गढवामा बाढी प्रभावितका लागि १५० क्षमताको सेल्टर हाउस निर्माण हुने

आलोक भावुक

गढवा, २९ मंसिर। एडिबी अन्तर्गत प्राथमिकता प्राप्त नदी वेसिन क्षेत्रअन्तर्गत बाढी तथा डुबानको उच्च जोखिममा रहेका नागरिकलाई विपद्का समयमा सुरक्षित राख्ने उद्देश्यले गढवा गाउँपालिका वडा नम्बर ५ मा सेल्टर हाउस निर्माण गरिने भएको छ।

वडा नम्बर ५ स्थित मगहर शिव मन्दिर नजिकको सार्वजनिक जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त सेल्टर हाउसमा अधिकतम १५० जनासम्मलाई सुरक्षित रूपमा राख्न मिल्ने व्यवस्था गरिनेछ। अपाङ्गमैत्री, बालमैत्री तथा जेष्ठ नागरिकमैत्री संरचनाको अवधारणामा निर्माण हुने यस भवनले विपद्का समयमा मानवीय क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सेल्टर हाउस निर्माणको विषयमा जनप्रतिनिधि, स्थानीय अगुवा, सम्बद्ध कार्यालयका प्रतिनिधि तथा आयोजना प्रमुखको उपस्थितिमा विस्तृत छलफल सम्पन्न भएको छ। छलफलमा विपद् जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि स्थायी संरचनाको आवश्यकता औँल्याइएको थियो।

आयोजनाका अनुसार निर्माण प्रक्रियासम्बन्धी नीतिगत कार्यहरू अघि बढिसकेको जनाउँदै आउँदो वर्षायामसम्म निर्माण कार्य सम्पन्न हुने गरी चाँडै नै काम सुरु गरिने तयारी भइरहेको गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो। स्थानीय तह र सरोकारवालाहरूको सहकार्यमा निर्माण हुने यस सेल्टर हाउसले गढवा क्षेत्रका बाढी प्रभावित समुदायका लागि दीर्घकालीन राहत प्रदान गर्ने विश्वास गरिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID