
गढवा,९ पुष । आन्तरिक राजश्व कार्यालय तुलसिपुरको आयोजना तथा गढवा उद्योग वाणिज्य संघको समन्वय–सहकार्यमा गढवा तथा राजपुर क्षेत्रका उद्योगी–व्यवसायीहरूका लागि आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र आर्थिक ऐन–२०८२ अन्तर्गतका कर छुट सम्बन्धी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गढवामा सम्पन्न भएको छ।
आन्तरिक राजश्व कार्यालय तुलसिपुरका कर प्रमुख श्रीधर टण्डनको अध्यक्षता तथा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष बसेलले आर्थिक ऐन–२०८२ ले उद्योगी–व्यवसायीलाई दिएको कर छुट सुविधाको अधिकतम लाभ लिन सबैलाई आग्रह गर्नुभयो। गढवा र राजपुर गाउँपालिकाका नन–फाइलर करदाताको सम्पूर्ण विवरण गढवा उद्योग वाणिज्य संघमा प्राप्त भएकाले संघमा सम्पर्क गरी छुट सुविधा लिन अध्यक्ष बसेलले अनुरोध गर्नुभयो।
“हामी प्रत्येक वडाध्यक्षसँग समन्वय गरी वडा–वडामा जानकारी पठाउनेछौँ। यो अवसर हो, सबैले सदुपयोग गर्नुस्,” अध्यक्ष बसेलले भन्नुभयो। धेरै व्यवसायी सम्पर्क बाहिर रहेकाले उनीहरूका घर–घरमै सूचना प्रवाह गरी छुटबारे जानकारी गराइने पनि उहाँले बताउनुभयो।
कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय तुलसिपुरका कर प्रमुख श्रीधर टण्डनले आर्थिक ऐन–२०८२ अन्तर्गतको छुट सुविधामा सहभागी हुन सबै नन–फाइलर व्यवसायीलाई आग्रह गर्नुभयो। उदाहरण दिँदै उहाँले २६ लाख रुपैयाँ कर तिर्नुपर्ने करदाताले छुट सुविधा अन्तर्गत करिब १० लाख रुपैयाँ बुझाएर कर दायित्व व्यवस्थापन गर्न सक्ने बताउनुभयो।
“यो अवसर हो, सदुपयोग गर्नुस्। कुनै गुनासो वा सहजिकरण आवश्यक परेमा उद्योग वाणिज्य संघ वा आन्तरिक राजश्व कार्यालय दाङसँग समन्वय गर्न सक्नुहुन्छ,” टण्डनले भन्नुभयो।
उहाँले छुट सुविधा पौष मसान्तसम्म मात्र उपलब्ध रहने जानकारी गराउँदै उद्योग वाणिज्य संघलाई व्यवसायीहरूसँग समन्वय गरी प्रचार–प्रसारलाई अझ व्यापक बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले कर प्रणाली र व्यवसाय सञ्चालनसँग सम्बन्धित जिज्ञासा तथा धारणा राखेका थिए। सो अवसरमा कर अधिकृतहरूले जिज्ञासाको जवाफसहित स्पष्टिकरण प्रस्तुत गरेका थिए।
कर अधिकृत उपेन्द्र पुनले सहजीकरण गरेको कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर बुढा, पूर्व अध्यक्ष रबिलाल आचार्य, गढवा गाउँपालिका राजश्व शाखा प्रमुख कुलराज कुमाल, जनप्रतिनिधि दिनामणि आचार्य, होटल व्यवसायी संघका अध्यक्ष रामबहादुर थापा, पत्रकार शिवराज पन्थी लगायत उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आर्थिक ऐन–२०८२ ले प्रदान गरेका कर छुट सुविधालाई विशेष प्राथमिकतामा राखी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।




