
गढवा,२ पुस। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मा अवस्थित भ्याली पब्लिक इङ्लिस स्कुलले आफ्ना विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै दुर्घटना बीमा गराएको छ।
विद्यालयले सिद्धार्थ इन्स्योरेन्स कम्पनीमार्फत विद्यालयमा अध्ययनरत २ सय ६५ जना विद्यार्थीहरूको प्रत्येक व्यक्ति एक लाख रुपैयाँका दरले दुर्घटना बीमा गराईएको छ। छुटेका थप विद्यार्थीहरुको स्वास्थ्य विमा दोस्रो चरणमा गर्ने तयारी रहेको विद्यालयले जनाएको छ। अभिभावक र विद्यालयको संयुक्त लगानीमा विद्यार्थीहरुको विमा गरिएको प्रिन्सिपल केसीले बताउनुभयो।
विद्यार्थीहरूको दैनिक आवतजावत तथा विद्यालय गतिविधिका क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट हुने जोखिम न्यूनीकरण गर्न बीमा कार्यक्रम अघि बढाइएको विद्यालयका प्रिन्सिपल प्रतिमा केसीले जानकारी दिनु भयो । यसले अभिभावक तथा विद्यार्थी दुवैलाई थप ढुक्क बनाएको बताईएको छ।
बिक्रम सम्बत् २०७६ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा ६ सम्म पठन पाठन भैरहेको छ।
विद्यालयको यस पहललाई अभिभावक तथा स्थानीयवासीले सकारात्मक रूपमा स्वागत गरेका छन्। विद्यार्थीको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै गरिएको यो कार्य अन्य विद्यालयका लागि पनि उदाहरणीय र प्रेरणादायी हुने अपेक्षा गरिएको छ।





