
गढवा,२४ पुष। परम्परागत रूपमा रहेको लोक संस्कृतिको जगेर्ना गर्दै स्थानीयलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यका साथ गढवा गाउँपालिका वडा नम्बर १ मलमला देउखुरी दाङमा २५ दिने पञ्चेबाजा तालिम सुरु भएको छ।
गढवा गाउँपालिका वडा नम्बर १ को आयोजनामा तथा गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा–६ को प्राविधिक सहयोगमा तालिमको सुरु गरिएको हो। तालिम माघ १५ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले पञ्चेबाजा नेपाली समाजको मौलिक पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता भएको बताउनुभयो । “लोक संस्कृतिको संरक्षणसँगै सीप विकास गरेर युवालाई रोजगारीसँग जोड्नु हाम्रो मुख्य उद्देश्य हो। यस्ता तालिमले परम्परागत कला हराउँदै जाने अवस्थालाई रोक्न मद्दत गर्नेछ।” वडाध्यक्ष अधिकारीले बताउनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लोक संस्कृतिको संरक्षण बिना समाजको पहिचान अधुरो रहने बताउनुभयो। पञ्चेबाजा केवल सांगीतिक विधा मात्र होइन, हाम्रो संस्कृति र संस्कारसँग जोडिएको अमूल्य सम्पदा हो। यसलाई सीप र रोजगारीसँग जोडेर अगाडि बढाउनु गाउँपालिकाको प्राथमिकता हो।” उपाध्यक्ष चौधरीले बताउनुभयो।
कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले यस्ता सीपमूलक तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाका अध्यक्ष दयाराम थापा,तालिममा सहभागी महीला पुरुष लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण वडा नम्बर १ का सचिव मधुसूदन पौडेलले गर्नुभएको थियो।




