
गढवा,११ माघ। जनता माध्यमिक विद्यालय कालाकाटेले गढवा गाउँपालिका स्तरीय १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ।
२०८२ माघ ६ देखि ८ गतेसम्म सरस्वती माध्यमिक विद्यालय, विद्यानगर गोबरडिहामा सम्पन्न १६ औँ राष्ट्रपति रनिङशिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरूलाई आईतबार एक कार्यक्रमबीच सम्मान गरिएको छ।
सम्मान कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरू तथा उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक बासुदेव बेल्बासेले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारी, विव्यस अध्यक्ष चित्रबहादुर महतारा, शिअसंघ अध्यक्ष दिपेन्द्र बुढा, प्रधानाध्यापक वासुदेव वेल्वासे तथा पूर्व सल्लाहकारहरू पदम गिरी, सागर मरासिनी र राजकुमार घर्ती मगरले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरूलाई नगद सहित जर्सी प्रदान गरिएको थियो। १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनता माध्यमिक विद्यालयले स्वर्ण पदक ५, रजत पदक ११ र कास्य पदक २६ प्राप्त गरेको छ भने २ जना खेलाडी उत्कृष्ट खेलाडी घोषित भएका थिए।
कार्यक्रममा वक्ताहरूले खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।





