
गढवा,५ माघ । नेपालको ग्रामीण अर्थतन्त्रमा दुग्ध उत्पादन र कृषि व्यवसायको भूमिका अत्यन्त महत्वपूर्ण छ। यी क्षेत्रहरू ग्रामीण जनताको आय, रोजगारी र आत्मनिर्भरता बढाउने मूल आधार हुन्। गढवा गाउँपालिका पछिल्ला वर्षहरूमा दुग्ध उत्पादन र कृषि व्यवसायलाई व्यवस्थित, व्यवसायिक र दिगो बनाउने दिशा तर्फ स्पष्ट कदम चालेको छ। यसको परिणाम स्वरूप गाउँपालिका दुग्ध उत्पादनको सम्भावित हब बन्ने दिशामा अगाडि बढिरहेको छ।
गढवा गाउपालिकाले हेफर प्राेजेक्ट नेपाल संगकाे साझेदारी मा संचालन गरेकाे गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना (VITA Project )मार्फत हाल ५ सय घरधुरीभन्दा बढी भैंसी पालक किसानलाई समूहमा आबद्ध गरिएको छ। यसले परम्परागत पशुपालनलाई व्यवस्थित र सहकार्यमा आधारित बनाएको छ। किसानहरू अब व्यक्तिगत स्तरमा मात्र नभएर समूहमा मिलेर उत्पादन, व्यवस्थापन र बिक्रीको काम गर्दै छन्।
दुग्ध उत्पादन वृद्धि र गुणस्तर सुधारका लागि परियोजनाले ५ वटा बीउ राँगा वितरण गरी नस्ल सुधार, १ सय ८० वटा भैंसीका भकारो निर्माण, २० वटा च्याफकटर र ५ वटा दाना बनाउने मेसिन किसानलाई उपलब्ध गराएको छ। यसले घाँस र दाना उत्पादनलाई सहज बनाएको छ र भैंसी पालनलाई वैज्ञानिक बनाउने वातावरण तयार गरेको छ। साथै परियोजनाले उन्नत जातको घाँस खेती प्रवर्द्धन गरी दूध उत्पादनमा सुधार ल्याएको छ।
पशुपालनसँग सम्बन्धित अन्य पहलहरू पनि गरिएको छ। किसानलाई पशु बिमा, गोठको सरसफाई, गोबरबाट मल बनाउने र त्यस मलको प्रयोग गरेर तरकारी खेती गर्ने प्रवर्द्धन गरिएको छ। यसले उत्पादन लागत घटाउने, घरायसी खाद्य सुरक्षा बढाउने र कृषि विविधीकरणलाई बलियो बनाउने काम गरेको छ। यसरी दूध, तरकारी र मल व्यवस्थापनलाई एकसाथ समन्वय गर्दा किसानले उत्पादनमा गुणस्तरीय वृद्धि र आयको स्थायित्व अनुभव गर्न थालेका छन्।
दूधको बिक्री र बजारीकरण पनि व्यवस्थित गरिएको छ। परियोजनाको पहलमा श्री गढवा सामाजिक उद्यमी सहकारी मार्फत लुम्बिनी विशिष्टिकृत सहकारी संघसँग सम्झौता गरी दूधको नियमित बिक्री सुनिश्चित भएको छ। यसले किसानलाई “उत्पादन भयो तर बिक्री भएन” भन्ने चिन्ताबाट मुक्त गराएको छ र दुग्ध व्यवसायलाई भरोसायोग्य बनाएको छ।
हाल गढवामा ४ हजार लिटर प्रतिदिन क्षमता भएको दुग्ध संकलन केन्द्र स्थापना भइसकेको छ। तीन वडाबाट बिहान–साँझ गरी दैनिक ८ सय लिटर दूध संकलन भइरहेको छ भने बाँकी वडामा पनि छिट्टै संकलन सुरु हुने योजना रहेको छ। गढवाको सम्भावित उत्पादन प्रतिदिन २ हजार ५ सय लिटर रहेको छ, र योजनाबद्ध रूपमा हालको संकलनलाई दैनिक ५ हजार लिटरसम्म पुर्याउने लक्ष्य तय गरिएको छ।
हालसम्म १ लाख २१ हजार लिटरभन्दा बढी दूधको सफल बजारीकरण भइसकेको छ र किसानले सरकारी दररेटअनुसार मासिक भुक्तानी पाइरहेका छन्। विशेष गरी यादव समुदायको अग्रसरता ले दुग्ध व्यवसायलाई समावेशी आर्थिक विकासको उदाहरण बनाएको छ। साथै सहकारीमार्फत किसानलाई सस्तो मूल्यमा दाना उपलब्ध गराइएर उत्पादन लागत घटाउनुले नाफा बढाएको छ।
गढवामा दुग्ध उत्पादनसँगै तरकारी खेती, गोबर मलको प्रयोग र कृषि–पशुपालन समन्वय मार्फत किसानलाई व्यवस्थित व्यवसायिक बनाउने काम भैरहेको छ। महिला र युवाहरू यस प्रणालीमा सक्रिय सहभागी भएका छन्, जसले स्थानीय रोजगारी र आयको अवसर बढाएको छ। यसले वैदेशिक रोजगारतर्फको दबाब घटाउन र गाउँपालिकाको आर्थिक गतिविधि सशक्त बनाउन मद्दत गरेकाे छ ।
किसान समूह, परियोजनाको प्राविधिक सहयोग, सुनिश्चित बजारीकरण, गोठ व्यवस्थापन सुधार, घाँस खेती र मल–तरकारी खेतीको संयोजनले गढवा गाउँपालिकालाई दुग्ध उत्पादन र कृषि व्यवसायको उदीयमान हब बनाउने आधार तयार पारेको छ। योजनाबद्ध विस्तार, प्राविधिक सहयोग र बजार व्यवस्थापनलाई सुदृढ बनाएमा गढवा गाउँपालिका दुग्ध उत्पादनमार्फत स्थानीय समृद्धि र दिगो विकासको नमुना बन्न पूर्ण रूपमा सक्षम छ।
वसन्त कुमार शर्मा
भिटा परियोजना कार्यक्रम संयोजक
गढवा गाउँपालिका




