मुस्लिम समुदाय लक्षित खुसहाल परिवार कार्यक्रम अन्तर्गत अभिमुखीकरण सम्पन्न

आलोक भावुक

गढवा, २ पुष । मुस्लिम तथा अल्पसंख्यक समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले खुसहाल परिवार कार्यक्रम अन्तर्गत गढवामा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय दाङको आयोजनामा र गढवा गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले स्वास्थ्य सेवामा मुस्लिम समुदायको पहुँच सुनिश्चित हुन आवश्यक रहेको बताउनुभयो। उहाँले परिवारमा खुसीयाली तब मात्र सम्भव हुने बताउँदै भन्नुभयो, “परिवारका सबै सदस्य स्वस्थ भए मात्र घरमा साँचो अर्थमा खुसी आउँछ, त्यसका लागि बालबच्चाको योजना देखी सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण तथा औषधि उपचारसम्म सबै सेवा स्वास्थ्य संस्थामै गएर लिनुपर्छ।”

उहाँले बिना तयारी तथा बिना चेकजाँच गर्भधारण गर्दा आमा र नवजात शिशुको ज्यान जोखिममा पर्ने सम्भावना रहने उल्लेख गर्दै सुरक्षित मातृत्व र परिवार नियोजन सेवामा जोड दिनुभयो।

खुसहाल परिवार स्वस्थ अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक मनिराम पाण्डेयले परिवार नियोजन, सुरक्षित गर्भावस्था तथा सुत्केरी सेवाका विषयमा सहजीकरण गर्दै भन्नुभयो, “समयमै स्वास्थ्य संस्थामा गएर जाँच गराउने, सन्तुलित आहार खाने र आवश्यक खोप लगाउने हो भने आमाबाबु र बालबालिका दुवै सुरक्षित रहन्छन्। स्वास्थ्य सेवा लिनु कुनै कमजोरी होइन, यो जिम्मेवारी हो।”

त्यसैगरी अर्का प्रशिक्षक नियाज अहमदले मुस्लिम समुदायमा स्वास्थ्यसम्बन्धी भ्रम हटाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले भन्नुभयो, “धर्म र संस्कृतिले स्वास्थ्य सेवा लिन रोक्दैन, बरु स्वस्थ रहन प्रेरित गर्छ। समुदायभित्रैबाट सचेतना बढेमा मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न सकिन्छ।”

कार्यक्रममा किड्स (KIDS) कार्यसमिति महासचिव राम बिजोग चौधरी, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी, गढवा स्वास्थ्य चौकी प्रमुख सुर्य नारायण यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गढवा गाउँपालिकाका ५० भन्दा बढी मुस्लिम समुदायका महिला तथा पुरुषको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरीक्षक रिता न्योपानेले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID