
काठमाडौँ, पुस – २३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सरकारको पछिल्लो गतिविधिलाई जनविरोधी, दमनकारी र अलोकतान्त्रिक भन्दै कडा विरोध जनाएको छ।
पार्टीले केन्द्रिय समितिको तर्फबाट जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय सरकारको कार्यशैली जनताको अधिकार कुण्ठित गर्ने, लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध जाने र जनआन्दोलनलाई कमजोर बनाउने खालको भएको आरोप लगाएको छ।
विज्ञप्तिमा सरकार जनताको आवाज दबाउने, विरोध र असहमतिको अधिकार खोस्ने दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै यसप्रति गम्भीर आपत्ति जनाइएको छ।
माओवादीले यस्ता गतिविधिहरूले देशलाई थप अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने खतरा रहेको चेतावनी पनि दिएको छ।
पार्टीले जनताको हक, अधिकार र लोकतन्त्रको रक्षा गर्न देशव्यापी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको जनाएको छ। साथै, सरकारलाई आफ्नो गलत नीति सच्याएर जनमुखी बाटो समाउन आग्रह पनि गरिएको छ।
पार्टीका महासचिव गाैरवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यदि सरकार यस्तै दमनकारी र जनविरोधी बाटोमै अघि बढिरह्यो भने त्यसविरुद्ध सशक्त जनसंघर्षमा उत्रिन पार्टी बाध्य हुनेछ।”




