
दाङ – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङका ३ निर्वाचन क्षेत्रमा ६२ जनाको उम्मेदवारी परेको छ। दाङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार १९ स्वतन्त्रसहित ६२ जनाको उम्मेदवारी परेको हो।
दाङ निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १४ जना, निर्वाचन क्षेत्र नं. २ मा ८ स्वतन्त्रसहित २३ जना र निर्वाचन क्षेत्र नं. ३ मा ९ स्वतन्त्रसहित २५ जनाको मनोनयन दर्ता भएको छ।
जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोख्रेलको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसका किरण किशोर घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य र नेकपाका निर्मल आचार्यको उम्मेदवारी परेको छ।
त्यसैगरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट पूर्वमन्त्री दिपक गिरी, नेकपा एमालेका घनश्याम पाण्डे, नेकपाका धनबहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीको उम्मेदवारी परेको छ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेका रेवतीरमण शर्मा, नेकपातर्फबाट पूर्वमन्त्री मेटमणी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रासद केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।




