्ड फिजियोथेरापी सेन्टर गढवामा ६ जना कर्मचारीहरू सहित सेवा दिई रहेको सञ्चालिका चौधरीले जानकारी दिनुभयो।
गढवा गाउँपालिका वडा नम्बर ७ गढवा पेट्रोल पम्प देखी उत्तर तर्फ शिलन्यास गरिएको कार्यक्रम गढवा समाजसेवी बुद्धिजीवी शिक्षा प्रेमी नवराज देवकोटा, मोहन राना, पत्रकार शिवराज पन्थी, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, फिजियोथेरापी सेन्टर गढवाका कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
गिता चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण माध्यमिक विद्यालय बनगाउंका शिक्षक देवराज चौधरीले गर्नु भएको थियो।









