गढवाको भ्याली पब्लिक स्कुलमा अक्षरारम्भ तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,९ माघ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मा अवस्थित भ्याली पब्लिक अङ्ग्रेजी स्कुल, गढवाले बसन्त पञ्चमी (सरस्वती पूजा) को अवसर पारेर अक्षरारम्भ कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले बालबालिकालाई औपचारिक शिक्षामा प्रवेश गराउने उद्देश्यले अक्षरारम्भ कार्यक्रम आयोजना गर्नुका साथै विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै दन्त परीक्षण कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमबारे जानकारी दिँदै विद्यालयकी प्रिन्सिपल प्रतिमा केकेले भन्नुभयो, “बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षा र स्वास्थ्य दुवै अत्यन्तै महत्वपूर्ण पक्ष हुन्। अक्षरारम्भ कार्यक्रममार्फत साना नानीहरूलाई शिक्षाको उज्यालो यात्रामा पहिलो पाइला चाल्न प्रेरित गर्नु हाम्रो लक्ष्य हो। त्यस्तै, विद्यार्थीहरू स्वस्थ भए मात्र उनीहरूको सिकाइ प्रभावकारी हुन्छ भन्ने मान्यताका साथ विद्यालयले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राख्दै आएको छ। अभिभावकको विश्वास र सहकार्यका कारण यस्ता कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्न सकिएको हो।”

विद्यालयका अनुसार कार्यक्रममा करिब १५० जना अभिभावकको सहभागिता रहेको थियो भने विद्यालयमा अध्ययनरत ४ सय ९५ जना विद्यार्थीको दन्त परीक्षण गरिएको छ।

विद्यालय सधैं शिक्षा र स्वास्थ्यलाई सँगसँगै अघि बढाउने प्रतिवद्धतामा रहेको प्रिन्सिपल केकेले बताउनुभयो।

कार्यक्रमप्रति प्रतिक्रिया दिँदै अभिभावकहरूले विद्यालयले बालबालिकाको पढाइसँगै स्वास्थ्यमा समेत ध्यान दिएको देख्दा खुशी लागेको बताएका छन्। यस्ता कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ। विद्यालयले यसअघि समेत निःशुल्क आँखा शिविर सञ्चालन गरिसकेको जनाएको छ।

भ्याली पब्लिक अङ्ग्रेजी स्कुलको आयोजनामा तथा मनकामना डेन्टल हस्पिटल, तुल्सीपुर दाङको प्राविधिक सहयोगमा दन्त चेकजाँच कार्यक्रम सम्पन्न गरिएको हो।

दन्त शिविरमा डेन्टल सर्जन पुर्णिमा महर्जन, डेन्टल हाइजिनिस्ट कमला केसीलगायतको टोलीले बालबालिकाको दाँत परीक्षण गरेको थियो।

डेन्टल सर्जन पुर्णिमा महर्जनका अनुसार शिविरमार्फत दाँतसम्बन्धी समस्या देखिएका बालबालिकालाई उपचारमा १५ प्रतिशत सहुलियत प्रदान गरिनेछ।

उहाँले बाल्यकालमै दन्त स्वास्थ्यप्रति सचेतना बढाउनु दीर्घकालीन स्वास्थ्यका लागि महत्वपूर्ण हुने बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID