अत्याधिक चिसोका कारण गढवाका विद्यालय तीन दिनका लागि बन्द

आलोक भावुक

गढवा, १५पुष । पछिल्लो केही दिनयता बढ्दो चिसो र कठ्याङ्ग्रिने जाडोका कारण गढवा गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू तीन दिनका लागि बन्द गरिएका छन्।

गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको निर्देशनअनुसार मिति २०८२ साल पुष १६ गतेदेखि १८ गते शुक्रबारसम्म विद्यालयहरूमा पठन–पाठन स्थगित रहने जानकारी गराइएको गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले जानकारी दिनुभयो।

निर्देशनअनुसार पुष १६ गते बुधवार देखि १८ गते शुक्रवारसम्म विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सबै तहका विद्यालय बन्द रहने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।

स्थानीय क्षेत्रमा अत्याधिक चिसो बढेसँगै विद्यार्थीहरू जोखिममा पर्ने अवस्था देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

यस अवधिमा विद्यालय प्रशासनलाई आवश्यक तयारी तथा तापक्रम सुधार भएसँगै पठन–पाठन सहज बनाउन पूर्वतयारी राख्न अनुरोध गरिएको छ। जाडो बढेकै कारण दैनिक जनजीवनमा समेत असर परेको देखिएको छ।

मौसम सुधार भए विद्यालयहरू आगामी आइतवारदेखि नियमित सञ्चालन हुने अपेक्षा गरिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID